अध्यक्ष लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा, साना ठूला सभा हुँदै – Nepal Press

अध्यक्ष लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा, साना ठूला सभा हुँदै

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेताहरु एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । कात्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कात्तिक ७ गते सुर्खेतको बाबियाचौर हुँदै आज दैलेखको दुल्लुमा सभा सम्पन्न भएको छ ।

यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी स्थानहरुमा साना ठूला सभाहरु पनि भइरहेका छन् ।

राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ ।

कर्णाली यात्राका क्रममा कार्तिक ९ गते कालिकोटको सदरमुकाम मान्ममा, कात्तिक १० गते जुम्लाको गोठी जिउलामा र कार्तिक ११ गते मुगुको गमगढीमा सभाहरु हुनेछन् ।

अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रबक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौं केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।

आमसभालाई सम्बोधन गर्ने क्रममा राप्रपाका नेताहरुले सरकार, कांग्रेस, एमाले र माओवादीका कारण देशले भोग्नु परेको दुरावस्थाका बारे चर्को धारणा व्यक्त गरेका छन् । राप्रपाका नेताहरुले कुनै पक्षलाई पनि निषेध नगर्ने गरी राजा सहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरिनुपर्ने विषयमा जोड दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर