राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तका लागि दरखास्त आव्हान – Nepal Press

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्तका लागि दरखास्त आव्हान

काठमाडौं । राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त तथा २ जना सूचना आयुक्तका लागि दरखास्त आव्हान गरिएको छ । राष्ट्रिय सूचना आयोग, पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले एक सूचना जारी गर्दै आवेदन पेश गर्न आव्हान गरिएको हो ।

सूचना अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम योग्यता पुगेका व्यक्तिलाई राष्ट्रिय सूचना आयोगमा पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण सहित योग्यताका प्रमाणित प्रतिलिपि सहित पेश गर्न भनिएको छ ।

प्रमुख सूचना आयुक्त र सूचना आयुक्तमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उर्त्तीण गरेको, आमसञ्चार, कानून न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । साथै सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १३ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।

आवेदन कार्तिक १३ गतेसम्म कार्यालय समयभित्र बुझाइसक्नुपर्ने र इच्छुक उम्मेदवारले योग्यता खुल्ने प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । सूचना आयुक्तमा कम्तीमा एक जना महिला हुनुपर्ने प्रावधान रहेको छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ र सूचना आयुक्तद्वय कमला ओली र रत्नप्रसाद मैनालीको ५ वर्षे पदावधि सकिन लागेकाले रिक्त हुने उक्त पदमा योग्य र उपयुक्त व्यक्तिको नियुक्तिका लागि सिफारिस गर्न ऐनको दफा ११ को उपदफा ३ बमोजिम गठित सिफारिस समितिको बैठकले आयोगको रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न योग्य तथा इच्छुक उम्मेदवारबाट दरखास्त माग गर्ने निर्णय गरेअनुसार यो दरखास्त आह्वान गरेको हो ।

दफा ११ अनुसार उपदफा ३ अनुसार प्रमुख सूचना आयुक्त र सूचना आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस गर्न सभामुख देवराज घिमिरेको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ ।

समितिको सदस्य सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर