बुटबलको मुख्य बजारमा लाजमर्दाे दृष्य, कसले लेख्यो डिजिटल बोर्डमा अश्लील शब्द ? – Nepal Press

बुटबलको मुख्य बजारमा लाजमर्दाे दृष्य, कसले लेख्यो डिजिटल बोर्डमा अश्लील शब्द ?

रुपन्देही । बुटवलको मुख्य बजार रहेको योगिकुटी बजारमा ठड्याइएका केही डिजिटल बोर्डले अहिले शहरबासीलाई लज्जित बनइरहेको छ । यी ५ वटा डिजिटल बोर्डलाई पालैपालो हेर्दा अश्लील अंग्रेजी शब्द भेटिन्छ ।

लायन्स इन्टरनेशनसँग आवद्ध लायन्स क्लब तिनाउ बुटवलले दशैंतिहारलाई लक्षित गर्दै केही दिनअघि डिजिटल बोर्ड ठड्याएको थियो । यस बोर्डमा सन्देशमुलक शब्दहरू थिए । तर तीन दिन अगाडि डिजिटल बोर्ड ह्याक भएको दाबी गरिएको छ । ह्याकरले अंग्रेजी अक्षरमा ‘फ… अल’ देखिने बनाएका छन् ।

तीन दिनसम्म पनि यसलाई हटाइएको छैन । स्थानीय व्यवसायी लक्ष्मण बन्जाडेले बुधबार रातीसम्म बोर्डमा अश्लिल शब्द यथावत रहिरहेको बताए । यस्तो गर्दा मुख्यबजारमा आउने पर्यटकलाई समेत गलत सन्देश जाने र नयाँ पुस्तालाई पनि असर गर्ने उनको चिन्ता छ ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका वडा नं ११ योगीकुटी चोकमा लायन्स इन्टरनेसनलले यहाँको डिजिटल बोर्ड राख्ने जिम्मेवारी लिएको र अहिले गलत प्रयोग भएको आफूले पनि सुनेको बताए ।

‘यो ठाउँको जिम्मेवारी लायन्स इन्टरनेसनलले लिएको हो, मैले सुनेलगत्तै नगर प्रहरीलाई हटाउन लगाएको छु । यो कसरी भयो जिम्मेवारी लिने क्लबलाई तत्काल कारबाही प्रकृया अघि बढ्छ,’ उनले भने ।

लायन्स क्लब तिनाउ बुटवलका सदस्य चिरनञ्जीवी अधिकारीले आफ्नो क्लबको समन्वयमा बोर्ड राखिएकोमा प्राविधिक समस्या आएको सुनेको र तत्काल समाधानका लागि विकल्प खोजिने बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले यो विषयमा आफूले केही नसुन्नेको र कुनै उजुरी पनि नआएको बताए । मुख्य बजारमा यस्तो भए तत्काल हटाउन सकिने भएपनि कसैले सूचना नदिएको उनले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *