मोरङमा एसपी ल्याउन दलीय दबाब- राजनको काज रद्द, चिमरिया पठाइँदै – Nepal Press

मोरङमा एसपी ल्याउन दलीय दबाब- राजनको काज रद्द, चिमरिया पठाइँदै

विराटनगर । घुमुवा राखेर अनियमित तरिकाले पैसा उठाएको आरोप लागेका मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की हेडक्वार्टर तानिएसँगै एक इन्स्पेक्टर र ४ जना प्रहरी हवल्दार पनि कारवाहीमा परेका छन् ।

अनलाइन जुवा खेलाउने र खेल्नेसँग २० लाख रूपैयाँ लिएको उनीहरूमाथि आरोप छ । उनीहरूको साथबाट अनलाइन जुवाको ‘सेटिङ’गर्ने र गराइदिनेबाट लिएको रकमसमेत बरामद भएको छ । उनीहरूलाई अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयमा तानिएको छ ।

प्रहरी स्रोतका अनुसार अनलाइनमार्फत जुवा खेल्नेहरूसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत कारवाहीमा परेका छन् ।

घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारैजनालाई बिहीबार राति मोरङको सुन्दरहरैँचास्थित विराट चोकबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले आन्तरिक कारवाहीको विषय भएको हुनसक्ने भन्दै कारण खुलाएनन् ।

प्रहरी प्रमुख ल्याउन चलखेल

एसपी कार्कीको ठाउँमा राजन लिम्बूलाई पठाउने निर्णय गरिएको थियो । तर, राजनीतिक चलखेल हुँदा निर्णय भएको ३ दिन नबित्दै लिम्बूलाई मोरङ पठाउने निर्णय उल्टिएको छ । अब नारायण चिमरिया आउने भएका छन् ।

प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । अफिसको आवश्यकताका कारण लिम्बूको निर्णय रोकिएको बताउँदै उनले भने,‘ नारायण चिमरियालाई पठाउने निर्णय भएको छ ।’

कात्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो । गृहमन्त्री रमेश लेखकलाई भनेर कांग्रेस नेताहरूले लिम्बूको सरुवा राकेका हुन् । लिम्बू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए ।

राजन ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले मेलामा भएको विवादलाई लिएर परिवारै उडाइदिने धम्की दिएका थिए । हाङगाम अहिले प्रदेशको मन्त्री हुन् ।

काँग्रेस नेताहरूले मोरङमा चिमरियालाई ल्याउन प्रस्ताव गरेपछि प्रहरी प्रधान कार्यालयले उनलाई नै पठाउने निर्णय गरेको प्रहरी स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *