आफूलाई ‘साइबर कमान्डर’ प्रमाणित गर्न सन्तोष सेनको दीपकराज र प्रकाश सुवेदीलाई चुनौती – Nepal Press

आफूलाई ‘साइबर कमान्डर’ प्रमाणित गर्न सन्तोष सेनको दीपकराज र प्रकाश सुवेदीलाई चुनौती

‘समीर भट्ट उद्योगमा आउँदा उहाँहरु खुसी हुनुहुन्न’

काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले ‘छक्कापञ्जा ५’ लाई सामाजिक सञ्जालमा गाली गरिनुमा आफ्नो हात नभएको प्रष्टीकरण दिएका छन् । ‘द प्रकाश सुवेदी शो’ मा आफूलाई ‘साइबर सेनाको कमान्डर’ भनिएकोप्रति उनले आपत्ति जनाए ।

फेसबुकमा २५ मिनेट लामो भिडियो सार्वजनिक गर्दै सेनले आफू ‘कमान्डर’ भएको प्रमाणित गर्न चुनौती पनि दिएका छन् । अन्तर्वार्ता सार्वजनिक भएपछि आफूलाई शुभचिन्तकको सयौं म्यासेज आएको भन्दै उनले विनाप्रमाण आरोप नलगाउन आग्रह गरे । उनले जसले सुवेदी र गिरीलाई आफू ‘साइबर कमान्डर’ हो भनेर भने तिनलाई अगाडि उभ्याउन चुनौती पनि दिएका छन् ।

‘प्रकाश दाइले नै मलाई कमान्डर भन्नुभयो । सुरुमा त सामान्य नै लाग्यो, तर मलाई दैनिक सयौं म्यासेज आए । तपाईंहरुले यसरी कसरी आरोप लगाउनुहुन्छ ? हामीलाई बुझाइदिनु प¥यो’, सेनले भने, ‘म नेपाली चलचित्रलाई माया गर्ने मान्छे हो, दिमागबाट होइन, मनबाट बोल्छु ।

उहाँहरुलाई कसले त्यसो भने, त्यो मान्छेलाई खडा गर्नुपर्‍यो । मान्छेलाई त्यसै लाञ्छना लगाएर भएन । मैले कसैलाई गाली गरेर डिप्रेसनमा लान पाउँछ ? त्यस्तो गरेको खण्डमा मलाई जेल हाल्नुपर्छ ।’

सेनले आफूले ‘छक्कापञ्जा ५’लाई पनि ‘१२ गाउँ’ लाई जसरी नै सपोर्ट गरेको दाबी गरे । आफूले पोस्टर पनि सेयर गरेको, तर गिरीले कुनै रियाक्ट नगरेपछि डिलिट गरेको उनको भनाइ छ । यसअघिको ‘छक्कापञ्जा ४’लाई ज्यानै दिएर लागेको पनि उनले बताएका छन् ।

सञ्चारकर्मी प्रकाश सुवेदीसँग दुई दिनअघि अभिनेता दीपकराज गिरीको अन्तर्वार्ता सार्वजनिक भएको थियो । उक्त अन्तर्वार्तामा सुवेदीले सेनको तस्बिर देखाउँदै ‘उहाँलाई कमान्डर भन्दा रहेछन् नि, हो ?’ भनेर गिरीलाई प्रश्न सोधेका थिए । गिरीले आफूले पनि त्यो सुनेको उल्लेख गर्दै भनेका थिए- कमान्डिङ राम्रो छ ।

‘छक्कापन्जा’ टीमले गाली खानुमा सेनको हात रहेको आफूले सुनिरहेको गिरीले बताएका छन्, तर ठोसमा आफूले दाबीका साथ भन्न नैतिकताले नदिने उनको भनाइ छ ।

गिरीले भनेका छन्, ‘मेरो कानमा चाहिँ आएको छ । तँविरुद्ध क्याम्पेनिङ गर्‍यो भन्छन्, तर म सुनेको भरमा दौडिन्नँ । यदि हो भने पनि ठीकै छ नि ! मैले केही गर्न सक्दिनँ, तर म होइन भन्छु । मलाई छक्कापञ्जा ४ मा उहाँले एकदमै नैतिक बल दिनुभएको हो ।’

भिडियोमा बोल्दै सेनले समीर भट्ट फिल्म क्षेत्रमा आउँदा गिरीहरु खुसी नभएको पनि बताए । उनले भने, ‘समीर भट्ट यो क्षेत्रमा आउँदा तपाईंहरु खुसी हुनुहुन्न । दीपकराज गिरीले उद्योग धानेको कुरा पनि बजारमा आएको छ । कोही एक जनाले करोडौं कमाएर धानेको छैन उद्योग । यो उद्योग चलायमान हुनलाई सबैको भूमिका छ ।’

सेनले मनमा तुष बोकेर मीठो बोलेरमात्रै नहुनेसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर