फ्लाई दुवईको कात्तिक २५ बाट भैरहवामा दैनिक उडान, दुबईमा यसरी गरियो विज्ञापन – Nepal Press

फ्लाई दुवईको कात्तिक २५ बाट भैरहवामा दैनिक उडान, दुबईमा यसरी गरियो विज्ञापन

तीन अन्तर्राष्ट्रिय विमान कम्पनीले नियमित उडान गर्ने भएपनि उत्साहित निजी क्षेत्र

रुपन्देही । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ। जसअनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान हुनेछ।

भैरहवामा मंगलबार फ्लाई दुवईका टोलीसँग छलफल भएपछि टिकट बुकिङ खुलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुबईबाट आएको जहाज दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ। २ः ४५ मा जहाज काठमाडौँ प्रस्थान गर्नेछ। भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो।

यसअघि कुवेतको जजिरा एयरवेजले यहाँबाट उडान गर्नको लागि टिकट बुकिङ खुलाएको छ। नोभेम्बर ९ अर्थात कात्तिक २४ गतेबाट भैरहवामा उडान सुरु गर्ने गरी जजिराले केही दिन अघि टिकट खुल्ला गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै साढे २ वर्षअघि जजिराले भैरहवाबाट उडान थालेको थियो। व्यवसायिक कारण देखाउँदै उसले विचमा उडान रोकेको थियो। सरकारले विभिन्न सहुलियत उपलब्ध गराएपछि जजिराले फेरी भैरहवाबाट उडान सुरु गर्न लागेको हो।

जजिरा एयरवेजमार्फत उडान गर्ने यात्रुले काठमाडौंमा भन्दा भैरहवामा सस्तोमा उडान गर्ने सक्नेछन्। जजिराले आफ्नो वेवसाइटमा लुम्बिनीको फोटोसहित भैरहवा उडानको लागि टिकट खुलेको प्रचार गरेको छ। सो प्रचारात्मक फोटोमा कुवेत–भैरहवाको एकतर्फी भाडादर ३३ कुवेत दिराम रहेको उल्लेख छ।

यो १४ हजार ४८३ नेपाली रुपैयाँ हुन्छ। सोही मितिमा कुवेतबाट काठमाडौं आउन ५० दिराम टिकट दर तोकिएको छ। यो नेपाली रुपैया २१ हजार ९५० हुन आउँछ। जस अनुसार जजिराको जहाजमा काठमाडौँ आउनभन्दा भैरहवा अवतरण गर्न साढे ७ हजार सस्तो पर्ने देखिन्छ।

नेपालबाट कुवेतको जाने टिकट दर वेवसाइटमा अमेरिकी डलरमा उल्लेख छ। कात्र्तिक २४ गते जजिराको जहाजमार्फत भैरहवाबाट कुवेत जान टिकट दर ३९६ अमेरिकी डलर तोकिएको छ। यो ५३ हजार नेपाली रुपैयाँ हुन आउँछ।

सोही मितिमा काठमाडौंबाट कुवेत जान ४१९ देखि ४५० अमेरिकी डलर टिकट तोकिएको छ। यो ५६ हजारदेखि ६० हजार नेपाली रुपैयाँ हो। जसअनुसार भैरहवाबाट कुवेत कुवेत उडान गर्न ३ हजादेखि १० हजार रुपैयाँसम्म कम पर्ने देखिन्छ।

जहाजको टिकट सिजन र यात्रुको चाप अनुसार ह्वात्तै बढ्ने र घट्ने गर्दछ। तर जहाज कम्पनीले सहुलियत पाएका कारण काठमाडौंभन्दा भैरहवाबाट उडान गर्दा यात्रुहरुले पनि केही सस्तोमा उडान गर्न पाउँछन्।

भैरहवाबाट उडान गर्ने जहाजलाई ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डीङ, पार्किङ निःशुल्क छ। त्यस्तै टिकट कर र इन्धनमा समेत सहुलियत पाएका छन्। पर्यटन व्यवसायी तथा सोट्टो लुम्बिनीका पूर्वअध्यक्ष सञ्जय बजिमयले भैरहवाबाट उडान गर्ने यात्रुको लागि टिकट दर अझै सस्तो हुनुपर्ने बताए।

‘कुवेतको सिधा उडानमा त सहुलियत देखिन्छ। कतार, दोहा लगायतका ठाउँबाट कुवेत हुँदै आउने जानेहरुको लागि पनि टिकट दर कम हुनुपर्छ। जहाज कम्पनीहरुले भाडा घटाउलान भन्ने आशा छ’ उनले भने ।

फ्लाई दुबई, जजिरासँगै एयर थाइ एशियाले पनि भैरहवाबाट उडानको अनुमति लिइसकेका छन्। ती कम्पनीको प्राविधिक टोली उडानको तयारी स्वरुप भैरहवा आएर स्थलगत अनुगमन गरेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। यहाँबाट नेवानिले भने आफ्नो मलेसिया उडान अहिलेसम्म पनि जारी राखेको छ ।

उद्घाटनको साढे २ वर्षसम्म पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुन नसक्दा यहाँका स्थानीय र व्यवसायी निराश थिए। ३ वटा विमान कम्पनीले भैरहवाबाट उडानको लागि अनुमति लिएपछि केही आशा पलाएको पर्यटन व्यवसायी र यहाँका स्थानीयले गरेका छन् ।

आर्थिक र पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षासहित सरकारले ४२ अर्ब लगानीमा निर्माण गरेको विमानस्थल उद्घाटनपछि उडानविहीन जस्तै अवस्थामा थियो । यसमा एसियाली विकास बैंक (एडिबी)ले ऋण उपलब्ध गराएको छ । एडीबीसँग नेपाल सरकारले करिब साढे ७ अर्ब रूपैयाँ ऋण लिएको हो । विसं २०७५ वैशाखदेखि ५ प्रतिशतका दरले ब्याज तिर्न थालिसकिएको छ ।

३२ वर्षमा चुक्ता गर्ने गरी ऋण लिएको र ५ वर्षको अवधिमा ६० करोड मात्र ऋण बैंकलाई भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ । बैंकलाई तिर्नुपर्ने ऋणको ब्याजसमेत अहिले विमानस्थलले कमाउन नसकेकाले यसले आफ्नो खर्च कहिलेसम्म चलाउन सक्छ भन्ने प्रश्न उठिरहेको छ ।

विमानस्थलमा यति लगानी भएपनि यही बराबर निजी क्षेत्रले पनि यो विमानस्थललाई हेरेर लगानी गरेको तर अहिलेसम्मको ढिलाईले सबैलाई निराश बनाएको भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । उनले विमानस्थललाई नियमित रुपमा संचालनका लागि निजी क्षेत्रले धरै प्रयास र आन्दोलन गरेर निरन्तर दवाव दिइरहेको उनले बताए ।

सरकारले भैरहवाबाट उडान गर्ने विमान कम्पनीहरूलाई सम्पूर्ण छुट सुविधा उपलब्ध गराउने निर्णय गरिसकेपछि अहिले तीनवटा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गर्ने भएका हुन् । यो सूचना पाएसँगै अहिलेसम्म निराश भएको निजी क्षेत्रलाई केही खुसी बनाएपनि यसको निरन्तरतामा अझै आशंका गरिरहेका छन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले ढिलै भए पनि तीनवटा अन्तर्राष्ट्रिय विमान उडान गर्न तयार हुनु रुपन्देहीसहित समग्र लुम्बिनी प्रदेशका लागि सुखद् पक्ष भएको तर बिगतमा भएका यस्ता प्रचारले निरन्तरता पाउन नसकेकाले ढुक्कसँग विश्वास गर्न नसकेको बताए । पर्यटन व्यवसायीहरु त्रिभुवन विमानस्थल आउँदो नोभेम्बरबाट मर्मतका लागि १० घण्टा बन्द हुने भएकाले पनि गौतमबुद्ध विमानस्थलमा अबदेखि नियमित उडान हुने आशा राखेको बताउँछन् ।

विमानस्थल ८०० बिगाहा क्षेत्रफलमा फैलिएको तीन किलोमिटरको ‘रनवे’ रहेको फोर ई क्याटोगोरीको विमानस्थलमा ९ औं क्याटोगोरीका वारुणयन्त्रहरू छन् भने विमानस्थलसरह उडान र अवतरण हुन सक्ने चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी ५ वटासम्म अन्तर्राष्ट्रिय विमान पार्किङ गर्नसक्ने क्षमता छ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वभरका बौद्धमार्गीलाई लुम्बिनीमा आर्कषण गरेर विमानस्थल सञ्चालन गर्दा त्यसबाट देशले आर्थिक लाभ लिनसकिने व्यवसायी तथा विज्ञहरुले बताइरहेका छन् । यहाँबाट चीन, भारत, श्रीलंका, थाइल्यान्डजस्ता देशमा सिधा उडान गर्नुपर्ने माग पनि उठिरहेको छ ।

विमान कम्पनीहरुले चासो दिएसँगै नागरिक उड्ययन प्राधिकरणसँगै अन्य सरकारी निकायले पनि अहिले उत्तिकै चासो दिन थालेका छन् । अध्यागमन विभागले पर्यटक तथा वैदेशिक रोजगारमा आउनेरजाने यात्रुका लागि चार वटा कोस्क मेसिन जडान गरिसकेको छ भने ९ वटा शक्तिशाली कम्प्युटर पठाइसकेको जनाएको छ ।

त्यस्तै, भैरहवाबाट वैदेशिक रोजगारीका लागि जाने यात्रुका सम्बन्धमा पनि वैदेशिक रोजगार विभागले पनि आफू पूर्णतः तयारीमा रहेको जनाएको छ । बुटवलमा श्रम कार्यालय छ भने मेडिकल र बीमाका लागि पनि रुपन्देहीमा व्यस्थापनका लागि तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *