नेपाल डेरीले बेचेको समोसाभित्र जालो, तिर्‍यो ५० हजार जरिवाना – Nepal Press

नेपाल डेरीले बेचेको समोसाभित्र जालो, तिर्‍यो ५० हजार जरिवाना

काठमाडौं । गत शनिबार ललितपुरको धापाखेल निवासी राधाकृष्ण भट्टराईले नजिकै रहेको प्रख्यात नेपाल डेरी बेकरीको बिक्री केन्द्रबाट केही समोसा किनेर घर ल्याए । निकालेर खान खोज्दा समोसा सडिसकेको र भित्र ल्यातल्यात जालोसमेत परेको भेटियो ।

उनी तत्काल ‘कम्प्लेन’ गर्न गए । बिक्री केन्द्रमा रहेका कामदारले फ्याट्ट भनिहाले, ‘आजको सकिएकाले हिजोको दिएको हुँ ।’ त्यसपछि विवाद भयो । अन्य कामदार आएर विभिन्न बहानाबाजी गर्न थाले ।

भट्टराईले बासी र सडेगलेको समोसा बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरिएको भन्दै जिम्मेवार व्यक्तिसँग कुरा गर्न खोजे । उनलाई एउटा फोन नम्बर दिएर पठाइयो । भट्टराईले उक्त नम्बरमा फोन गर्दा रेस्पोन्स नै भएन । अन्ततः उनी सम्बन्धित निकायमा उजुरी गर्न बाध्य भए ।

भट्टराईको उजुरीपछि सो बेकरीमा आज जिल्ला अनुगमन समितिले अनुगमन गरेको छ। अनुगमनका क्रममा सो उद्योगले गुणस्तरहीन खाद्य वस्तुहरु बेचेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

आफूले गरेको गुनासोमा बेकरी सञ्चालक जिम्मेवार नबनेपछि उजुरी गरेको भट्टराई बताउँछन् । यसअघि पनि उपभोक्ताबाट आउने गुनासोलाई उद्योगले नजरअन्दाज गर्दै आएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगर, उद्योग वाणिज्य कार्यालय लगायतका प्रतिनिधिहरु रहेको टोली अनुगमनका लागि पुगेको थियो ।

अनुगमनका क्रममा त्यहाँ बेचिने खाद्यपदार्थ मापदण्डअनुसार नपाइएकाले जरिवाना गरिएको र अबदेखि गुणस्तर कायम गर्न निर्देशन दिइएको टोलीका एक सदस्यले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर