भारतमा एक हप्ताभित्र १०० वटा उडानमा बमका धम्की, अधिकांश ‘फेक’ – Nepal Press

भारतमा एक हप्ताभित्र १०० वटा उडानमा बमका धम्की, अधिकांश ‘फेक’

काठमाडौं । जहाजभित्र बम रहेको झुट्टा हल्ला र धम्कीले भारतीय विमान कम्पनीहरु आक्रान्त छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो एक हप्ताभित्र मात्रै एक सयभन्दा बढी धम्की खेप्नु परेको छ ।

धम्की आएकामध्ये धेरैजसो असत्य हुने गरेको पाइएको हिन्दुस्तान टाइस्सले जनाएको छ । गत आइतबार मात्र एक दिनमा इन्डिगो एयर, अकाशा एयर र भिस्तारा एयरका जहाजहरुलाई लिएर २० वटा धम्की आएका थिए । यसले गर्दा विमान कम्पनीहरुले ठूलो आर्थिक क्षति पनि व्यहोर्नु परेको समाचारमा उल्लेख छ ।

भारतका नागरिक उड्डयन मन्त्री के राममोहन नाइडुले विमान कम्पनीहरुमा धम्की बढेपछि कानून नै संशोधन गर्न लागिएको बताएका छन् । नाइडुका अनुसार दोषीलाई ‘नो फ्लाइ लिस्ट’ मा राख्ने गरी कानून संशाेधन गर्न लागिएको हो ।

उनले भने, ‘हामीले यस्तो झूटो धम्की दिने काममा संलग्नलाई नो फ्लाइट लिस्टमा राख्ने गरी कानूनी परिमार्जन गर्ने योजना बनाएका छौं ।’

गत शुक्रबार दिल्लीबाट लन्डनका लागि उडेको भिस्तारा एयरको बिमानमा बम रहेको धम्की आएपछि उक्त विमानलाई डाइभर्ट गरी जर्मनीको फ्र्यांकफर्ट पुर्याउनु परेको थियो ।

बमको धम्कीका कारण विमानस्थलहरु र विमान कम्पनीलाई हैरानी बढिरहेको छ । अक्टोबर १४ मा मुम्बइबाट न्यूयोर्कको जोनअफ केनेडी विमानस्थलका लागि उडेको एउटा ७७७ बोइङ टेकअफ लगत्तै बमको धम्की आयो ।

२०० यात्रु र करिब १३० टन इन्धन बोकेको सो बिमानको १०० टन इन्धन डम्प गरेर सुरक्षित अवतरण गर्नुपरेको थियो । यसबाट बिमानलाई इन्धनवापत मात्रै १ लाख २० हजार डलर क्षति भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *