रुपन्देहीमा कसरी हुँदैछ पूर्वडिआईजी छविलालमाथि अनुसन्धान ? – Nepal Press

रुपन्देहीमा कसरी हुँदैछ पूर्वडिआईजी छविलालमाथि अनुसन्धान ?

रुपन्देही । गोरखा मिडिया नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष पूर्वडिआईजी छविलाल जोशीलाई सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी बयानका लागि सोमबार पोखराबाट भैरहवा हुँदै बुटवल ल्याइएको छ । जोशी गत असोज ६ गते पक्राउ परेपछि पोखरामा प्रहरी हिरासतमा छन् ।

पोखराको सूर्यदर्शनबाहेक बुटवलको सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १५ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको संसदीय छानविन समितिको प्रतिवेदनमा छ ।

त्योमध्ये २ करोड गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वापा सभापति रवि लामिछानेको नाममा, २ करोड ५० लाख छवीलाल जोशीका नाममा, ४ करोड ५ लाख गोर्खा मिडियाका नाममा, १ करोड ५६ लाख १५ हजार रुपैयाँ रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका नाममा, भुपेन्द्रबाबु राईका नाममा ३ करोड ३० लाख र कुमार रम्तेलका नाममा १ करोड ३ लाख ३६ हजार रुपैयाँ गरी १४ करोड २९ लाख ३६ हजार रुपैया गएको अनुसन्धानबाट देखिएको छ ।

प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयनका क्रममा असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउलगत्तै उनलाई पोखरा लगेर अनुसन्धान र बयान गरिएको थियो ।

अनुसन्धानकै क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई सोमबार जहाजमार्फत पोखराबाट भैरहवा ल्याइएर बयान लिइएको र मंगलबार पुनः बयान लिने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्याधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए । सहकारी ठगीबारे बयान सकेपछि उनलाई फेरि पोखरा पठाइने प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी खड्काका अनुसार जोशीलाई सोमबार नै सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ । तर, बयान मंगलबारबाट हुनेछ ।

‘हामीले आज नै उहाँलाई सरकारी वकिलको कार्यालयमा पेश गरेका छौं, तर बयान भोलिबाट मात्र सुरु हुनेछ,‘मुद्दा बुटवलबाट चलेका कारण उहाँलाई इलाका प्रहरी कार्यालयमै राखिएको छ । कहिले छानविन सकिन्छ थाहा छैन’, उनले भनिन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय पण्डितले जोशीलाई बुटवल ल्याएर हिरासतमा राखिएको र मंगलबारदेखि सरकारी वकिल कार्यालयमा बयान सुरु हुने बताए ।

रुपन्देहीमा एसपी रहेको बेला छविलाल प्रहरी प्रमुख भएर भैरहवामा बसेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर