पुण्य गौतमले सुनाए सांघातिक आक्रमणको बेलिबिस्तार, अर्धबेहोसीमा मागेका थिए गुहार – Nepal Press

पुण्य गौतमले सुनाए सांघातिक आक्रमणको बेलिबिस्तार, अर्धबेहोसीमा मागेका थिए गुहार

काठमाडौं । दुई साताअघि सांघातिक आक्रमणमा परी गम्भीर घाइते भएका अभियन्ता पुण्य गौतम विश्वास टाउकोमा २४ टाँका बोकेर तीन दिनअघि अस्पतालबाट डिस्चार्ज भए । तर, टाउको र शरीरभरि लागेका चोटहरुले निकै दुःख दिइरहेको छ ।

आज दिउँसो फोन संवाद हुँदा उनी फेरि फलोअपका लागि अस्पताल जान लाग्दै थिए । टाँका लगाएको घाउ टन्टनी दुखिरहेको, आँखाको दृष्य धमिलो भएको, बोल्न असुविधा भइरहेको, निदाउन कठिन भएको लगायत सिकायत उनले सुनाए । अरु बेला बोल्दाखेरिको रोव उनको आवाजमा थिएन । पुण्यको दमदार बोली बेचेर घर डलर झारिरहेका युट्यूवरहरु कहिले उनी पुरानो अवस्थामा फर्किन्छन् भनेर प्रतिक्षा गरिरहेका होलान् ।

आवाज मलिन भए पनि पुण्यको ढर्रा भने उही नै छ । हौसलामा कमी छैन । उनी भन्छन्, ‘मलाई सिध्याउनै खोजेका रहेछन्, तर म सजिलै सिद्धिन्नँ ।’

हुन पनि पुण्यमाथिको आक्रमण डरलाग्दो प्रकृतिको नै थियो । आक्रमणकारीले उनको घर नजिकै बाटो ढुकेर रडले हानेका थिए । पुण्यले गुहार मागेपछि छिमेकीहरु आएर उद्धार गरे । घटनास्थलमा प्रशस्त रगत बगेको थियो ।

त्यस घटनाको बेलिबिस्तार उनी यसरी लगाउँछन्ः

त्यो दिन मलाई सीआइबी प्रमुख दीपक थापाले आउनुस् न चिया खाउँ भनेर बोलाउनुभो । म दिउँसोतिर गएँ । उहाँसँग भलाकुसारी सकेर गौशाला आएँ । त्यहाँ ५ वटा युट्यूव च्यानललाई अन्तरवार्ता दिएँ । बेलुकी ९ बजेतिर प्रहरीकै साथीले मलाई मोटरसाइकलमा राखेर घरतिर लैजानुभयो ।

म आफैं ज्योतिषि भएकाले घरबाट निस्किँदा भ्याएसम्म पात्रो हेर्छु । शुभ, लाभ, चर, घात आदि समयहरु हुन्छन् । ‘घात’ को समयमा म घरबाट कतै पनि जान्नँ । मलाई होसै भएन, त्यो राति आठदेखि साढे ९ बजेसम्म घात समय रहेछ । ममाथि त्यही समयभित्र आक्रमण भएको हो । शुभ समयभित्र फर्किसकेको भए सायद मलाई केही पनि हुन्थेन ।

म गौशालाबाट हिँड्दा साढे आठ बजेको थियो । मैले इन्टरभ्यू दिँदाखेरि नै उनीहरुले वाच गरिरहेका रहेछन् । एक महिना अगाडिदेखि नै उनीहरुले रेकी गरिरहेका रहेछन् । पाँच लाखको मिसन बनाइएको रहेछ । एक लाख रुपैयाँ लेनदेन भइसकेको भन्ने पछि थाहा पाएँ ।

मलाई ल्याइदिने प्रहरी भाइले घरसम्मै पुर्याइदिन्छु भनेका थिए । तर, घरभन्दा अलिकति अगाडि भेनस स्कुलको मोडमा म ओर्लिएँ । बाटो जिकज्याक छ तपाईं फर्किनुस् भनेँ । उनी फर्किएपछि मैले त्यहाँको एउटा डेरीमा दही किने । अनि हिँड्दै घरतिर लागेँ ।

बाटोमा हेम थापा दाइले अमेरिकाबाट फोन गर्नुभयो । कुराकानी सकेर फोन राख्दा ९ः०५ भएको थियो । घर पुग्नै आँटेको थियो, मलाई पछाडि नराम्रोसँग पर्खालमा ठोकिए्को जस्तो महसस भयो । आक्रमणकारीले रडले हानेको रहेछ । म ढुन्मुनाएँ, तर ढलिनँ । प्रतिवाद गर्ने प्रयास गरेँ ।

उसले मलाई लगातार प्रहार गर्यो । टाउकोमा मात्रै तीन ठाउँमा हान्न भ्यायो । मैले रोक्ने प्रयास गर्दा हातमा ६ ठाउँमा र खुट्टामा ६ ठाउँ चोट लागेको छ । शरीरभरि कुल १४ वटा चोट छन् । म अर्धबेहोस भएर ढलेँ । आक्रमण गर्ने क्रममा उसको क्याप भूईंमा झरेको थियो । मैले अर्धबेहासी अवस्थामा नै त्यसको क्याप तानेर च्यापेको रहेछु । भएभरको बल लगाएर ‘गुहार… गुहार…’ भन्दै कराएँ ।

वरिपरिबाट छिमेकीहरु आउनुभयो । मैले उहाँहरुलाई ‘म बाँच्न चाहन्छु, मलाई अस्पताल लैजानुस’ भनेर अनुनय गरेँ । मेरो एक लिटर जति रगत त्यहीँ बगिसकेको थियो । उहाँहरुले मेरो टाउकोमा एउटा रुमाल बाँधिदिनुभयो । तत्काल एउटा ट्याक्सी खोजेर ल्याउनुभयो । अलिकति ढिला भएको भएर धेरै रगत बगेर मेरो ज्यान जाने थियो ।

मलाई आक्रमण गर्ने एकजना मात्र थियो । कालो आकृति मात्र याद छ । अलि पर एउटा ट्याक्सीमा अर्को मान्छे रहेछ ।

०००

भाइरल अभियन्ताको पहिचान बनाए पनि पुण्य एक राजनीतिकर्मी हुन् । माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका उनी अहिले नेकपा एमालेका संगठित सदस्य छन् । नेकपा एसको केन्द्रीय सल्लाहकार छोडेर उनी एमालेमा आएका थिए । एमालेको जनसांस्कृतिक महासंघले पुण्यलाई केन्द्रीय सदस्य बनाएको थियो, तर उनले सो पद स्वीकार गरेनन् ।

सामाजिक सञ्जालमा उनी अहिलेका प्रधानमन्त्री केपी ओली र एमालेको प्रखर वकालत गर्छन् । तर, आफूमाथि सांघातिक हमला हुँदा एमालेका कुनै पनि कमिटीले सामान्य विज्ञप्तिसमेत ननिकालेकोमा दुःखी देखिन्छन् ।

उनले भने, ‘मलाई पार्टीबाट ईश्वर पोखरेल र विष्णु पौडेलले स्वास्थ्यलाभको कामना गर्नुभयो । प्रधानमन्त्रीज्यूसँग पनि भेट्ने कुरा भएको छ ।’ उनलाई मानवअधिकारकर्मी कृष्ण पहाडीले भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

आफूलाई अहिले पनि धम्की आइरहेको गौतमको भनाइ छ । प्राइभेट नम्बरहरुबाट फोन गरेर अझै पनि बोल्न बन्द नगरेमा सिध्याइदिने धम्की आएपछि आफूले मानवअधिकारकर्मी सुवोध प्याकुरेललाई समेत जानकारी गराएको उनले बताए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । आक्रमण गर्ने काभ्रे घर भई भक्तपुर च्यामासिंह बस्दै आएका ३० वर्षमा टासी लामा भनिने सञ्जीव लामा र मुख्य योजनाकार रसुवा नवकुण्ड गाउँपालिका–५ घर भई गोकर्णेश्वर बस्दै आएका ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदानलाई पक्राउ परेका हुन् । मिलन लामा दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बलका संयोजक रहेको प्रहरीले बताएको छ ।

महाअभियानले एक प्रेस विज्ञप्ति जारी गरी यो आक्रमण अभियानको नीति र निर्देशनमा नभएको दाबी गरेको छ । आफ्नो अभियानका व्यक्ति संलग्न ठहरिएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “पुण्य गौतमले सुनाए सांघातिक आक्रमणको बेलिबिस्तार, अर्धबेहोसीमा मागेका थिए गुहार

  1. यो देशभक्त युवामाथि भाडाका टट्टुले गरेको कुकृत्य हो । महाअभियान नामको गुण्डागर्दी गर्ने झुण्डले जतिसुकै वक्तव्य निकाले पनि उसैका भाडाका टट्टुले गरेको हो । सरकार यस्तालाई किन निर्मम भएर ठोक्दैन ? सिधै आदेश दिनेमाथि कारवाही गर्नुपर्ने हो । ख‍ोई समातेको दिल्लीको टट्टुलाई ? त्यसरी जथाभावि बोल्दै हिडेको छ । दुईचारजना ऋण ठग्न पाईन्छ कि भन्नेहरू र दुईचारजना बिकाउ युट्युवरको बलमा यो सबै भन्न र गर्न किन दिएको ? देशमा कानून छैन ? विदेशीको भाडाको टट्टुको यत्रो हिम्मत ? प्रधानमन्त्री भैसकेको मान्छेलाई जथाभावि बोल्दै हिडेको छ । झुण्ड्याउछु भनेको छ । तैपनि कारवाही हुदैन । अहिले देशमा कसको बिगबिगी छ भने मिडियामा १२ भाइ नामका दलालहरूको, आन्दोलनमा दक्षिणका भाडाका टट्टुहरू विभिन्न नाममा जस्तै महाअभियान, आईटि आर्मी, र्यापर मेयर, व्यापारीहरूमा तस्कर, देश ठगेर पैसा विदेश लानेहरूको मात्र छ । अलिकति एमालेले आश जगाएको छ । अरू त पार्टी पनि सबै विदेशीका एजेण्ट मात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *