झापा विद्रोह हुनेबारे दशकअगाडि नै अमेरिकी विज्ञले राजा महेन्द्रलाई दिएका थिए रिपोर्ट !
काठमाडौं । २०२८ सालबाट नेपालका कम्युनिष्टहरुले झापा विद्रोह गरे । सामन्ती करार गरिएका व्यक्ति हत्यबाट भएको विद्रोहको जरा चैँ कमजोरलाई गरिने थिचोमिचो थियो । झापा विद्रोहको बारेमा लेखिएको पुस्तक ‘२०२८ झापा विद्रोहको अन्तरकथा’मा लेखक निरोज कट्टेलले झापा विद्रोह विसं २०२८ बाट २०३२ सम्म भएको भनेका छन् ।
अझ रोचक कुरा चैँ यो विद्रोह वा यस्तै खालको विद्रोह हुने संकेत दशक अगाडि नै एक अमेरिकी विज्ञले गरेका रहेछन् । उनले संकेत मौखिक रुपमा मात्रै होइन, लिखित रुपमा गरेका रहेछन् । सुधीर शर्माले ल्याएको किताब ‘हिमालपारिको हुरी’मा यसबारेमा उल्लेख छ ।
शर्माले सन्दर्भ सामग्रीसहित लेखेको किताबका अनुसार अमेरिकाले नेपालको पञ्चायतलाई विकासमा सहयोग गर्न खटाएको फोर्ड फाउन्डेसनका विज्ञले यो जानकारी दिएका थिए । ती विज्ञ थिए उल्फ ल्याद्जेन्स्की । भूमिसुधार क्षेत्रमा जापान, ताइवान टापु र कोरिया आदिमा सफल प्रयोग गरेर नेपालमा अध्ययन गर्न आउँदा उनले त्यस्तो पत्ता लगाएका थिए । त्यसबारेमा उनले तत्कालीन राजा महेन्द्रलाई रिपोर्ट नै दिएका थिए । रिपोर्टमा विद्रोह हुने संकेत गर्दै उनले लेखेका थिए, ‘त्यहाँको अवस्था यस्तो छ कि कम्युनिष्ट वा गैरकम्युनिष्ट कुनै पनि सरकारविरोधी शक्तिले किसानहरुको असन्तुष्टिलाई राजनीतिक पुँजीमा परिणत गर्न सक्छन् ।’
उनले २०१८ साल फागुन ४ गते प्रतिवेदन बुझाएर राजालाई इच्छाशक्ति बलियो बनाएर त्यसमा सम्बोधन गर्न आग्रह गरेका थिए । राजाले सुने, तर गम्भीर रुपमा लिएनन् । प्रतिवेदन बुझाएको अर्को वर्ष पत्र बुझाएर पनि उल्फ ल्याद्जेन्स्कीले महेन्द्रलाई ताकेता गरेका थिए । विद्रोह हुने संकेत गरेका थिए । उनले पत्रमा लेखेका थिए, ‘अनुभवले हामीलाई सिकाएको छ- तलबाट उठ्नसक्ने सम्भावित सामाजिक विस्फोटहरुलाई समयमै रोकथाम गर्नु सबैभन्दा बुद्धिमतापूर्ण व्यवहारिक उपाय हो ।’
अमेरिकीले दिएको नेपाली सम्भावित विद्रोहको कुरालाई राजा महेन्द्रले खासै चासो दिएनन् । उसो त २०२१ सालमा भूमिसुधार कार्यक्रम झापाबाटै सुरु गरिएको पनि थियो । त्यसले पनि केही विद्रोहलाई शान्त पार्न सहयोग हुन्थ्यो होला, तर त्यस्तो भएन । कारणबारेमा शर्मा लेख्छन्, ‘त्यस कार्यक्रमले जमिनदारीप्रथा खारेज गर्ने, जग्गामा हदबन्दी लगाउने, मोहियानी हकको व्यवस्था गर्ने, जग्गाको अभिलेखीकरण थाल्नेलगायतका थुप्रै सुधारात्मक लक्ष्य राखेको थियो, तर जसको ज्यादा जग्गा-जमिन छ, उनैले आफन्तका नाममा सारेर होस् वा चिया बगान, उद्योगधन्दा खोल्ने उद्देश्य देखाएर थुप्रै भूमि आफैंले ओगटेर राखे । प्रहरी-प्रशासन र सत्ताधारी वर्गमा तिनकै पहुँच थियो । कसैले मुख खोल्न सकेन ।’
झापा विद्रोहमा भारतीय नक्सलवादी प्रभाव, नक्सलवादीमा चिनियाँ प्रभाव
झापा जिल्लाको संधियारी क्षेत्र नक्सलवारी नक्सल विद्रोह भयो । २०२४ सालमा भएको विद्रोहका राजनीतिक नेता चारु मजुमदार र अरु कामका नेता कानु सन्याल, जङ्गल सन्थाललगायतका आदिवासी अनुहार भएको शर्माले लेखेका छन् । झापा विद्रोहमा त्यही नक्सलवारी विद्रोहले प्रभाव पारेको थियो । पारि जस्तै वारि भएको थिचोमिचो, पारिका नेतासँग वारिका नेता कार्यकर्ताको हिमचिम र झापाका धुलाबारी, शनिश्चरे, भद्रपुर, बुधबारेका हटियामा आउने नक्सलवारी क्षेत्रका व्यापारीले सुनाएका रोचाञ्चक क्रान्ति कथाले माहोल तातेर झापा विद्रोह भएको शर्माको ठम्याइ छ ।
उनले लेखेका छन्, ‘वारिपारि आउजाउ गर्ने अरु मान्छेले पनि त्यसबारे बढाइचढाइँ गरेर सुनाउँथे । माहोल नै यस्तो थियो कि थुप्रै युवा थाहै नपाई विद्रोही बन्दै थिए । हतियार उठाएरमात्रै जनताको शासन आउन सक्छ भन्ने क्रान्तिकारी रोमाञ्चकताले उनीहरुलाई तान्दै लग्यो ।’
झापा विद्रोह गराउन भारतीय कम्युनिष्टहरुका अनुहार थिए । उनीहरु चीनबाट प्रभावित थिए । कानु सन्यालहरु नेपाल हुँदै चीन पुगेका थिए । माओलाई भेटेका थिए । माओले कानुलाई हार्दिकता देखाउँदै फर्कनु अगाडि भनेका थिए, ‘यहाँ तपाईंहरुले जे सिक्नुभयो, नक्सलवारी फर्केपछि त्यो सबै बिर्सनुहोला । त्यहीको वास्तविकतालाई ध्यानमा राखेर आफ्ना क्रान्तिकारी राणनीतिहरु बनाउनुहोला ।’
भारतीय कम्युनिष्टहरुले नेपाली भूमिबाट चिनियाँसँग पहुँच बनाए । त्यो पहुँचपछि उनीहरुले नेपाली कम्युनिष्टलाई जोडिदिन पनि प्रयोग गरे । यसबारेमा शर्माले लेखेका छन्, ‘नेकपा मालेलाई चीनसँग जोड्ने काम भारतको कम्युनिष्ट पार्टी माले लिबरेसनका महासचिव विनोद मिश्राले गरेका थिए । उनी आफैं २०३६ सालताका उच्च पहाडी मार्ग हुँदै भूमिगत रुपमा चीन पुगेका थिए, जुन सम्भवतः नेपाल नै थियो । त्यो भ्रमणपश्चात् उनले आफूसँग रहेका नेकपा मालेका महासचिव सीपी मैनालीलाई चिनियाँ कम्युनिष्ट पार्टीसँग जोडिदिएका थिए ।’
त्यही चिनियाँ सम्पर्कको सेतुबाट नेपाली कम्युनिष्ट नेताहरु सिन्धुपाल्चोक हुँदै चीन पुगेका थिए । यो भूमिगत हुँदाको कुरा हो । यो पञ्चायत हुँदाको कुरा हो । २०३७ जेठमा मैनालीसँग ईश्वर पोखरेल चीन पुगेका थिए । खासामाथिबाट तिब्बत छिरेका उनीहरुलाई बाटो देखाउने काम सिन्धुपाल्चोकका नेता अमृत बोहोराले गरेका थिए ।
यात्राबारेमा २०७२ भदौ २४ को ल्हासा यात्राको संयोगमा भेटिएका नेता पोखरेलसँग कुरा गर्दा उनले भनेको कुरा साभार गर्दै शर्माले लेखेका छन्, ‘बाटोमा लेक लागेर झण्डै मरेको । नेपालतर्फ त ओढारमै सुत्नुपरेको थियो । तिब्बतपट्टि निकै हिँडेपछि बल्ल चिनियाँ सम्पर्क व्यक्ति भेटिए । हाम्रो कारणले पञ्चायती सरकारसँग आफ्नो सम्बन्ध बिग्रेला कि भन्नेमा चिनियाँहरुको चिन्ता थियो । त्यही भएर हामी त्यस्तो घुमाउरो बाटोबाट जानुपरेको थियो ।’