मोरङको ग्रामथान अध्यक्षमा माओवादीले कांग्रेस छाडेर आएका माझीलाई उठाउने – Nepal Press

मोरङको ग्रामथान अध्यक्षमा माओवादीले कांग्रेस छाडेर आएका माझीलाई उठाउने

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मनोनारायणा माझीलाई अध्यक्षको उम्मेदवारको रूपमा अगाडि सारेको हो । सो पालिकाका अध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुँदैछ ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरीया बजारमा सोमबार आयोजित कार्यक्रममा माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनी यसअघि ग्रामथान गाउँपालिकाको १ नम्बर वडाबाट ०७४ सालमा फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए ।

उक्त निर्वाचनका लागि काङ्ग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन । ०७९ सालको पालिका निर्वाचनमा काङ्ग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्व मन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर