लुम्बिनीमा सरकारलाई पूर्णता दिने तयारी, को-को बन्दैछन् कांग्रेस र साना दलबाट मन्त्री ? – Nepal Press

लुम्बिनीमा सरकारलाई पूर्णता दिने तयारी, को-को बन्दैछन् कांग्रेस र साना दलबाट मन्त्री ?

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । १२ सदस्यीय मन्त्रीमण्डलमा अहिले एमालेका ५ र कांग्रेसका ३ मन्त्री मात्रै रहेका छन् ।

साउन ७ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता आचार्यले आजै सत्ता साझेदार नेपाली कांग्रेससँगको समन्वयमा सरकारलाई पूर्णता दिने तयारी गरेको स्रोतले जनाएको छ् । एमाले कांग्रेसका भागवण्डाअनुसार एमालेलाई मुख्यमन्त्रीसहित ५ र कांग्रेसलाई ५ मन्त्री दिने समझदारी रहेको थियो । बाँकी दुई मन्त्रालय साना दललाई दिने पूर्वसहमति थियो ।

मुख्यमन्त्री आचार्यलाई नेपाली कांग्रेसले बैजनाथ कलबार र जन्मजय तिमिलसिनालाई मन्त्री बनाउनेगरी अगाडि बढ्न सुझाएको कांग्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले बताए । उनका अनुसार कलबारको निश्चितजस्तै भएपनि तिमिलसिनाको विषयमा अझै टुंगो लागेको छैन । उनी साउन ९ गते नै मन्त्रीको शपथको तायरीमा हटाइएका सांसद हुन् ।

नाउपाबाट राजकुमार चौधरी र जसपाबाट आदेश अग्रवाल मन्त्री बन्ने टुंगो लागेको छ तर नाउपामा राजकुमार रेशम चौधरी पक्षधर भएको र ४ मध्ये ३ सांसद अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधर रहेकी अर्का सांसद नरमाया ढकाललाई मन्त्री बनाउने लाइनमा भएकाले ढिलाई भएको हो । राजकुमारले युवा तथा खेलकुद मन्त्रालय पाउने नाउपा संसदीय दलका नेता धर्म चौधरीले बताए ।

मुख्यमन्त्री आचार्यले आइतबार साँझ नै सबै मन्त्रीको कार्यविभाजन टुंगो लगाउनसक्ने स्रोतले जनाएको छ । त्यसो भए सोमबार नै शपथ हुनसक्नेछ ।

दसैंअघि नै यो नाम टुंगो लागेपनि कांग्रेस र नाउपाको विवादले पछि धकेलिएको हो । भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारलाई पूर्णता दिन आजै कार्यविभाजनसहितको नाम टुंगो लगाउनसक्ने बताए ।

कांग्रेसभित्र मन्त्री छान्ने विषयमा विवाद हुँदा सरकार गठन भएको करिब तीन महिना पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । अहिले मन्त्री बनेका धनेन्द्र कार्की र सरोज थापा देउवा पक्षका हुन् भने प्रचण्ड विक्रम न्यौपाने कोइराला पक्षका हुन् ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट प्रत्यक्ष १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् ।मन्त्रिपरिषदले पूर्णता नपाउँदा मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका थिए ।

साउन ७ मा मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएका थिए । साउन ९ मा उनले एमालेबाट ४ र कांग्रेसबाट ४ मन्त्री नियुक्त गरेका थिए । तर, नेपाली कांग्रेसको तर्फबाट वन तथा वातावरण मन्त्रीमा नियुक्त बादशाह कुर्मीले राजीनामा दिएपछि सरकारमा अहिले कांग्रेसका ३ मन्त्रीमात्र छन् ।

बाँके ३ को २ बाट निर्वाचित कुर्मी बाँकेकी निर्मला कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित हुन् । चौतर्फी दबाब र विरोधपछि उनले गत भदौ २५ मा पदबाट राजीनामा दिएका थिए ।

लुम्बिनी प्रदेशमा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरूलाई एकै पटक शपथ ग्रहण गराउने योजना भए पनि अन्तिम समय आन्तरिक विवादले गर्दा कांग्रेसको कोटाबाट एक मन्त्री नियुक्त हुन सकेका थिएनन् । शपथ ग्रहणको अन्तिम तयारी भइरहँदा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनालाई मन्त्री बन्नबाट रोकिएको थियो ।

त्यही बेला नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले मन्त्री छनोट गर्दा एकलौटी निर्णय गरेको भन्दै पार्टी नेतृत्वको चर्को विरोध गरे । यता शपथ ग्रहण गर्ने बेला आफूलाई रोकिएपछि रिसाएका जन्मजय तिमिल्सिनाले पनि प्रमुख सचेतक पदबाट राजीनामा दिएर बसेका छन् ।

यस्तै महिलाको प्रतिनिधित्व नभएको भन्दै सचेतक निमा गिरीले पनि राजीनामा दिएकी छन् । प्रमुख सचेतक पदमा हालै रुपन्देहीकी जमुना ढकाललाई नियुक्त गरिएको छ । शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्षको रूपमा चिनिएका सांसदहरू मन्त्री बन्न आ–आफ्नो गुट समात्दै अगाडि बढेका छन् ।

भागवण्डा मिलाउन यसरी गरियो मन्त्रालय हेरफेर, महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालय हटाइयो

प्रदेश सरकारले सरकारमा सहभागी दलको भागवण्डा मिलाउन मन्त्रालय हेरफेर गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तरगत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजश्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ । बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महशुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर लुम्बिनी प्रदेशमा आएका डा. रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर