हिप्पी इतिहासकार भन्छन्- नेपालमा धेरै पुग्नै पाएनन्, पुगेका जतिले अध्यात्मको केन्द्र सम्झेका छन्
काठमाडौं । नेपालको पञ्चायत कालखण्डमा सुरु भएर त्यही समयमा बन्द भएको हिप्पी आगमनलाई धेरैले नोस्टाल्जिक भएर हेर्छन् । हिप्पीबारेमा नेपालमा धेरै लेखिएको छ । पढिएको छ, तर हिप्पीको बारेमा हिप्पीलाई नै सोधेर गरिएको अनुसन्धान नेपालमा छैन । त्यो अभर विदेशीले पूरा गरेका छन् । विदेशी विश्वविद्यालयले पूरा गरेको छ ।
बेलायतको मेनचेस्टर विश्वविद्यालय प्रेसले एक अनुसन्धानात्मक किताब ‘दि हिप्पी ट्रेलः अ हिस्ट्री’ प्रकाशन गरेको छ । त्यसका दुई लेखक हुन्- सरिफ जेमी र ब्रिआर आयरल्यान्ड । उक्त किताबका लेखक सरिफ जेमीले नेपालप्रेसकर्मीसँग इमेल कुराकानी गरेका छन् । र, हिप्पीको ट्रेलको विश्व लहरो र नेपाल साइनो बारेमा खुलेर बोलेका छन् ।
– तपाईंहरुले हिप्पी ट्रेलको बारेमा किताब लेख्नुभएको छ, तर हिप्पी नभएर हिप्पी ट्रेल भन्नुभएको छ । यसो गर्नुको कारण ?
हिप्पी शब्द आफैंमा विवादित थियो । सन् १९६७ देखि १९६८ सम्म यो छोटो समयमा मात्रै लोकप्रिय थियो । त्यसपछिका समयमा यसलाई पटकपटक दुत्कारिएको थियो । हामीले अन्तर्वार्ता लिएकाहरुसँग सन् १९६० र १९७० को दशकका तपाईंलाई के भन्दा होला भनेर सोध्दा उनीहरुले प्रतिवादी सांस्कृतिक विद्रोहीहरुले हिप्पीलाई कृत्रिम शब्द मानेको पाइयो भने कसैले यसलाई ज्यादै विद्रोही मानिएको पाइयो । यात्रु चैँ धेरैले स्वीकार गरेको र तटस्थ शब्द लाग्यो । हामीले हिप्पी ट्रेलर प्रयोग गर्नुको कारण चैँ विविधताको लागि हो ।
– तपाईंहरुले लेखेको किताबमा ५६ पुरुष र २४ जना महिलासँग कुरा गर्नुभएको छ । उनीहरु अमेरिका, बेलायत र जर्मनीलगायतका देशका छन् । के एसियाली हिप्पीहरु थिएनन् ?
म तपाईंलाई सच्याउँछु । मलाई थाहा छ, यो बुझ्न गाह्रो छ । हामीले मुखामुख गरेर ३४ जनासँग अन्तर्वार्ता लियौं । बाँकी ११ जनासँग हामीले इमेल र प्रश्नहरुबाट सम्पर्क गर्यौं । त्यसपछि हामीले ३५ अरु विभिन्न ट्रेलमा सान्दर्भिक हुने खालका पुस्तक तथा वेब सिरिजहरु लियौं । जुन कुरा किताबको दोस्रो पेजमै छ ।
तपाईंको एसियाली यात्रुको बारेको प्रश्न रोचक छ । हिप्पी ट्रेलमा यात्रा गर्नेहरुले धेरै विरानो परदेशी भूमिमा यात्रा गरिरहेका थिए । उनीहरुको एसियालीसँग मित्रवत सम्पर्क हुन्थ्यो । उनीहरुले तिनसँग आध्यात्मिकता, लागुऔषध सेवन र सुविधाजनक यात्राको बारेमा जानकारी लेनदेन गर्न सक्थे, तर पनि कुनै पनि एसियालीलाई एसिया त्यस्तो विरानो विदेशी भूमि लाग्दैनथ्यो । त्यसैले कुनै पनि एसियालीले हिप्पी ट्रेलमा यात्रा गरेनन् ।
सायद त्यहाँ एसियाली हिप्पीहरु हुन सक्थे, तर उनीहरुले एसियाली हिप्पी टे«ल पत्ता लगाउन सकेनन् ।
– पाँच खण्डमा बाँडिएको किताबमा सुरु र अन्तिममा लेखकका धारणा छन् । यो समग्र किताब लेखन प्रक्रिया कस्तो भयो र यसबाट विश्व यात्रा गर्नुका अनुभव कस्ता रहे ?
यो धेरै रोमाञ्चक थियो । मुख्य चुनौती पुस्तकको पेज २ मा लेखिएअनुुसार अनौपचारिक अभियानको बारेमा कसरी इतिहास लेख्ने ? त्यो अभियान जुन हुन चैं साँच्चिकै भएको थियो । यो विषयको इतिहास लेख्ने पहिलो हुनुको नाताले धेरै रोचक भयो । अरुले स्मृति लेखे, केही आख्यान लेखे, तर यो हाम्रो किताब चैँ हिप्पीको इतिहासको बारेमा लेखिएको प्रथम किताब हो ।
हामीले किताबको पाँच अध्यायबारेमा धेरै लामो सोच्यौं । यो उत्कृष्ट छैन । हामी र हामीसँग भएको सरसामानहरुको सम्झौता थियो यो, तर पनि यो हामीले गर्न सक्नेसम्मको उत्कृष्ट हो ।
– धेरैले हिप्पीलाई लागुऔषधसँग जोड्ने गर्छन्, तर तपाईंहरुले गरेको खोजमा त २५ प्रतिशतले मात्रै लागुऔषध लिने देखिएको छ । किन यस्तो फरक ?
माफी चाहें । म फेरि तपाईंलाई सच्याउन चाहन्छु । किताबको पेज ४ मा हामीले ट्रेलमा जानेहरुको प्रेरणाको अनुमान गरेको हो । त्यो अभ्यासको होइन । हामीले कुरा गरेकाहरुमा आधाको त कुनै खास प्रेरणा नै थिएन । मात्रै साहसिकपनाको अनुभवको अमूर्त चाहना थियो । यो अनौठो होइन । हामीले तीर्थाटनबारेको खोज हेर्यौं । त्यहाँ पनि त्यही चलन देखियो । सायद यात्राका कारणहरु बडो जटिल थिए, बडो अमूर्त थिए, बडो व्यक्तिगत थिए । बाँकी आधाका पनि आधाको अध्यात्म थियो । बाँकीको लागुऔषध थियो ।
– केहीलाई हिप्पी ट्रेलर्स जोड्नेमा पर्थे, कसैलाई भने तोड्नेमा । सन् १९६० र १९७० को समकालीन विश्वका पूर्व र पश्चिमलाई जोड्नमा हिप्पी ट्रेलरहरुको योगदान कस्तो थियो ?
एक ज्यादै ठूलो प्रश्न । सायद त्यसका दुई नतिजा थिए । एक- हिप्पी ट्रेल कठिन, एक्लो र भिक्टोरियन अन्वेषकहरुको साम्राज्यवादी यात्राको इतिहासको एक महत्वपूर्ण अध्याय थियो । हिप्पी ट्रेलरहरुले विश्वमा खुला गरे । उनीहरुले बेलायत, फ्रान्स, भारत र नेपालका जनतालाई उनीहरुका केही कुरा समान छन् भन्ने भावना जागृत गर्न योगदान गरे । अर्को शब्दमा भन्दा एकै पृथ्वीका बासिन्दा भएको अपनत्व त्यसले दियो । साम्राज्यवादी जमाना तथा व्यवसायिक पर्यटनका भन्दा भिन्न खालका यात्रालाई उनीहरुले विकास गरे ।
दुई- हिप्पी ट्रेल पूर्वीय धर्महरुमा पश्चिमाहरुको रुचि भएको अभिव्यक्ति थियो । खासगरी बौद्ध धर्मका अभ्यासमा धेरैको ध्यान तानियो । यही युगमा पश्चिममा बौद्धमार्गको संस्थागत विकासको आधार बन्यो । अरु अभ्यासहरुको पनि यही समयमा नोट गरिएको थियो, खोज गरिएको थियो । जस्तैः योग, सुफिवाद र ध्यान ।
– तपाईंले किताबमा बौद्ध धर्म उत्तरी भारतमा जन्मिएको भन्नुभएको छ । खासमा बुद्ध नेपालको कपिलवस्तुमा जन्मिएका थिए, जुन अहिलेको लुम्बिनी प्रदेशमा पर्छ । तपाईंले नेपालको धेरै कुरा लेख्नुभएको छैन, तर हिप्पी ट्रेलरहरुले नेपाललाई सांग्रिला र काठमाडौंलाई साम्बाला भनेको पाइएको छ । यो किताबको लागि काम गर्दा हिप्पी टे«लरहरुको नेपालबारेको प्रतिक्रिया के थियो ?
तिब्बतसँगै काठमाडौं हिप्पी ट्रेलरहरुको अन्तिम गन्तव्यको रुपमा हेरिन्थ्यो । सायद यात्रुले कल्पेको सबैभन्दा अचम्मको र धेरै दूरदराजको गन्तव्य यही थियो । यति हुँदाहुँदै धेरै यात्रु नेपाल पुग्नै पाएनन् । उनीहरु अफगानिस्तान वा भारतसम्म मात्रै पुगे । सन् १९६० र १९७० को दशकमा काठमाडौंमा हिप्पी ट्रेलर्सको स्थायी आवास थियो । त्यो ठाउँलाई क्याट स्टेभेन्सको एक गीतमा पनि उल्लेख गरिएको छ । जो जो काठमाडौंमा बसे, तिनले काठमाडौंलाई अध्यात्मको केन्द्र मानेर सम्झिएका छन् ।
– तपाईं र ब्रिआर आयरल्याण्ड मिलेर यो किताब बेलायतको नामी मेनचेस्टर विश्वविद्यालयको प्रकाशनबाट छपाउनु भएको छ । संयुक्त रुपमा किताब लेख्दाका सहजता वा असहजतालाई कसरी लिनुभएको छ ?
ब्रिआन र मेलै एकअर्कालाई चिनेको किताब लेख्नुभन्दा १० वर्षअगाडि हो । हाम्रो लेखनशैली तथा खोजको रुचि फरक थियो । हामीले एकअर्कालाई परिपूर्ति गर्ने देख्यौं । हामीले लेखनमा खासै धेरै विमति पाएनौं । जुन एक-अर्कालाई सकारात्मक ऊर्जा थियो ।
मेनचेस्टर विश्वविद्यालय सहयोगी र खुला दिमागको थियो । परम्परागत शैक्षिक लेखन नभए तापनि उनीहरुले हाम्रो लेखनको थिमलाई विश्वास गरे । र, उनीहरुले हामीलाई २२ फोटो फिचरको लागि निम्तो गरे ।
कुनै पनि प्रकाशन गृहलाई पाठक भेटेर प्रतिक्रिया पाउनु र सल्लाह लिनु राम्रो अभ्यास हो । यो प्रक्रिया धेरै गाह्रो र झन्झटिलो थिएन ।