१८ वर्षदेखि काेपभाजनमा परेका बुद्धिराज- यसपटक पनि लाउन पाएनन् एआईजीको ताज
काठमाडौं । गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता मिच्दै एआईजीमा किरण राणालाई सिफारिस गरेको छ । पहिलो वरीयताका डीआईजी बुद्धिराज गुरुङलाई पन्छाउँदै तेस्रो वरियताकी किरणलाई सिफारिस गरिएको हो ।
बढुवा सिफारिसमा परेकी राणा १० दिनपछि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछिन् । प्रहरी नियमावली अनुसार सिफारिसको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार कात्तिक १० सम्म राणा बढुवा हुन्नन् । कात्तिक ११ मा मन्त्रिपरिषद् बैठकबाट बढुवा भए उनी ४ दिनमात्रै एआईजी हुने छिन् ।
यदि अहिलेकै प्रहरी बढुवा संस्कृतिले प्राथमिकता पाए आईजीपी कुँवरसँगैका डीआईजी गुरुङ र सिंहभन्दा अघि अनिवार्य अवकाशमा जाने तयारीमा रहेका डीआईजी केदार ढकाल र भरतबहादुर बोहरा एआईजी हुने सम्भावना छ । उनीहरू डीआईजी गुरुङ र सिंह तथा आईजीपी कुँवर चैत ५ मा अनिवार्य अवकाशमा जानुअघि नै अनिवार्य अवकाशमा जानेछन् । ढकाल र बोहरा अहिलेको आईजीपीको ब्याचभन्दा १० महिनापछि २०८० वैशाख ६ मा डीआईजी भएका थिए । जबकी आईजीपी कुँवरसहित १७ जना २०७९ असार ८ मा एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका थिए ।
२०७९ असार ८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा गृहमन्त्री बालकृष्ण खाणले १३ नम्बरमा रहेका आईजीपी कुँवरलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्दा एक नम्बरमा पुर्याएका थिए । कुँवर आईजीपी बन्न सफल भए । तर, आईजीपी कुँवरकै ब्याचमेट गुरुङले अहिले पनि ‘धोका’ खाए । गुरुङ एसएसपीमा ८ नम्बरमा बढुवा भएकोमा डीआईजीमा बढुवा हुँदा ७ नम्बर पछि धकेलिएर १५ नम्बरमा पुर्याइएका थिए ।
बहालवाला एआईजी दीपक थापा, टेक तामाङ, सुदीप गिरी र भीम ढकाल आईजीपी कुँवर तथा डीआईजीपी गुरुङभन्दा ५ महिनापछि इन्सपेक्टरमा भर्ना भएका हुन् । तर, ४ जनै एआईजी भइसकेका छन् । बाँकी ४ जना अनिवार्य अवकाशमा गइसकेका छन् ।
आइतबार आईजीपी कुँवरकै ब्याजका ३ जना डीआईजीपीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ र दोस्रो नम्बरमा रहेका दुर्गा सिंहलाई छोडेर अवकाशको मुखमा भएकालाई बढुवा सिफारिस गर्नुले प्रहरी संगठनमा क्षमता र वरिष्ठतामाथि पुन: नाङ्गो हस्तक्षेप भएको भन्दै टिप्पणी भइरहेको छ ।
कसरी अन्यायमा परे डीआईजीपी गुरुङ ?
नेपाल प्रहरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेर्ने प्रमुख जिम्मेवारीमा छन् अहिले डीआईजी बुद्धिराज गुरुङ । यसअघि उनी एक वर्ष गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा गुरुङले ‘पुलिस ब्याटल प्रतियोगिता’मा प्रथम स्थान हासिल गरेका थिए । अपराध अनुसन्धानको क्षेत्रमा हुने प्रतिस्पर्धालाई प्रहरीमा ‘पुलिस ब्याटल प्रतियोगिता’भनिन्छ । डीआईजीमै हुँदा उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्तिठानमा दोस्रो वरीयतामा रहेको पद निर्देशकको जिम्मेवारी थिए ।
गुरुङ २०५१ चैत ५ मा आईजीपी कुँवरसँगै इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । इन्सपेक्टरमा भर्ना हुदाँ तालिममा उत्कृष्ट भए पनि गुरुङ लोक सेवा आयोगले गरेको सिफारिसको वरीयतामा भने ५ नम्बरमा थिए । प्रहरी नियमावलीमा तालिमको आधारमा वरीयता कायम हुने व्यवस्था रहेपनि त्यतिबेला प्रहरी नियमावलीलाई कार्यान्वयन नगरेर आयोगकै सिफारिसलाई वरीयता कायम गरेर गुरुङमाथी अन्यायको सुरुवात भइसकेको थियो ।
तत्कालीन अवस्थामा इन्सपेक्टरमा सँगै सेवा प्रवेश गरेका १०८ नम्बर व्याच मध्ये एआईजीपीबाट अनिवार्य अवकाशमा गइसकेका श्यामलाल ज्ञवाली गुरुङभन्दा सधैँ अगाडि थिए । आईजीपी कुँवर भने इन्सपेक्टरमा अगाडि भए पनि कहिले पछि कहिले अघि हुने क्रम चलिरह्यो । इन्सपेक्टरबाट १३ वर्षपछि उनी २०६३ भदौ ८ मा आईजीपी कुँवरसँगै डीएसपीमा बढुवा हुँदा उनी ५ नम्बरबाट ३६ नम्बरमा पुगे । डीएसपीबाट एसपीमा बढुवा हुदाँ १५ नम्बमा पुगे । एसपीबाट एसएसपी बढुवा हुँदा फेरि ८ नम्बर वरीयतामा आइपुगे । त्यतिबेला आईजीपी कुँवर १३ नम्बरमा थिए ।
अहिले एआईजीपी रहेका भीमप्रसाद ढकाल त्यतिबेला १२ औँ नम्बरमा थिए । अहिले एआईजीपी रहेका दीपक थापा र सुदीप गिरी गुरुङभन्दा २ वर्षपछि मात्रै एसएसपी भएका थिए । फेरि डिआईजीमा गुरुङ १५ नम्बरमा पुग्दा आईजीपी कुँवर भने १३ नम्बरबाट छलाङ मारेर एक नम्बरमा पुगे ।
गुरुङलाई मात्रै नभएर २०५१ चैत ५ मा आईजीपी कुवरसँगै इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका एसएसपी गणेश चन्द, भोला रावल र ध्रुव राउत यदि यो बीचमा बढुवा नभएको अवस्थामा एसएसपीबाटै आउँदो चैत ५ मा अनिवार्य अवकाशमा जानेछन् । चैत ५ मै आईजीपी कुँवरसँगै गुरुङ र दुर्गा सिंह अनिवार्य अवकाशमा जाँदैछन् ।