अझै भेटिइनन् असोज २५ मा हराएकी किशोरी, बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ – Nepal Press

अझै भेटिइनन् असोज २५ मा हराएकी किशोरी, बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ

डोटी । असोज २५ गतेदेखि हराएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–२, डिम्बरकी एक किशोरीको हालसम्म पनि पत्ता लागेको छैन ।

किशोरीलाई बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार कृष्णराज जोशीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।
करिब १७ वर्षीया एक किशोरी असोज २५ गते बिहानै धाराबाट पानी ल्याउन जाने भन्दै घरबाट निस्केकी थिइन् ।

त्यसपछि उनी सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।

‘किशोरीको खोजीका लागि प्रहरी निरीक्षक बलराम पाण्डे नेतृत्वका प्रहरी टोली सम्बन्धित क्षेत्रमा परिचालित छ’ नेपाल प्रेससँग टेलिफोनमा कुरा गर्दै ढुङ्गानाले भने, ‘हालसम्म केही पत्ता लागेको छैन ।’ जिल्ला सदरमुकामबाट धेरै टाढा भएको हुँदा अनुसन्धानमा समस्या भइरहेको उनको भनाइ छ ।

किशोरी बेपत्ता भएको चारदिनपछि किशोरीका बुबाले छोरीलाई बेपत्ता पारेको भन्दै प्रहरी हवल्दार कृष्णराज जोशीका विरुद्ध जिल्ला प्रहरी कार्यालय, बैतडीमा किटानी जाहेरी दिएको सूचना अधिकारी ढुङ्गाना बताउँछन् ।

जोशी पञ्चेश्वरको महाकाली प्रहरी चौकीमा कार्यरत थिए । जोशीमाथि थप अनुसन्धान गर्न बुधवार जिल्ला अदालत डोटीबाट दोश्रो पटक सात दिनको म्याद थप गरिएको ढुङ्गानाले बताए ।

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका हवल्दार जोशीले आफूले किशोरीलाई बेपत्ता नपारेको बयान दिएका छन् । असोज २५ गतेको बिहान पानी ल्याउन जाँदा ती किशोरीसँग आफ्नो भेट भएको जोशीले स्वीकार गरेका छन् ।

प्रहरी निरीक्षक ढुङ्गानाका अनुसार पानी बाटोमा आउजाउ गर्ने क्रममा ति युवतीसँग चिनजान भएको र सो दिन पनि भेटमा सामान्य कुराकानी भएको स्वीकार गरेका छन् । त्यसपछि आफूले उनलाई नदेखेको जोशीले दाबी गरेको ढुङ्गाना बताउँछन् ।

स्थानीयका अनुसार किशोरीका आफन्तहरुले किशोरी बेपत्ता भएकै दिन हवल्दार जोशीलाई नियन्त्रणमा लिइ कुटपिट गरेका थिए । बेपत्ता भएकी किशोरी र हवल्दार जोशीबीच सम्बन्ध रहेको र सो सम्बन्धका विषयमा आफन्तहरुले थाह पाएपछि किशोरीले जोशीलाई विवाहका लागि दवाव दिएपछि जोशीले उनलाई बेपत्ता बनाएको आफन्तहरुको आरोप छ । प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरणसमेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन् ।

डिम्बर क्षेत्र नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदी नजिकै छ । महाकाली किनारको बस्तीमै महाकाली प्रहरी चौकी छ । सीमा क्षेत्र भएकाले ती किशोरीलाई भारततर्फ बेपत्ता पारिएको प्रहरीको आशंका छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *