स्तन क्यान्सर प्रभावितलाई आत्मबल बढाउँदै पूर्वसांसद रावल (भिडिओ) – Nepal Press

स्तन क्यान्सर प्रभावितलाई आत्मबल बढाउँदै पूर्वसांसद रावल (भिडिओ)

चितवन । पूर्वसांसद दिलकुमारी रावल पार्वती स्तन क्यान्सर भएका बिरामीहरुलाई आत्मबल बढाउने अभियानमा लागेकी छन् । क्यान्सर रोगलाई प्राणघात रोगको रुपमा लिने सोचलाई परिवर्तन गर्न समयमा नै क्यान्सर रोगको पहिचान गरि उपचार गराउन सके निको हुने भन्दै पूर्वसांसद रावल आत्मबल बढाउने अभियानमा लागेकी हुन् ।

चितवनमा स्तन क्यान्सर विजेता जमघट कार्यक्रममा क्यान्सर विजेताहरुसँग अन्तरक्रिया गर्दै रावलले भनिन्, ‘क्यान्सर हुँदैमा मरिँदैन । तर, समयमा पहिचान गरेर उपचारमा जानुपर्छ । आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ ।’

रावललाई २०७९ साल कात्तिक महिनामा स्तन क्यान्सर पहिचान भएको थियो । उनका अनुसार सुरुमा पोलेको जस्तो भएपनि नेपालमा जँचाउँदा क्यान्सर पहिचान नभएपछि दिल्ली गएर दोस्रोपटकको जाँचमा क्यान्सरको पहिचान भएको थियो ।
उनले एक महिना दिल्लीमै बसेर उपचार गरेर फर्किएकी थिइन् । रावलका अनुसार अहिले पनि उनी औषधि सेवन गरिरहेकी छन् ।

 

‘क्यान्सर भएर उपचारबाट फर्किएपछि मैले एक महिनामा नै संसद गएर यो विषय छलफलको सरुवात गरेँ’, उनले स्तन क्यान्सर विजेताहरुको जमघटमा भनिन्, ‘हामीले क्यान्सरको उपचार तथा रोग पहिचानको लागि १२ बुँदे काठमाडौँ घोषणापत्र बनाएर सरकार, राष्ट्रिय योजना आयोगलाई समेत जानकारी गराएका छौँ ।’

हरेक वर्ष अक्टोवर महिनालाई अन्तर्राष्ट्रिय रुपमा स्तन क्यान्सर सचेतना महिनाको रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइन्छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको स्तन क्यान्सर विजेताहरुका कार्यक्रममा पूर्व सांसद रावलसँगै अन्य स्तन क्यान्सर विजेताहरुले आफ्नो अनुभव सुनाएका थिए ।

२०६१ सालमा स्तन क्यान्सर भएर उपचारपछि क्यान्सर जितेकी पञ्चा गुरुङले क्यान्सरको शंका लागेमा क्यान्सर विशेषज्ञसँग नै उपचार गराउनुपर्ने बताएकी थिइन् । आफू ३८ वर्षको हुँदा स्तनमा गिर्खा निस्केको पहिचान भएपछि स्त्री तथा प्रसूती रोग विशेषज्ञ कहाँ सल्लाह लिँन जाँदा हर्मोनल इम्ब्यालेन्स भनेर औषधि दिएको र ३ महिना खाएको अनुभव सुनाउँदै उनले भनिन्, ‘क्यान्सर भएको मान्छेलाई हर्मोनल ब्यालेन्स गर्ने औषधिले सञ्चो हुने कुरै भएन ।’ त्यसपछि क्यान्सर अस्पतालमा गएर तत्कालै शल्यक्रिया गरेर उपचार गरेपछि निको भएको उनले बताइन् ।

उनले आफू स्वस्थ हुनुको कारण आफू स्वयं र आफ्नो परिवार भएको बताइन् । उनले क्यान्सर बिरामीलाई निको हुनको लागि मायाको खाँचो भएको भन्दै माया दिन अनुरोध गरेकी थिइन् ।

अहिले नेपालमा क्यान्सर रोग लाग्ने बिरामीहरुमध्ये सबैभन्दा धेरै फोक्सोका क्यान्सर बिरामी छन् भने दोस्रो नम्बरमा स्तन क्यान्सरका बिरामी रहेका छन् । विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलका अनुसार गतवर्ष नयाँ थपिएका क्यान्सर रोगीमध्ये ७ सय १२ जनामा स्तन क्यान्सर भएको जानकारी दिए ।

उनका अनुसार देशभरका ६५ वटा क्यान्सर उपचार गर्ने अस्पतालहरुमा नयाँ थपिएका बिरामीमध्येको यो विवरण हो । कूल स्तन क्यान्सरका बिरामीमध्ये १० जना मात्रै पुरुष रहेको पनि उनले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर