ओली सरकार असफल भएको माओवादीको निष्कर्ष, काठमाडौंमा २० हजार कार्यकर्ता उतार्ने दाबी – Nepal Press

ओली सरकार असफल भएको माओवादीको निष्कर्ष, काठमाडौंमा २० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन माओवादी केन्द्रले काठमाडौँमा प्रदर्शन गर्न लागेको पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन् ।

बुधवार प्रेस सेन्टर नेपालका पदाधिकारीहरूसँगको छलफलमा उनले कात्तिक १० गते हुने प्रदर्शनका क्रममा सरकारको सय दिनको उपलब्धि राम्रोसँग थाहा पाउने बताए ।

ओली नेतृत्वको सरकारले सय दिन पुगे लगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ। यस क्रमशः माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाइएको थियो । सरकारलाई ज्ञापन पत्र बुझाए लगत्तै माओवादीको सडक प्रदर्शन गर्न लागेको हो ।

‘सरकार नाङ्गो रूपमा नै दलाल पुँजीपती र दलालको पक्षमा खुलमखुला लाग्यो’ सापकोटाले भने, ‘बिद्युत् प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीन बहादुर गुरुङ सङ १० रोपनी जग्गा र भवन सम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ ।’

गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनीबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा लागेको बताए ।

प्रतिनिधिसभाको दुई ठूला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

उपाध्यक्ष सापकोटाका अनुसार काडमाडौंको भृकुटीमण्डप प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ । प्रदर्शनमा २० हजार बढी नागरिकको सहभागिता रहने उपाध्यक्ष सापकोटाले बताए ।

विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उनले बताए ।

माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न प्रदर्शन गर्न लागिएको सुनाए ।

संविधान र लोकतन्त्रको रक्षा गर्न, दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न पनि प्रदर्शन आवश्यक रहेको छ ।

उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताए ।

‘साना दल फुटाउने र आफ्नो पार्टीमा लगेर सबैभन्दा ठुलो पार्टी बन्ने एमालेको धेय छ । त्यस अन्तरगत दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागेका थिए । तर हाम्रो खबरदारीले प्रतिपक्षी दललाई नचिढ्याउन अन्तिम समयमा मन्तिपरिषदको बैठक नै स्थगित गर्न सरकार बाध्य भयो ।’ उनले भने ।

सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न सबैले जोडबल गर्न आवश्यक रहेको भन्दै उपाध्यक्ष सापकोटाले प्रदर्शनको तयारीमा जुट्न सबैलाई आह्वान गरे ।


प्रतिक्रिया

One thought on “ओली सरकार असफल भएको माओवादीको निष्कर्ष, काठमाडौंमा २० हजार कार्यकर्ता उतार्ने दाबी

  1. पहिले लाख भन्दा कमको कुरा नगर्ने माओवादी २० हजार मा झरेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर