‘पूर्णबहादुरकाे सारङ्गी’को प्रचारमा एक्लै हिँडिरहेका विजय बराल, प्रकाश सपूत किन छैनन् ? – Nepal Press

‘पूर्णबहादुरकाे सारङ्गी’को प्रचारमा एक्लै हिँडिरहेका विजय बराल, प्रकाश सपूत किन छैनन् ?

काठमाडौं । आउँदो कात्तिक १५ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को टीम अहिले प्रचारप्रसारका क्रममा मोफसलमा छ । पूर्वी नेपाल हुँदै अहिले प्रचार टीम पश्चिम नेपालको यात्रामा छ । प्रचार टीममा कलाकारहरु विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, गायक प्रशान्त शिवाकोटी, सारङ्गीवादक विराज गन्धर्वलगायत छन्, तर मुख्यमध्येको एक कलाकार प्रकाश सपूत भने प्रचारप्रसारमा देखिएका छैनन् ।

निर्मातासँगको खटपटका कारण प्रचारमा ननिस्किएका सपूत व्यस्तताका कारण प्रचारप्रसारमा नआएको बरालको भनाइ छ । साथै पोखराबाट सपूत प्रचारमा जोडिने पनि बताए, तर पूर्व-पश्चिम सबै भ्याइसकेपछि अन्तिममा जोडिएर त्यसको अर्थ छ त भन्ने प्रश्नमा बरालले भने, ‘त्यसपछि काठमाडौंमा पनि प्रचारका काम छन् नि !’

सपूतको अभाव खड्किएको छैन ? बराल सुनाउँछन्, ‘उहाँ नहुँदा कस्तो कस्तो लाग्छ नि ! टीम सँगै होस् भन्ने लाग्छ ।’

बराल अहिले प्रचारप्रसारमा ‘कबड्डी’ चलचित्रको चर्चित पात्र बिकेले लेखेको चिठी दर्शकलाई सुनाउँदै हिँडिरहेका छन् । कतै ‘जारी’ चलचित्रको मंगलसिह बनेर ‘आफैं बल गरौं है’ भन्दै हिँडिरहेका छन् । यद्यपि दर्शकले बिकेलाई अत्यधिक रुचाएको बरालको अनुभव छ ।

बिके यसरी लोकप्रिय हुनुमा कबड्डीका चार श्रृंखला आठ वर्षसम्म नियमित आउनु पनि रहेको बरालको बुझाइ छ । ‘साथै म पनि यही समाजको मान्छे हुँ, मलाई फरक नजरियाले हेर्नुपर्दैन भन्ने मानसिकता लिएर हिँडेको चरित्र हो बिके’, बराल सुनाउँछन्, ‘भाग एकदेखि चारसम्म पुग्दा मुखिनीले घरभित्र छिर्न दिएकी छे । बिकेले समाजको परिवर्तन पनि देखाइरहेको छ, त्यसैले दर्शकले मन पराउनुभएको होला ।’

कहिलेकाहीँ बराललाई बिकेको स्वभाव र आफ्नो स्वभाव पनि मिल्छ जस्तै लाग्छ । बिकेले काजीका लागि आफ्नो सपनालाई लथालिंग छाडिदिन्छ । आफैंलाई बिर्सेर काजीको प्रेम सम्बन्ध सफल बनाउनतिर मात्रै जोड लगाइदिन्छ ।

बराल सुनाउँछन्, ‘साथीले पनि अप्ठ्यारोमा साथ छाडेर गइदिन सक्छ, तर बिकेले छाड्दैन । ऊ साथीका लागि सपना देख्ने पात्र हो, मजस्तै ।’

दर्शकमाझ विजय बराल भन्नासाथ बिके पात्र परिचित छ, तर यस पटक ‘पूर्णबहादुरको सारङ्गी’ले दर्शकको यो बुझाइलाई बदल्ने बरालको विश्वास छ । यसको कारण भनेको आफूले गरेका विभिन्न लेयरका चरित्रहरु रहेको बताउँछन् ।

बरालका अनुसार यस फिल्ममा उनले तीन लेयरको पात्र निभाएका छन् । उमेरकै हिसाबले पनि युवावस्था, अधबैंसे अवस्था र वृद्धावस्था । पूर्णबहादुरको पात्र भावनात्मक र मानसिक रुपले चुनौतीपूर्ण भए पनि आफूले न्याय दिन कोसिस गरेकाले यस पटक दर्शकले फरक स्वाद पाउनसक्ने बरालको विश्वास छ ।

सपूतलाई छोरा पात्र बनाएर बरालले पूर्णबहादुरको भूमिका निभाएका छन् । बराल सुनाउँछन्, ‘उहाँ (सपुत) र मेरो उमेर उस्तैजस्तै हो । त्यही कारण स्क्रिनमा उहाँ छोरा देखिनुहुन्छ कि हुन्न भन्ने थियो, तर जुन तरिकाले उहाँ छोरा बन्नुभयो, अन्त्यमा आउँदा बाउछोराको सुन्दर सम्बन्ध देखियो ।’

साथै सपूतसँग काम गर्न सहज भएको पनि बरालले बताए । उनले घुमाउरो भाषामा भने, ‘अरुका लागि थाहा छैन, मेरा लागि सहज भयो । उहाँ बाहिर कस्तो हुनुहुन्छ, म त्यता हेर्दिनँ, तर अभिनयमा उहाँको सरलता छ । त्यो भएर मलाई राम्रो लागेको हो ।’

अनि सपूतविना प्रमोसनमा हिँड्दा कस्तो लागिरहेछ ? बरालले भने, ‘सँगै भएको भए कस्तो गजब हुन्थ्यो । फेरि अचेल त यस्तो लाग्छ कि म त साइड रोल खेल्दा खेल्दा साइड नै हो कि जस्तो लाग्न थालिसक्यो । म लिडको रुपमा हुँदा पनि कोही छ भनेर साथ खोजिरहेको छु । मलाई आवश्यकता साथको होइन, कामको हो । खासमा मलाई साथ त्यही बेला चाहिएको थियो, जुनबेला गाह्रो थियो । अब त काम देखिइसकेको छ । अचेल त साथभन्दा काम नै ठूलो हो भन्ने लाग्छ ।’

फिल्मको ट्रेलरमा सपूतलाई कम स्थान दिइनुमा चाहिँ कथालाई सस्पेन्स राख्न भएको बरालको भनाइ छ । बराल भन्छन्, ‘टिजर उहाँबाट सुरु गरिएको छ । चलचित्रमा उहाँको भूमिका ठूलो छ । बच्चाको भूमिका पनि उहाँकै पात्र हो । उहाँले नखेले पनि बच्चा त उहाँकै पात्र हो नि ! अनि सानो बच्चा कमल गन्धर्भले ठूलो इमेज बनाउँछ नि !’

यो फिल्मको कथा पूर्णबहादुरको हो कि कमल गन्धर्वको हो ?

‘कथा त पूर्णबहादुरको हो । सपना पूर्णबहादुरको हो । त्यो सपना पूरा गर्न खोजेको कमल गन्धर्वले हो । बाउ त बाउ नै हो । बाउ सधैं हिरो नै हुन्छ ।’

अहिले सपूत प्रचारप्रसारमा नदेखिनुका कारण निर्मातासँग प्रदर्शन मितिलाई लिएर भएको विवाद पनि हो । यसबारे सपूतले सञ्जालमा स्टाटस नै लेखेर निर्माताले बेइमानी गरेको बताएका थिए । ‘पूर्णबहादुरको सारङ्गी’ सपूतकै चलचित्र ‘वसन्त’पछि मात्रै प्रदर्शन गर्ने सम्झौता भएको थियो । त्यसअघि नै यो चलचित्र प्रदर्शन गर्ने तयारी गरेको भन्दै सपूतले बेमाइनी भएको र यो टीमसँग अब कहिल्यै काम नगर्ने बताएका थिए ।

लगत्तै निर्माता विनोद पौडेलले सपूतसँगै सल्लाह गरेर यस फिल्मको पोस्टर सार्वजनिक गरेको स्पष्टीकरण दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर