‘साना पार्टीका केही मान्छे किनेर एमालेलाई ठूलो दल बनाउने ओलीको प्रयासमा कांग्रेसले सहमति जनाए अनौठो हुन्छ’ – Nepal Press
नेपाल टक

‘साना पार्टीका केही मान्छे किनेर एमालेलाई ठूलो दल बनाउने ओलीको प्रयासमा कांग्रेसले सहमति जनाए अनौठो हुन्छ’

झलनाथ खनालको दाबी- एकदुई जना पार्टीबाट बाहिरिनसक्छन्, ठूलो पंक्ति बाहिरिँदैछन् भन्ने हल्लामा सत्यता छैन

काठमाडौं । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चापछि साना दलमा तरंग पैदा भएको छ । प्रधानमन्त्री केपी शार्मा ओलीले एमालेबाट अध्यादेशले बनेको नेकपा एकीकृत समाजवादीलाई लक्षित गरेर दल विभाजन सहज हुने अध्यादेश ल्याउने तयारी गरेका छन् ।

नेकपा एसका १० मध्ये कम्तीमा ५ सांसदसहित एक तिहाइ केन्द्रीय सदस्य विभाजनको पक्षमा उभिएको बताइन्छ । प्रधानमन्त्री अध्यादेश ल्याउने पक्षमा रहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा अझै सहमत भइसकेका छैनन् । ओलीले देउवालाई सहमत गराउन निरन्तर प्रयास गरिरहेका छन्, तर नेकपा एसका नेताहरुले देउवालाई भेटेर अध्यादेश नल्याउन दबाब बढाइरहेका छन् । अध्यादेश ल्याए नेकपा एसको ठूलो पंक्ति पार्टी फुटाएर एमालेमा समाहित हुने पक्षमा छ ।

सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि नेकपा एसले के गर्छ, पार्टीभित्र देखिएको असन्तुष्टि र पार्टी नै छाड्नेको संख्या बढ्दै गएपछिको अवस्थामा पार्टीलाई जोगाउन के गर्छलगायतको विषयमा केन्द्रित रहेर नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग गरिएको सवालजवाफः

– प्रधानमन्त्रीले तपाईंहरुको पार्टीलाई लक्षित गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्ने चर्चा छ । त्यसलाई कसरी बुझ्नुहुन्छ ?

यो हल्ला कस्तो हो अहिलेसम्म कुनै ठोस रुप लिएको छैन । सत्ताधारीहरु त्यसमा व्यग्रताका साथ लागेको भन्ने आएको छ । यसको उद्देश्य के हो, त्यो प्रस्ट भएको छैन । हल्ला आएअनुसार साना पार्टीलाई फुटाउने, त्यसमा पनि हाम्रो पार्टीलाई फुटाएर कतिपय मान्छे किनेर आफ्नो पार्टी सबैभन्दा ठूलो बनाउने उद्देश्यले गरिँदैछ भन्ने आएको छ ।

यस्तो कुरामा दुई ठूला दलबीच सहमति हुँदैछ भने अर्को आश्चर्य र अनौठो कुरा हुन्छ । यी दुई दल यो अनौठो किन गर्दैछन् अझै छर्लङ भइसकेको छैन ।

– तर तपाईंकै पार्टीका सांसद र नेताहरुले अध्यादेश ल्याएपछि हामी एमालेमा जाँदैछौं, पार्टी छाड्दैछौं भन्ने सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ नि ?

हाम्रो पार्टीका धेरै सांसदहरुको कुरा छ भन्ने लाग्दैन । एक जना वा दुई जना मान्छेको यो कुरा होला । त्यसो गरेर उनीहरुले आफ्नो हित गर्नेवाला छैनन् । यसले पार्टीको हित हुने कुरा भएन झन् । र, जसले मान्छेहरु किन्दैछ, त्यसलाई पनि भविष्यमा हित हुनेवाला छैन ।

– तपाईंहरुको पार्टीका सांसद प्रेम आलेले म पार्टीमा छैन भनिसक्नुभयो, अन्य नेताहरु पनि बाहिरिने तयारी गर्दैछन् । यसबारेमा पार्टीमा के हुँदैछ ?

अहिले त्यस्तो अरु देखिएको छैन । त्यही एकदुई जनाको कुरा होला । अब हेरौं घटनाक्रमले के गर्छ । मान्छेलाई अलि राम्रो रकम मिल्ने भयो भने त्यहीअनुसार हामफाल्न पनि सक्छन्, तर अहिले जुन पासो खडा गर्न खोजिँदैछ, त्यो पासोले धेरैखालका शिकार पर्नसक्छन् । पासो थाप्नेहरु पनि त्यसको शिकार हुनसक्छन् भन्ने अनुमान गर्न सकिन्छ । ती पार्टीभित्रको उकुसमुकुस पनि हामीले देखिरहेका छौं ।

– महाधिवेशनपछि असन्तुष्ट नेताहरुले पार्टीमा ज्ञापनपत्र पनि बुझाउनुभएको थियो, त्यसबारे के हुँदैछ ?

हाम्रो पार्टीमा महाधिवेशन सहमतिपूर्ण ढंगले भएको थियो, महाधिवेशनको म्यान्डेट नै एकता, सहमति, रुपान्तरण र चौतर्फी अग्रगति थियो । त्यसलाई ठीक ढंगले लागू नगरेर पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गर्दा नै पार्टीमा असन्तुष्टि सिर्जना गर्ने आधार बन्यो ।

सत्ता र वित्तीय थौलाहरु हातमा लिएर बसेको सरकारले कुनै साना पार्टीहरुलाई फोर्न साम, दाम, दण्ड र भेदको प्रयोग गर्‍यो भने त्यसले क्षणिक रुपमा आफू अनुकूल बनाउला, तर त्यसले लोकतान्त्रिक मूल्य मान्यतालाई ध्वस्त पार्ने, प्रतिगमनकारी शक्तिहरुलाई मलजल गर्ने र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने आधार फराकिलो पार्ने काम गर्छ ।

समस्या त्यही हो । त्यहाँ भएका गल्ती कमजोरीहरुलाई पार्टीले मूल्यांकन गरेर हटाउने प्रतिबद्धतासहित सबैलाई मिलेर स्थायी कमिटीमा ल्याउनुपर्नेलाई ल्याउने, पोलिटब्युरोमा आउनुपर्नेलाई पनि ल्याउनेबित्तिकै यो समस्याको समाधान हुन्छ ।

– एमालेसँगको विद्रोह पुष्टि गर्न नसकेपछि पार्टीको भविष्य नै संकटमा पर्‍यो भनिन्छ नि ?

यो अहिलेको इस्यु होइन, कि त धेरै पहिला उठाउनुपर्थ्यो । अहिलेको असन्तुष्टिलाई आमकार्यकर्ताले हेरिरहेका छन्, औचित्य सिद्ध भयो कि भएन भन्ने प्रश्न चाहिँ दुईतीन वर्षअघि नै उठेको कुरा हो । त्यो प्रश्नको समाधान अहिले असन्तुष्टि व्यक्त गरेर हुँदैन । त्यो प्रश्नको समाधान गर्न बेग्लै ढंगले समीक्षा गर्नुपर्छ ।

– पार्टीभित्रको यही असन्तुष्टि चर्किएको बेलामा अध्यादेश ल्याएर पार्टी फुटाउने प्रयास भइरहेको बताइन्छ । तपाईंहरुले कति रोक्न सक्नुहुन्छ ?

सत्ता र वित्तीय थौलाहरु हातमा लिएर बसेको सरकारले कुनै साना पार्टीहरुलाई फोर्न साम, दाम, दण्ड र भेदको प्रयोग गर्‍यो भने त्यसले क्षणिक रुपमा आफू अनुकूल बनाउला, तर त्यसले लोकतान्त्रिक मूल्य मान्यतालाई ध्वस्त पार्ने, प्रतिगमनकारी शक्तिहरुलाई मलजल गर्ने र अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने आधार फराकिलो पार्ने काम गर्छ ।

– सरकारले यो अध्यादेश ल्यायो भने तपाईंहरुको पार्टीको कदम के हुन्छ ?

हामी त्यसको दृढतापूर्वक प्रतिवाद गर्छौं । त्यसमा अरु कुनै विकल्प छैन । हामीले भर्खरै महाधिवेशन गरेका छौं, महाधिवेशनले अगाडि सारेको समाजवादी कार्यक्रमलाई प्राप्त गर्ने नीति, सिद्धान्तलाई लिएर हामी दृढतापूवर्क अघि बढ्छौं ।

– अध्यादेश आए विपक्षी दलहरुले संयुक्त प्रतिवाद गर्ने सहमति भएको छ, सरकारको यो तयारीबारे थप केही छलफल भएको छ ?

हामीले विपक्षी सबै दलहरुलाई यसबारेमा सचेत गराइसकेका छौं । यो हामीमाथि मात्रै आउने कुरा होइन, साना दलहरुमाथि दुई ठूला दलको हमला हुनेछ यो । यो दुई दलको अधिनायकवादको सुरुवात हुनेछ। यसकारण दुई दलीय अधिनायकवादका विरुद्ध सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भनेका छौं ।


प्रतिक्रिया

One thought on “‘साना पार्टीका केही मान्छे किनेर एमालेलाई ठूलो दल बनाउने ओलीको प्रयासमा कांग्रेसले सहमति जनाए अनौठो हुन्छ’

  1. पार्टी फुटाउन हुँदैन भन्ने बुद्वि यी लठ्ठकहरूलाई एमाले पार्टी फुटाउन अध्यादेश ल्याउँदा किन आएन ? यी दलालहरू एमाले फुटाउन एक हुने अहिले चाहिँ डरले थरथर हुने ? लाज छैन दिल्लीका टट्टुहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *