चन्दा उठाएर रामेछापकै ठूलो भलिबल प्रतियोगिता, खेलाडीमा आशा जगाउने नमुनादीपको प्रयास – Nepal Press

चन्दा उठाएर रामेछापकै ठूलो भलिबल प्रतियोगिता, खेलाडीमा आशा जगाउने नमुनादीपको प्रयास

रामेछाप । नमुनादीप युवा क्लबले पालिकास्तरीय खेलको आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष राजन बस्नेतले आगामी कार्तिक ११, १२ र १३ गते दशौं संस्करणको ‘नमुनादीप कप’ भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।

लिखु तामाकोशी गाउँपालिका २ सैपुस्थित अरुणोदय माविको प्रांगणमा हुने प्रतियोगिताका लागि सहभागी टोलीको दर्ता प्रक्रिया जारी रहेको बस्नेतले जानकारी दिए।

प्रतियोगितामा हालसम्म रामेछाप, सिन्धुली, दोलखा र ओखलढुंगा लगायतका स्थानीय तहबाट सहभागी हुने जानकारी प्राप्त भएको क्लबले जनाएको छ। टिम दर्ता कार्तिक १० गतेसम्म गर्न सकिने छ।

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १ लाख १ हजार ५ सय, उपविजेता टोलीले ७५ हजार ५ सय र तेस्रो हुने टोलीले ५० हजार ५ सय प्राप्त गर्नेछन्।

क्लबले प्रतियोगिताका लागि २० लाख खर्च हुने आङ्कलन गरेको छ। प्रतियोगिता सम्पन्न गर्नको लागि क्लबले जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी र शुभेच्छुकबाट सहयोग जुटाइरहेको छ ।

‘खेलकुद क्षेत्र आजको विश्वमा उद्योगको रूपमा समेत विकसित भइरहेको छ। क्लबसँग रकम छैन तर खेलकुद क्षेत्रको अग्रणी जिल्लाको रूपमा चिनाउन र खेलाडीको सीप, क्षमता विकासका लागि चन्दा उठाएर भए पनि प्रतियोगिता गर्न लागेका छौँ।’ अध्यक्ष बस्नेतले भने, ‘यस अगाडि राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गरेका थियौँ तर पालिकास्तरीय गर्दा स्थानीय खेलाडीका लागि थप प्रोत्साहन र कोसेढुंगा साबित हुने विश्वास छ।’

खेलमा पालिकाभित्रका खेलाडी समावेश गरेर स्थानीय तह, संघ/संस्था, क्लबले टिम दर्ता गराउन सक्ने उपाध्यक्ष सुजन पौडेलले जानकारी दिए। ‘हामीले स्थानीय खेलाडीको प्रोत्साहनका लागि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आइरहेका छौँ।’ पौडेलले भने, ‘खेलमा पालिकाभित्रका खेलाडीमात्र समावेश गरेर क्लब/संस्थाले पनि टीम दर्ता गर्न सक्नेछन्।’

क्लबले पालिकास्तरीय प्रतियोगितालाई राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सघाउन पुर्‍याउने विश्वास व्यक्त गरेको छ। क्लबले २०६५ साल यता नियमित रूपमा आयोजना गर्दै आइरहेको नमुनादीप कपको यो दशौं संस्करण हो।

क्लबले भलिबल प्रतियोगिताको साथमा डोरी तान (टग अफ वार) प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने छ। टग अफ वारमा ६ सय केजी समूहसम्मका ९र९ जना खेलाडी रहनेछन्। विजेताले २० हजार नगद र उपविजेता टोलीले १० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी कार्तिक १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने क्लबले जानकारी दिएको छ।

‘लिखु क्षेत्रमा खेल पर्यटन, स्थानीय कला, संस्कृति संरक्षण, कलाकार तथा खेलाडीको प्रतिभाको प्रस्फुटन तथा प्रोत्साहन गर्ने र स्वास्थ्य शिविरमार्फत निःशुल्क उपचार हुने भएकाले कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ’ क्लबद्वारा जारी सूचनामा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर