‘सहकारी प्रकरण’ बुझाउँदै रास्वपा नेताहरु पोखरेलीका घर-चोकमा – Nepal Press

‘सहकारी प्रकरण’ बुझाउँदै रास्वपा नेताहरु पोखरेलीका घर-चोकमा

आन्दोलन ‘उछृङ्खल’ नबनाउन निर्देशन, नेतृत्वले नै तय गर्यो नारा

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश प्रमुख नेताहरू गत शुक्रबारदेखि पोखरामा केन्द्रित छन् । सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा पुर्‍याएपछि ठूलो पार्टी पङ्क्ति उनलाई साथ दिन त्यहाँ पुगेको हुन् ।

पार्टीका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले लगायत अधिकांश पदाधिकारी पोखरामै भेटिन्छन् । पार्टी सभापतिले सहकारी ठगी गरेका होइनन् भन्नेमा रास्वपाभित्र गजबकै आत्मविश्वास देखिन्छ । नेतृत्वपङ्क्ति एक ढिक्का भएर लामिछानेको बचाउमा उभिएका छन्, चाहे सामाजिक सञ्जालमा जति आलोचना र ट्रोल खेप्नु किन नपरोस् ।

रवि पक्राउ परेको भोलिपल्टैदेखि रास्वपाले दिनहुँ पोखरामा जनप्रदर्शन गरिरहेको छ । यो प्रदर्शनमा भाग लिन काठमाडौंदेखि विभिन्न जिल्लाबाट रास्वपाका नेता–कार्यकर्ताहरू ओइरिएका छन् । पार्टीले पोखरामा आउन आह्वान गरे तापनि खाने–बस्ने प्रबन्ध भने गरेको छैन । उनीहरू आफैँले आफ्नो व्यवस्था मिलाएको रास्वपा गण्डकीका सभापति राजन गौतमले बताए ।

रास्वपाले केही आन्दोलनको प्रचारका लागि युट्यूबरहरु प्रयोग गरेको छ । काठमाडौंबाटै बाक्लो संख्यामा युट्यूबरहरु पोखरा पुगेका छन् । उनीहरूलाई रास्वपाबाटै सबै बन्दोबस्त मिलाइएको दाबी गरिएको छ । हिजो रास्वपाले गरेको पत्रकार सम्मेलनमा मुलधारका पत्रकारलाई उपेक्षा गरेर युट्यूबहरुलाई मात्र बोलाइएको थियो ।

रास्वपाको प्रदर्शनले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । एकथरिले रविमाथि राजनीतिक षडयन्त्र रचिएकाले सडकमा उत्रिनु स्वभाविक भएको बताएका छन् भने अर्काथरिले अदालतमा गइसकेको विषयलाई सडकबाट दबाब दिन नहुने तर्क गरेका छन् । साथै, आन्दोलनमा कतिपय अशिष्ट नाराबजी र क्रियाकलापहरू पनि देखिन्छन् । ‘सरकारको लास’ बनाएर उफ्रिपाफ्री गरेका भिडिओहरुमा अधिकांश नकारात्मक प्रक्रिया आएका छन् ।

रास्वपा कोषाध्यक्ष लिमा अधिकारी भने आन्दोलन शान्तिपूर्ण र सभ्यरुपमा भइरहेको दाबी गर्छिन् ।

उनले भनिन्, ‘आन्दोलन मूलतः शान्तिपूर्ण छ । कहिँकतै अवाञ्छित गतिविधिहरु भएका हुन सक्छन्, तर त्यो पार्टीको नीति अनुसार होइन । कतिपय ठाउँमा घुसपैठ गरेर पनि आन्दोलन भड्काउने प्रयास गरिएको छ ।’

नेताहरुले निरन्तररुपमा अराजक गतिविधि नगर्न कार्यकर्ताहरुलाई सचेत गराइरहेको उनले बताइन् । ‘अब आन्दोलनमा लाग्ने नारासमेत पार्टीको नेतृत्वले तय गरेको छ, त्योभन्दा बाहेक नाराबजी हुनेछैन ।’

रास्वपाको आन्दोलनमा पोखरेली जनताभन्दा पनि बाहिरी जिल्लाका मानिसहरुको बढी उपस्थिति देखिन्छ । सहकारी पीडितको आन्दोलन केन्द्रबिन्दु नै पोखरा भएकाले रास्वपाको आन्दोलनमा पोखरेली जनता सकारात्मक नरहेको आलोचकहरुले दाबी गरेका छन् । पोखरामा मात्रै ७ वटा सहकारी संस्थामा जनताको रकम हिनामिना भएको छ ।

रास्वपा नेताहरू भने यो स्वीकार गर्दैनन् । पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले रवि लामिछानेलाई अन्यायपूर्वक पक्राउ गरिएको विषयमा पोखरेली जनता स्पष्ट रहेको बताए ।

‘हामीले यहाँका स्थानीय जनतासँग पनि कुरा गरिरहेका छौँ । हामीसँग भेट हुने सबैले रवि लामिछानेलाई राजनीतिक प्रतिसोध साँधिएको भनेर दुख व्यक्त गर्नुभएको छ । हाम्रो आन्दोलनमा पोखरेली जनताको ठूलो साथ छ,’ उनले भने ।

रास्वपाले हिजोबाट पोखराका होटल–चोक र घरहरुमा समेत पुगेर जनतालाई सहकारी प्रकरणबारे बुझाउनसमेत सुरु गरेको छ । नेताहरू विभिन्न समूहमा बाँडिएर बिहान–बिहान जनता भेट्न र अन्तरक्रिया गर्न थालेका हुन् । हरेक दिन दिउँसो भने र्‍याली निकाल्ने गरिएको छ, जसमा सबै नेता कार्यकर्ता सहभागी हुन्छन् ।

रवि लामिछानेलाई भोलि अदालतमा म्याद थपका लागि प्रस्तुत गरिँदैछ । रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीले थप केही दिन माग्नेछ । प्रहरीले मागेअनुसार अदालतले म्याद थप्ने निश्चित प्राय छ । भोलिको अवस्था हेरेर रास्वपाले आफ्नो रणनीति बनाउने छ । पार्टीका नेताहरुले जिल्ला प्रहरी कार्यालयको हिरासतमा गएर रविलाई नियमित भेटिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *