रुपन्देहीमा छविको बयान जारी, रविलाई पनि ल्याउने तयारी – Nepal Press

रुपन्देहीमा छविको बयान जारी, रविलाई पनि ल्याउने तयारी

सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा बाहिर बचतकर्ताको नाराबाजी

रुपन्देही । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटर्वकका तत्कालीन उपाध्यक्ष छविलाल बन्जाडे (जोशी) को रुपन्देहीमा बयान सुरू भएको छ । अनुसन्धानमा रहेका छविलाई प्रहरीले हिजो पोखराबाट जहाजमा भैरहवा ल्याइएको थियो ।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले अहिले छविको बयान लिइरहेका छन् ।

भित्र छविको बयान चलिरहँदा सहकारी पीडितहरूले बचत फिर्ताको माग राख्दै नारावाजी गरिरहेका छन् ।

उनीहरुले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीवी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन् । बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् ।

संसदीय छानबिन विशेष समितिले कारवाही सिफारिस गरेपछि असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । जोशीलाई बयान सकिएपछि पुनः पोखरा नै फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।

रुपन्देहीमा छविलाल प्रहरी प्रमुख भएर लामो समय बसेका थिए । अहिले पनि यहाँ रहेको दुई क्यासिनोमा उनको लगानी रहेको व्यवसायीहरू बताउँछन् ।

पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम गएको देखिएकाले छविलाई जस्तै पोखरामा रहेका रविलाई पनि रुपन्देही ल्याइने प्रहरी स्रोतले बतायो ।

रुपन्देहीका सुप्रिम सहकारी पीडित संघर्ष समिति नै बनाएर निरन्तर आन्दोलनमा छन् । समितिका संयोजक विजय नेपालले आफूहरूले न्याय नपाउँदासम्म आन्दोलन नरोक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *