कृषिमन्त्रीलाई किसानकाे प्रश्न- सरकारले भारतबाट दूध आयातको स्वीकृति दिन लागेको हो ? (भिडिओ) – Nepal Press

कृषिमन्त्रीलाई किसानकाे प्रश्न- सरकारले भारतबाट दूध आयातको स्वीकृति दिन लागेको हो ? (भिडिओ)

चितवन । सरकारले भारतबाट दूध आयात खोल्न लागेको खबर सार्वजनिक भएको भन्दै किसानहरुले कृषि मन्त्रीसँग मन्त्रीसँग दूध आयात स्वीकृति नदिन अनुरोध गरेका छन् ।

चितवनका दुग्ध किसानहरुले नेपालमा नै दूधको उत्पादन पर्याप्त मात्रामा भएको दाबी गर्दै भारतबाट दूध आयात हुन नदिन अनुरोध गरेका हुन् । कृषि मन्त्री नेपाल नभएको अवस्थामा दूध आयात खोल्न लागेको भन्दै समाचार सार्वजनिक भएपछि उनीहरुले आक्रोश जनाएका थिए ।

चितवनमा मात्रै दैनिक साढे ३ लाख ५० हजार लीटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । यहाँबाट दैनिक एक लाख ५१ हजार लीटर दूध नेपालकै विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने- चितवनले मात्रै दूध बिक्रीबाट एक करोड रकम दिनकै भित्र्याउँछौँ । अब दूध उत्पादन बढ्ने समय पनि आइरहेको छ । दूधको आयात बाहिरबाट गर्ने अवस्था आयो भने दुग्ध किसान मर्छन् ।

उनले किसानको दूधको बक्यौता सरकारले विस्तारै भुक्तानी दिन थालेकोमा खुसी जनाउँदै दूध आयात रोक्न पनि अनुरोध गरेका थिए । त्यसैगरि नेपाल किसान महासंघ चितवनका अध्यक्ष निलकण्ठ रिजालले पनि मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै दुग्ध किसानको रकम भुक्तानी र आन्तरिक बजार सुनिश्चित गर्न अनुरोध गरेका थिए ।

दुग्ध किसानसहित अन्य किसानका कुरा सुनेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आफूले भारतबाट दूध निर्यात गर्ने भन्ने कुराबारे केही जानकारी नपाएको दाबी गरेका छन् ।

‘मैले पनि पत्रिकामा समाचार देखेर भारतबाट दुध आयात गर्ने भन्ने सुनेको हो’, मन्त्री अधिकारीले किसानहरुका जिज्ञासाको जवाफ दिँदै भने, ‘म हिजो अस्ति बेलुकी रोमबाट आएको हो । हिजो बिहान बिरामी भेट्न गएँ, पशुपति गएँ । त्यसपछि मन्त्रालयको टेबुलमा आएको पत्रिकामा समाचार देखेँ । प्रधानमन्त्रीलाई भेटेँ । उहाँले समाचार कहाँबाट आयो जानकारी छैन भन्नुभो । यो मूलुकको कृषिमन्त्रीको जिम्मेवारी निभाएको मान्छे म हुँ । मलाई जानकारी छैन । मैले सम्हालेको मन्त्रालयको तर्फबाट त्यो कमजोरी हुँदैन ।’

उनले दुग्धसहित तरकारी, माछा, मौरी लगायतका किसानको समस्या पनि आफूले समाधान गर्न जिम्मेवार भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर