चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराउने ८ जना पक्राउ – Nepal Press

चिनियाँ नागरिकसँग नेपाली किशोरीको विवाह गराउने ८ जना पक्राउ

विराटनगर । चिनियाँ नागरिकसँग नेपाली किशोरीहरुको विवाह गराउन गिरोह नै सक्रिय रहेको पाइएको छ । नेपाली बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउन संलग्न ३ चिनियाँ नागरिकसहित ८ जना पक्राउ परेपछि गिरोह नै सक्रिय रहेको खुलेको हो ।

प्रहरीले धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरामा ल्याएर विवाह गराउन खोज्दा सो गिरोह पक्राउ परेको हो । ती बालिकाको ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी नगरपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङसँगै लाई पक्राउ गरेको छ । यस्तै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्धार गरेको हो ।

उनका अनुसार विपन्न परिवारका किशोरीका बुबाले भने छोरीका लागि राम्रै होस् भनेर विवाह गरेको बताएका छन् ।

चिनियाँ पक्षले विवाह गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनालाई मानव तस्करीसँग पनि सम्बन्धित देखिएकाले त्यस तर्फबाट पनि अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ ।सो समुहले यस अघि पनि प्रलोभनमा पारेर बिवाह गरि चीन लगेको आशङका प्रहरीले गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *