अध्यादेशबाट एमाले फुटाउने प्रचण्ड-माधवलाई अहिले विरोध गर्ने नैतिक अधिकार छैन : विष्णु रिजाल – Nepal Press

अध्यादेशबाट एमाले फुटाउने प्रचण्ड-माधवलाई अहिले विरोध गर्ने नैतिक अधिकार छैन : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले विवादास्पद व्यापारीको घरमा बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजै नमानी एमाले विरुद्ध लाञ्छना लगाएको बताएका छन् ।

सोमबार पाँच विपक्षी दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको ज्ञापनपत्रका दुई वटा बुँदा पढ्दा आफूलाई रमाइलो लागेको रिजालले उल्लेख गरेका छन् ।

‘वर्षौँदेखि कालोसूचीका विवादास्पद व्यापारीको घरमा बस्ने, अनेक व्यापारीसँग कारोबारमा जोडिने र आफ्नो वैवाहिक वर्षगाँठसमेत व्यापारीकै घरमा मनाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयमले कत्ति पनि अप्ठेरो नमानी पहिलो नम्बरमै हस्ताक्षर गरेर नेकपा (एमाले) ले खुल्ला र पारदर्शी रूपमा आफ्ना शुभेच्छुक व्यवसायीबाट जग्गा प्राप्त गरेको कुरालाई गैरकानुनी र सुशासनको उपहास देख्नुभएछ, हिम्मत भए त्यो ज्ञापनपत्र बुझाउन जानुभन्दा पहिला खुमलटारस्थित आफूले हक भोग गरिरहेको, शारदाप्रसाद अधिकारीको भनिएको घर छाडेको भए हुन्थ्यो नि’, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आफ्नो पहलमा अध्यादेश ल्याएर एमाले फुटाउने प्रचण्डले वर्तमान सरकाले अध्यादेश ल्याएर निरङ्कुशता लाद्न खोजेको आरोप लगाउनु अर्को लज्जाको विषय भएको रिजालले उल्लेख गरेका छन् ।

‘आफ्नै पहलमा अध्यादेश ल्याएर तीन वर्षअघि नेकपा (एमाले) विभाजन गर्ने र त्यही अध्यादेशबाट लाभ प्राप्त गरेका पार्टीले चाहिँ अध्यादेश ल्याएर वर्तमान सरकारले सरकार टिकाउन र दुई दलीय तानासाही लाद्न खोजेको आरोप लगाउनु पनि अर्को रोचक पक्ष छ’, उहाँले लेखेका छन् ।

अध्यादेश आउने र नआउने ठेगान नभए पनि कम्तीमा माओवादी र एकीकृत समाजवादीले त्यसको विरोध गर्ने नैतिक हैसियत नराख्ने उनले स्पष्ट पारेका छन् ।

‘अध्यादेश आउँछ आउँदैन, थाहा छैन तर, यदि आएछ भने पनि कम्तीमा तीन वर्षअघि अध्यादेश ल्याउन निर्णायक भूमिका खेल्ने नेकपा (माओवादी केन्द्र) र अध्यादेशका भरमा जन्मिएको नेकपा (एकीकृत समाजवादी) ले चाहिँ नैतिक रूपमा पनि त्यसको विरोध गर्न मिल्दैन, मिल्दै मिल्दैन’, रिजालले लेखेका छन् ।

सत्ता साझेदार दल बिच सहमति नभई कुनै निर्णय नहुने पनि उनले स्पष्ट पारेका छन् । ‘ढुक्क भए हुन्छ, सत्ता साझेदार दलबिच सहमति नभई कुनै निर्णय हुँदैन, यदि सहमति भएछ भने कुनै ज्ञापनपत्र, रोइकराई, हारगुहार र गालीगलौजले त्यो रोकिने वाला छैन’, उनले लेखेका छन् ।


प्रतिक्रिया

One thought on “अध्यादेशबाट एमाले फुटाउने प्रचण्ड-माधवलाई अहिले विरोध गर्ने नैतिक अधिकार छैन : विष्णु रिजाल

  1. अध्यादेशको विरोध गर्ने अधिकार माओवादी र माकुने मात्र नभएर काँग्रेस नामको लुटेराहरूको पार्टीलाई पनि छैन । अध्यादेश अलिकति ढिलै ल्याए पनि हुन्छ । एमालेलाई घात गरेर पार्टी फुटाउनेहरूलाई अहिले बेहाल बनाएर तडपाउनु नै पर्छ । अहिले एस भन्ने पार्टी बिघटनको संघार मै छ । तिनलाई सजिलै भित्र्याएर फेरि विभाजनको खेती शुरू गर्न नदिईहाल्ने कि ? किनकी ती परिचालित भै हाल्नेहरू हुन् । दक्षिणले मजाले खेलाउँछ । जस्तै बामदेव ।बामदेवले गरेका दुई महत्वपूर्ण काम भनेको १) २०५४ मा पार्टी विभाजन र २) २०७८ मा पार्टी विभाजन । अब ८४ मा विभाजन गर्न नभित्र्याउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर