साम्बा ‘दर्शक’ बनेको खेलमा माल्दिभ्सविरुद्ध ५ गोल गरेकी रेखा – Nepal Press

साम्बा ‘दर्शक’ बनेको खेलमा माल्दिभ्सविरुद्ध ५ गोल गरेकी रेखा

काठमाडौं । साउदी अरबको जेद्दामा ८ महिनाअघि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग खेल्दै थियो । फ्रान्सेली क्लब गुइनगेम्पले बोलाएका कारण सावित्रा भण्डारी साम्बा सेमिफाइनलपछि टोलीलाई छाडेर व्यवसायिक फुटबलमा फर्किइन् ।

त्यतिबेलासम्म साम्बाले वाफ च्याम्पियनसिपमा सर्वाधिक १२ गोल गरेकी थिइन् । साम्बावनिा जोर्डनसँग उत्रिएको नेपालले खेललाई टाइब्रेकरसम्म पुर्‍यायो । निर्धारित समयमा नेपालले २ गोल गर्‍याे, तर त्यसले उपाधि निश्चित गरेन । अन्तिम समयमा २ गोल गर्दै जोर्डनले अग्रता लिएको थियो । इन्जुरी समयमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पुर्‍याएको थियो । टाइब्रेकरमा नेपाल चुक्यो र फेरि चुक्यो पहिलो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न । सायद उक्त खेलमा साम्बा उपलब्ध भएको भए नतिजा अर्कै हुन सक्थ्यो ।

नेपालले अहिले घरेलु मैदानमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप खेलिरहेको छ । यो त्यही प्रतियोगिता हो, जसका हालसम्म आयोजना भएका ६ संस्करणमध्ये ५ वटामा नेपाल फाइनलसम्म पुगेको छ । सन् २०१६ मा आयोजना भएको संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

२ वर्षअघि घरेलु मैदानमा आयोजना भएको पछिल्लो संस्करणमा सर्वाधिक ५ पटकको विजेता भारत सेमिफाइनलबाटै बाहिरिएकाले नेपालले उपाधि खडेरी तोड्ने अनुमान गरिएको थियो, त्यसमा पनि भारतलाई हराउने टोली नेपाल नै थियो, तर बंगलादेशसँग भएको फाइनलमा घरेलु टोली ३-१ गोलले पराजित भयो ।

यस पटक भुटानसँग पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएपछि नेपाली टोलीको चर्को आलोचना भयो । भुटानसँग यसअघि नेपाल बराबरीमा रोकिएको थिएन । साम्बा क्लबको खेलका कारण टोलीमा उपलब्ध थिइनन् । अर्की स्ट्राइकर रेखा पौडेललाई पनि सुरुवाती टोलीमा राखिएको थिएन । अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको भुटानले नेपालसामु सुधारिएको खेल खेल्यो । नेपाली टोली फिनिसिङमा पनि चुक्यो, तर दोस्रो खेलमा सोमबार नेपालले माल्दिभ्सलाई ११-० गोलले हरायो ।

माल्दिभ्स तुलानात्मक रुपमा कमजोर टोली हो । यसअघि यो प्रतियोगितामा माल्दिभ्स एक पटकमात्र सन् २०१६ को संस्करणमा सेमिफाइनल पुगेको थियो । माल्दिभ्सविरुद्ध रेखाले ५ र प्रीति राईले ३ गोल गरे । फ्रान्सबाट नेपाल आइपुगेकी साम्बालाई वैकल्पिक खेलाडीको सूचीमा राखिए पनि प्रशिक्षक राजेन्द्र तामाङले उनलाई मैदान उतार्नु परेन । थकानका कारण साम्बाकै आग्रहमा उनलाई सुरुवाती ११ मा समावेश गरिएको थिएन । उनले बेन्चबाट रेखासहित नेपाली टोलीको प्रदर्शन नियालिन् ।

साम्बा नेपाली महिला फुटबल टोलीकी सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । उनले नेपाली टोलीबाट ५३ सिनियर अन्तर्राष्ट्रिय गोल गरेकी छन् । उनी दक्षिण एसियाली राष्ट्रमध्ये नै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन् । साफ च्याम्पियनसिपमा उनले सन् २०१६ संस्करणमा मात्र १२ गोल गरेकी थिइन् । त्यही संस्करणमा नेपालले माल्दिभ्सलाई ९-० गोलले हराउँदा साम्बाले ५ गोल गरेकी थिइन् । एक दशकयता सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेकी साम्बा इजरायल हुँदै हाल फ्रान्सको पहिलो डिभिजन लिग खेलिरहेकी छन् । उनी युरोपका घरेलु लिग फुटबल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । त्यसअघि उनी नियमित भारतको महिला लिग खेलिरहेकी थिइन् ।

सोमबार माल्दिभ्सविरुद्ध ५ गोल गरेकी रेखा यतिबेला सावित्राकै सफलतालाई पछ्याइरहेकी छन् । ५ वर्षयता सिनियर राष्ट्रिय टोलीमा रहेकी उनी भारतको लिग हुँदै अहिले एएफसी महिला च्याम्पियन्स लिग खेलिरहेकी छन् । यूएईको आबुधावी कन्ट्री क्लबले उनलाई आबद्ध गरेको थियो । उनकै निर्णायक गोलमा साउदी अरबको अल नासरलाई हराएर आबुधावी कन्ट्री यतिबेला एएफसी महिला च्याम्पियन्स लिग खेलिरहेको छ । रेखाले सिनियर राष्ट्रिय टोलीका लागि १९ खेल खेल्दै ९ गोल गरेकी छन् । उनी एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

सिनियर राष्ट्रिय टोलीमा उनी दिनानुदिन परिपक्व हुँदैछिन् । यू-१८ र यू-१९ राष्ट्रिय टोली हुँदै सिनियर राष्ट्रिय टोलीमा पुगेकी रेखाले सन् २०१९ मा आयोजित साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध गोल गरेकी थिइन् । त्यस वर्ष उनी विराटनगरले प्रथम उपमेयर कप महिला फुटबलको उपाधि जित्दा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । गत वाफ च्याम्पियनसिपको समूहगत चरणमा पनि उनले सिरिया र प्यालेस्टाइनविरुद्ध गोल गरेकी थिइन् ।

नेपालले जारी साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको तेस्रो तथा अन्तिम खेल श्रीलंकासँग खेल्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई १-० गोलले पराजित गरेको श्रीलंका सोमबार भुटानसँग ४-१ गोलले पराजित भएको थियो । श्रीलंका यसअघि तीन पटक साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुगेको टोली हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *