अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, के भन्छ प्रहरी ? – Nepal Press

अपहरणमा परेँ भनेकी महिलाको चाल्नाखेलबाट उद्धार, के भन्छ प्रहरी ?

काठमाडौं । अपहरणमा परेँ भन्दै फोन गरेकी महिलालाई प्रहरीले ललितपुरको चाल्नाखेलबाट उद्धार गरेको छ । कोठामा सामान्य अवस्थामा बसिरहेको अवस्थामा ती महिलाको उद्धार भएको अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले पनि महिलालाई प्रहरी कार्यालय ल्याइरहेको जानकारी दिए ।

‘हामीले ती महिलालाई लैजाने महिलासहितलाई ल्याउँदैछौँ । विस्तृतमा बुझ्न बाँकी छ’, एसएसपी भट्टराईले भने । उद्धारका लागि गएका प्रहरी अधिकारीका अनुसार एक महिलाले आफ्नो पुरुष सहयोगीलाई लिएर कोटेश्वरबाट पठाओमार्फत पीडित भनिएकी महिलालाई आफ्नो कोठामा पुर्याएकी थिइन् ।

‘महिलालाई बन्धक नै बनाएर राखेको अवस्था थिएन’, एक अधिकारीले भने । स्रोतका अनुसार त्यसरी लैजाने महिलाले कुराकानी गर्नु छ भन्दै लगेकी थिइन् । प्रारम्भिक रुपमा लेनदेनको विषयमा विवाद देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित भनिएकी महिलामार्फत चिनेका व्यक्तीले पोर्चुगल लैजान्छु भन्दै २१ लाख रुपैयाँ लिएका थिए । त्यसमध्ये ५ लाख रुपैयाँ उनीहरुले फिर्ता पाएका थिए ।

पोर्चुगल पनि नउडाएको र बाँकी पैसा पनि फिर्ता नगरेको भन्दै बुधबार दिउँसो दुवै महिला कीर्तिपुर प्रहरीकहाँ पुगेका थिए । कीर्तिपुर प्रहरीले वैदेशिक रोजगारको विषय भन्दै वैदेशिक रोजगार विभाग पठाएको थियो ।

तर विभागमा आएका उनिहरुलाई चेक बाउन्स गरेर प्रहरीमा निवेदन दिनु भनिएपछि ती महिलालाई लिएर दुई जना आफ्नो कोठामा पुगेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *