संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने – Nepal Press

संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई वार्षिक १ अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेको छ ।

फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

अब यस आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।

स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमा समेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको मन्त्रालयले जनाएको छ । अहिले राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब ४ करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । यसैगरी कान्ति बाल अस्पतालमा करिब ३ करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ ।

यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

उनले भने, ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब १ अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं । यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर