बीपी कोइराला स्मृति कप टी-२०: भारतको लाइफ केयर र बंगलादेशको साइक्यु विजयी – Nepal Press

बीपी कोइराला स्मृति कप टी-२०: भारतको लाइफ केयर र बंगलादेशको साइक्यु विजयी

रुपन्देही । रुपन्देहीको भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी-२० अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र बंगलादेशको साइक्यु क्रिकेट एकेडेमी विजयी भएका छन् ।

आइतबारको खेलमा नेक्सस रुपन्देही- ११ नेपाललाई ७ विकेटले पराजित गर्दै लाइफ केयर भारतले लगातार दोस्रो जित निकालेको हो । साइक्युले भने पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गरेको हो । प्रतियोगितामा साइक्युले विजयी सुरुवात गर्दा पाकिस्तान भने लगातार दुई खेलमा पराजित हुन पुगेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेक्ससले ७ विकेट गुमाएर १३३ रनको मध्यम योगफल बनायो । नेक्ससका लागि आकाश त्रिपाठीले ४८, सुमित महर्जन र वसिर अहम्मदले समान २८-२८ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा भारतको लाइफ केयरका योगेश कुमारले ३ तथा शुभम लाम्रा, हिमांसु र विपुल कम्बोजले समान १-१ विकेट लिए ।

१३४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतको लाइफ केयरले १६ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा १३७ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा दीपक पुनियाले अर्धशतकीय पारी खेल्दै ४३ बलमा ३ छक्का र ५ चौकाको मद्दतमा ६० रन जोडे । यस्तै राजेश शर्माले नटआउट ३७ र विपुल कम्बोजले ३२ रनको योगदान दिए ।

बलिङमा नेक्सस नेपालका साहब आलमले २ तथा वसिर अहम्मदले १ विकेट लिए । खेलमा भारतको लाइफ केयरका दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको साइक्युले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १४७ रनको लक्ष्य प्रस्तुत गर्‍यो । उसका लागि मुल्लरले ४६, मुनिम सानरिअरले २७, सौरभले अविजित २५, रानाले १७ र फैसालले १४ रन बनाए ।

बलिङमा जावेद गोहारका रिशभ जोशीले ३, इमरान नाजिर र अब्बास अलीले २-२ तथा अहाब अली र सामोहले समान १-१ विकेट लिए ।

पाकिस्तानको जावेद गोहार जवाफी ब्याटिङमा १८ ओभर २ बलमा अलआउट हुँदै १०५ रनमै समेटियो । उसका लागि अली हुसेनले ३४, जिम खानले १९, सामोहले १८ र रिशभ जोशीले १० रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्‍यो ।

बलिङमा बंगलादेशको साइक्युका सोमराटले ३, राकिव र मुल्लारले २-२ तथा एकस, शाहबाज र शाकिवले समान १–१ विकेट हात पारे । साइक्युका मुल्लर म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ पाए ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर