सेमिफाइनलमा नेपाललाई भारत कि बंगलादेश सहज ? – Nepal Press

सेमिफाइनलमा नेपाललाई भारत कि बंगलादेश सहज ?

काठमाडौं । घरेलु मैदानमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा नेपाल अहिले श्रीलंकासँग भिडिरहेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफको समाप्तिमा नेपाल ४–० गोलले अगाडि छ । यो अवस्थामा नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का देखिएको छ । तर यो खेलको गोलअन्तरको नतिजाले समूह विजेता र उपविजेता तय हुने छ ।

३ खेलबाट ७ अंक भएको भुटान अन्तिम चार पुगिसकेको छ । तीन खेलमा भुटानले १७ गोल गरेको थियो भने एक गोल व्यहोरेको छ । नेपालले प्रतियोगितामा १५ गोल गरिसकेको छ भने एक गोल पनि ब्यहोरेको छैन । नेपालको २ खेलबाट ४ अंक छ । श्रीलंकाको २ खेलबाट ३ अंक छ ।

नेपालले अब गोल नब्यहोरेर कम्तिमा २ गोल गरे समूह विजेता बन्ने छ । यो खेल नेपालले ६ गोल अन्तरले जितेमा समूह विजेता बन्ने छ । समूह विजेता बनेको अवस्थामा नेपालले फाइनल प्रवेशका लागि ५ पटकको विजेता भारतसँग खेल्ने छ । उपविजेता बनेको अवस्थामा साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

गत संस्करणको सेमिफाइनलमा भारतलाई हराएको नेपाल उपाधि भिडन्तमा बंगलादेशसँग निराश बनेको थियो । नेपाललाई हराउँदै बंगलादेशले प्रतियोगितामा भारतको एक छत्र राज अन्त्य गरेको थियो ।

साफ महिला च्याम्पियनसिपको जारी सातौँ संस्करण हो। सुरुका ५ प्रतियोगिता भारत र त्यसपछि गत संस्करण बंगलादेशले जितेको थियो। बुधबार भएको समूहगत चरणको खेलमा बंगलादेशले भारतलाई ३–१ गोलले हराएको थियो । नेपाल यो प्रतियोगितामा ५ पटक फाइनल पुगेको छ भने एकपटक सेमिफाइनलमा रोकिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *