सुस्मा र पूजा एक-अर्कासँग लपक्कै, दर्शकले भने- के देख्नुपर्‍यो ! – Nepal Press

सुस्मा र पूजा एक-अर्कासँग लपक्कै, दर्शकले भने- के देख्नुपर्‍यो !

पहिले पानी बाराबार, अहिले ‘स्वीटहार्ट’

काठमाडौं । नायिकाद्वय पूजा शर्मा र सुष्मा कार्कीबीचको पुरानो रिसइबीबारे जानकारी राख्नेहरु यी दुईको एउटा टिकटक भिडिओ देखेर जिल खाएका छन् । भिडिओमा दुवै जना एक-अर्काको अंगालामा यसरी चिप्किएका छन् मानौं, वर्षौंपछि विछोडिएर भेट भएका ‘जिग्री’ हुन् ।

सुष्माले आफ्नो टिकटक अकाउन्टबाट पोस्ट गरेको भिडिओको क्याप्सनमा पूजालाई लभ इमोजीसहित ‘स्वीटहार्ट’ सम्वोधन गरेकी छन् । भिडिओ पक्कै पनि ताजा नै हुनुपर्छ किनकि सुस्मा अहिले अस्ट्रेलियाबाट दसैं मनाउन नेपाल आएकी छन् । पूजाले चलाउने रेस्टुरेन्टमा गएर भेटेको हुनसक्छ ।

विगतमा पूजा र सुस्माको खराब सम्वन्धबारे नेपाली फिल्म इन्डष्ट्रीमा सायदै कोही अनभिज्ञ छन् । उनीहरूबीच पानी बाराबारकै स्थिति थियो । एक-अर्काको नाम सुन्दा पनि नाक खुम्च्याउने गर्थे । कतै सार्वजनिक कार्यक्रममा जम्काभेट भयो भने पनि मुन्टो बटारेर हिँड्थे । दुवैले एक–अर्कालाई होच्याएर थुप्रै अन्तर्वार्ताहरु दिएका छन् ।

पूजा र सुष्माबीच कटुता कसरी सुरू भएको थियो त ? जानकारहरुका अनुसार यसको केन्द्रमा छन् निर्देशक सुदर्शन थापा । एक समय सुदर्शन र सुस्माबीच प्रगाढ सम्वन्ध थियो । सुदर्शनले नै सुस्मालाई आफ्नो फिल्मबाट डेब्यु गराएका हुन्, तर पछि उनीहरुबीच फाटो आयो । त्यसपछि सुदर्शन पूजासँग नजिकिएका थिए ।

सुदर्शन र पूजाको सहयात्रा निकै जम्यो पनि । उनीहरु अफेयरमा रहेको आशंकासमेत कतिपयले गरेका थिए, तर सुदर्शनले सुप्रिया कटवालसँग विवाह गरिसकेका छन् भने पूजा युद्ध बानियासँग विवाहको तयारीमा छिन् । चलचित्रमा भने सुदर्शन र पूजाले अझै पनि सहकार्य गरिरहेका छन् । उनीहरुले मिलेर हालै ‘रावायण’ निर्माण गरेका थिए ।

सुदर्शन आफूसँग टाढिएर पूजासँग नजिकिएको सुस्मालाई सह्य नभएको बताइन्छ । त्यही विन्दुबाट सुस्मा उनीहरू दुवैसँग चिढिएकी हुन् । सुदर्शनसँग टाढिएपश्चात सुस्माको फिल्मी करिअर पनि सिथिल बन्दै गयो ।

केही वर्षअघि एउटा फिल्मी कार्यक्रमको भिडिओ क्लिपले पूजाप्रति सुस्माको ‘नफरत’ छताछुल्ल बनाएको थियो । कार्यक्रममा अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र स्वेता खड्का लहरै बसेका थिए । पछाडिबाट सुस्मा आइन् । उनले रेखाको गाला चिमोट्दै हात मिलाइन्, तर रेखासँगै बसेकी पूजालाई अनदेखा गरिन् ।

रेखाले सुस्माको हातै तानेर पूजासँग मिलाइदिन खोजेकी थिइन्, तर पनि सुस्माले जबरजस्ती हात फुत्काइन् । अनि पूजाको साइडमा बसेकी स्वेता खड्कासँग गाला जोडिन् । रेखा र पूजा मुखामुख गरेर हाँसे, तर ‘कुरा काट्न’ पाएनन् । किनकि सुस्मा उनीहरुको ठीक पछाडिको सिटमा बस्न पुगिन् ।

अन्ततः पूजा र सुस्माबीच मेलमिलाप गराउन उनै रेखा थापा सूत्रधार बनेको विश्वास गरिएको छ । रेखाले आफ्नो फिल्म ‘उपहार’मा पूजा र सुस्मा दुवैलाई खेलाएकी थिइन् । सुटिङ स्पटमा उनीहरुको भेट भयो । सँगै काम गरेपछि बोलचाल नगरी सुख्खै भएन ।

सुस्मा कार्की अहिले नेपाली फिल्म इन्डष्ट्रीबाट पलायन भइसकेकी छन् । ‘उपहार’ खेलेपछि उनी अस्ट्रेलिया भासिइन् । अहिले दसैं मनाउन नेपाल आएकी छन् ।

पूजासँग उनले कहाँ भेटेर टिकटक बनाएकी हुन् भन्ने खुलेको छैन, तर टिकटकमा रमाइला प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चकित हुँदै लेखेका छन्, ‘लौन, यो के देख्नुपर्‍यो !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *