पशुपति कोषले हामीलाई थाहै नदिई धर्मशाला व्यवस्थापनको जिम्मा महानगरलाई दियो : मन्त्री पाण्डे – Nepal Press

पशुपति कोषले हामीलाई थाहै नदिई धर्मशाला व्यवस्थापनको जिम्मा महानगरलाई दियो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको पाण्डेको भनाइ छ ।

मन्त्रीको जिम्मेवारी सम्हालेको सय दिनमा भएगरेका कामको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको र त्यसको प्रतिवेदनका आधारमा विवाद समाधान गरिने बताए ।

मारवाडी सेवा समिति पुन: अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने उनले बताए ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमलाई बलियो बनाउनका लागि अध्ययन भइरहेको र निगमलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने जिकिर गरे ।

निगम सञ्चालनका लागि कानूनी वा नीतिगत कमजोरीका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने भन्दै पाण्डेले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्ययन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरू गरेको दाबी गरे ।

हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गराउन आवश्यक सहुलीयतको व्यवस्था गरिएको मन्त्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर