राष्ट्रसंघ दिवस : जलवायु अनुकूलनमा विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको जोड (भिडिओ) – Nepal Press

राष्ट्रसंघ दिवस : जलवायु अनुकूलनमा विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको जोड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन-डे)का अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका हुन् ।

उनले विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने स्पष्ट पारे ।

 

उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैँ शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराए । दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले सबैसँग मित्रता र कसैसँग शत्रुता को नीति कायम राख्ने स्थितिमा रहेको पनि उनले बताए ।

त्यस्तै सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति शान्ति कार्यमा खटिएका नेपाली सैनिकले चुनौतीलाई स्वीकार गर्दै जस्तोसुकै जिम्मेवारी लिँदै आएको र भविष्यमा पनि आफ्नो जिम्मेवारी प्रभावकारी निभाउने धारणा राखे ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरद्वारा युएन डे लेखिएको व्यानर प्रदर्शन गरिएको थियो भने मार्चपासका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदै आएको छ। राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता ६ दशक भन्दा बढी समयदेखि हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *