निमोनिया भएकी आमालाई गलत औषधि लेखेकाे भन्दै वडाध्यक्षका भाइले गरे मेसुमाथि कुटपिट – Nepal Press

निमोनिया भएकी आमालाई गलत औषधि लेखेकाे भन्दै वडाध्यक्षका भाइले गरे मेसुमाथि कुटपिट

प्रहरी नियन्त्रणमा रहेका थापालाई थुन्न र छाड्न दबाब बढाउँदै राजनीतिक दल

विराटनगर । जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष राईले निमोनिया भएका बिरामीलाई किड्नी ट्रान्सप्लान्ट गर्दा आवश्यक पर्ने औषधि लेखेपछि सुरु भएको विवाद उत्कर्षमा पुगेको छ ।

कार्यालयका निमित्त प्रमुखसमेत रहेका डा. राईले निमोनिया भएर अस्पताल भर्ना भएकी इनरुवाकी गङ्गादेवी थापालाई किड्नी ट्रान्सप्लान्ट गर्दा चलाउने औषधि शनिवार लेखेका थिए ।

बिरामीका आफन्तले औषधि किनेर लगेपछि औषधि चलाउने बेलामा औषधिमा गडबडी भएको थाहा पाएका थिए । गङ्गादेवी इनरुवा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षकी आमा हुन् । थापा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी इनरुवा नगरपालिकाका प्रवक्ता समेत हुन् ।

डा. राईले गलत औषधि लेखेपछि वडाध्यक्षका भाइ तथा बिरामीका छोरा इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ डा. राईमाथि हातपात गरेका छन् । जिल्ला अस्पताल इनरुवाका मेसुमाथि हातपात भएपछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उनले अभियोजन पत्र तयारी पारी मुद्दा चलाउने तयारी भइरहेको बताए ।

थापालाई नियन्त्रणमा लिएपछि अहिले सुनसरीका राजनीतिक दल थापालाई थुन्न र छाड्ने विषयमा विभाजित भएका छन् । काँग्रेसले थापालाई छाड्न दाबाब दिइरहेको छ । एमाले र माओवादीले भने थापामाथि कारबाही हुनु पर्ने भन्दै विज्ञप्तिसमेत निकालेका छन् ।

गम्भीर लापरबाही गर्ने डाक्टरका विषयमा भने चासो नदिएको भन्दै बिरामीका आफन्तले गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर