‘तेल भीसा’ को नयाँ गीतमा अमेरिका भासिएका कलाकारको घुँइचो – Nepal Press

‘तेल भीसा’ को नयाँ गीतमा अमेरिका भासिएका कलाकारको घुँइचो

काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’ बोलको सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा चलचित्रकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’ मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ । यो गीत अमेरिकामा खिचिएको हो । अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एकनारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । यसअघि यस चलचित्रको ‘तुकुनको मुकुन’ गीत रिलिज गरिएको थियो, जसले राम्रो रेस्पोन्स पाइरहेको छ ।

शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् । उनीहरुसँगै चलचित्रका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा फिचर्ड छन् ।

सिनेमाको गीत रिलिज कार्यक्रममा ऋचाले १० वर्षपछि नेपाली चलचित्रमा काम गर्दा एकदमै उर्जा महसुस भएको सुनाइन् ।

उनी भन्छिन्, ‘चलचित्र नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन । तर, आफूलाई मन परेको काम गर्दा एकदमै उर्जा आउने रहेछ । १० वर्षपछि सिनेमा गर्दा त्यो महसुस गरेकी छु । यस्तो लाग्यो मेरो झुकाव र लगाव सिनेमाप्रति नै रहेछ ।’

‘तेल भिसा’को छायांकनपश्चात नाटक खेल्न अमेरिका पुगेकी अभिनेत्री वर्षा राउत पनि गीत रिलिज कार्यक्रममा उपस्थित थिइन् । उनी अमेरिकामा मञ्चन भइरहेको नाटकको कामलाई केही समयलाई स्थगित गर्दै यो सिनेमाको प्रचार र दशैं तिहार मनाउन नेपाल फर्केकी हुन् ।

भाइटीकाको भोलिपल्टै फेरि अमेरिका उड्ने तयारीमा छिन् । यो हप्ता यही चलचित्रको प्रचारमा व्यस्त हुने तालिका रहेको गीत रिलिज कार्यक्रममा जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *