बीपी स्मृति कप टी-२०: बंगलादेशको साइक्यु र नेक्सस रूपन्देही विजयी – Nepal Press

बीपी स्मृति कप टी-२०: बंगलादेशको साइक्यु र नेक्सस रूपन्देही विजयी

रुपन्देही । बंगलादेशको साइक्यु क्रिकेट एकेडेमी र नेक्सस रुपन्देही-११ नेपाल भैरहवामा जारी बीपी कोइराला स्मृति कप टी-२० अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।

साइक्यु क्रिकेट एकेडेमीले श्रीलंका राज्य सेवा क्रिकेट संघलाई ८ विकेटले पराजित गरेको हो । साइक्युको यो लगातार दोस्रो जीत हो भने श्रीलंकन टीमको लगातार दोस्रो हार ।

नेक्सस रुपन्देहीले पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । नेक्ससको यो दोस्रो जीत हो भने जावेद गोहारको लगातार तेस्रो हार ।

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा जीतका लागि श्रीलंकन टीमबाट पाएको ११३ रनको लक्ष्य बंगलादेशको साइक्यु क्रिकेट एकेडेमीले ११ ओभरमै २ विकेट गुमाएर ११८ रन बनाउँदै पूरा गरेको छ । उसको जीतमा ३० बलमा २ छक्का र ७ चौकाको मद्दतमा मुनिम सानरिअरले ५१ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै साद इन्ब मोशरफले २५, फैजलले नटआउट २२ र रकिब अहम्मदले अविजित १२ रनको योगदान गरे ।

बलिङमा श्रीलंका राज्य सेवा क्रिकेट संघका रवि किरण र वाहिदले १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको श्रीलंकन टीमले ६ विकेटको नोक्सानीमा ११२ रनको सामान्य योगफल प्रस्तुत गरेको थियो । उसका लागि नानी वासुपल्लीले अविजित ५४ रन बनाए । यस्तै राज वीरले ३२ रन बनाए भने दुई खेलाडी शून्य रनमा पेभेलियन फर्किंदा चार खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा साइक्यु क्रिकेट एकेडेमीका मोहम्मद रफी र सहदाज रहमानले २-२ तथा रकिब अहमदले १ विकेट हात पार्न सफल भए । खेलमा साइक्युका मुनिम सानरिअर म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानको जावेद गोहार १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा नेक्सस रुपन्देहीका शाहब आलमले ३ ओभर १ बलमा १० रन खर्चेर ४ विकेट लिए । यस्तै वसिर अहम्मदले ३, दीपेश कँडेलले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे ।

जावेद गोहारका सामोनले सर्वाधिक १६ रन बनाउँदा इमरान नाजिरले १२ र अली हुसेनले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ८१ रनको झिनो लक्ष्य पछ्याएको नेक्सस रुपन्देहीले ११ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित निकाल्यो ।

उसका लागि सुमित महर्जनले अविजित २८ र मिर्नाल गुरुङले नटआउट २० रन बनाए । नेक्ससले २१ रन त अतिरिक्त नै पायो । बलिङमा जावेद गोहारका जेम खानले ३ विकेट लिए ।

खेलमा नेक्सस रुपन्देहीका शाहब आलम म्यान अफ द म्याच भई ५ हजार रुपैयाँ प्राप्त गरे ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *