सहकारी पीडितलाई रास्वपाले भन्यो : कांग्रेस-एमालेको भर नपर्नुहोस् – Nepal Press

सहकारी पीडितलाई रास्वपाले भन्यो : कांग्रेस-एमालेको भर नपर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी पीडितलाई एमाले-कांग्रेसको भर नपर्न आग्रह गरेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले कुन बेला कता उभिन्छन् भन्ने ठेगान नभएका दलले पीडितको समस्या समाधान गर्न नसक्ने बताएको हो ।

प्रवक्ता मनिष झाले सहरकारी पीडितको मुकुट ओढेर एमाले कांग्रेसका नेता कार्यकर्ताहरू हिँडिराखेको उल्लेख गर्दै यी दलले समस्या समाधान गरिदिन्छन् भनेर विश्वास नगर्न पीडितहरूलाई आग्रह गरे ।

उनले भने, ‘नेपाली कांग्रेस र एमाले कुन बेला कतातिर उभिनुहुन्छ थाहा नै हुँदैन । अहिले एमाले-कांग्रेस प्रेमीप्रेमिका जसरी हिँडिराछन् कुन दिन पेटी यता उता हिँड्छन् टुंगो छैन उनीहरूको भर छैन । सहकारी पीडितका नेतृत्वकर्तासँग आग्रह उनीहरूले मुद्दा उठाइदिन्छन् भन्ने लाग्छ भने धोखा पाउनुहुन्छ । यो दलले नै समस्या समाधान गरिदेला भने विश्वास गरेर आफ्नो छाताभित्र उभिइदिनुहुन्छ भने त्यसको मूल्य तपाईँहरूले व्यहोर्नुपर्ने छ ।’

उनले राजनीतिक पूर्वाग्रह राखेर नै पार्टी सभापति रवि लामिछानेलाई थुनिएको बताए । आफूहरूले सहकारी पीडितको ८७ अर्बको कुरा गर्दा ६५ करोडको मात्रै कुरा निकाल्ने र एउटै बोर्डमा भएको कोही राष्ट्रपतिको सल्लाहकार हुने कोहीलाई थुन्ने कुराले नै पूर्वाग्रह पुष्टि भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *