रविलाई बुटवल ल्याउन प्रहरीलाई खुल्यो बाटो, सुप्रिम सहकारी ठगी कसुरमा यी १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी – Nepal Press

रविलाई बुटवल ल्याउन प्रहरीलाई खुल्यो बाटो, सुप्रिम सहकारी ठगी कसुरमा यी १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी

रविविरुद्ध चार जिल्लामा अलग-अलग मुद्दामा छानबिन हुने सम्भावना

रुपन्देही । सहकारी ठगी मुद्दामा कास्कीको पोखरास्थित प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १२ जनालाई रुपन्देहीमा संगठित अपराधमा पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएसँगै यो विषय थप चासोको बनेको छ ।

सहकारी ठगी मुद्दामा अनुसन्धानमा रहेका रविलाई थुन्न नदिन हजारौं कार्यकर्ताले पोखरामा दिनहुँ प्रदर्शन गरिरहेको र बिहीबार थप एकसाता हिरासतमा राखेर अनुसन्धान गर्न त्यहाँको अदालतले अनुमति दिएकै दिन रुपन्देहीमा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान गर्न अदालतले अनुमति दिएसँगै लामिछानेको मुद्दा अब सहकारी ठगी मात्रै नभएर संगठित अपराध, सम्पति शुद्धिकरण, किर्तेसहितका मुद्दा अघि बढ्ने भएका छन् ।

सुरक्षास्रोतका अनुसार अब उनको मुद्दा कास्की जिल्लामा मात्रै सीमित नभएर रुपन्देही, चितवन, काठमाण्डौं पुग्ने निश्चित भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा छानबिनमा रहेका रविसहित उनका तत्कालीन साझेदार छविलाल बन्जाडे जोशीसहित १२ जना बुटवलको सुप्रिम सहकारी ठगीमा संगठित अपराध मुद्दामा पक्राउका लागि अदालतले बिहीबार सहमति दिएको हो ।

सुप्रिम सहकारीबाट जीबि, रवि, छवि आवद्ध गोर्खा मिडियामा १४ करोढ २९ लाख ३६ हजार रकम गएको प्रहरी अनुसन्धानमा देखिएको छ । अदालतको पक्राउ अनुमतिमा छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्तबाबु राई (जीबी राईकोे भाइ), नरेश जीसी, शिबबहादुर गुरुङ, श्रीबल्लव नेपाल, विशाल तामाङ (कांग्रेस नेता), रविना रिमाल, भगवती बमजन, विज्ञान राई, सुरक्षा अधिकारीको नाम रहेको छ ।

सुरक्षा अधिकारी रास्वपा सहमहामन्त्री विपिन आचार्यको श्रीमति हुन् । उनले चलाएको नोबडी प्रोडक्सन कम्पनीमा सुप्रिम सहकारीबाट विपिन र उनीबाट नोबडीमा १ करोड ५६ लाख १५ हजार एकपटक र अर्कोपटक ७५ लाख रकम गएको देखिएको छ ।

रुपन्देही जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले १२ जनालाई पक्राउ गर्ने अनुमति दिएको जानकारी दिए ।

यसअघि पनि बुटवलबाटै मुद्दाको अनुसन्धान भइरहेको र संसदीय छानविन विशेष समितिको प्रतिवेदनका आधारमा लामिछाने र जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलले अदालतसँग अनुमति माग गरेको थियो। बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा २ करोड ५० लाख र लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका जोशीसँग गत सोमबार र मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा ल्याएर बयान लिइएको थियो । जोशीसँग बयान लिएपछि अदालतले लामिछानेसहितका १२ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा जोशीलाई गत असोज ६ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पोखराले अनुसन्धान गरिरहेको छ। लामिछानेलाई पनि गत शुक्रबार पक्राउ गरी पोखरामै राखिएको छ। उनीहरू दुबैजनालाई अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट बिहीबार सात दिनको म्याद थप गरिएको छ ।

प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई र सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरूङसहित २८ जनाविरूद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित छ जना धरौटीमा रिहा भइसकेका छन्। त्यस्तै, सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन् ।

सुरक्षा स्रोतका अनुसार रवि लामिछानेको मुद्दामा संगठित अपराध अनुसार सबै ठाउँमा छुट्टाछुट्टै मुद्दा लैजाने तयारी र यसका लागि सबै जिल्लामा पुराउने तयारी छ । रविलालाई सम्पति शुद्धिकरण र संगठित अपराधमा पोखरा, रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधबारे मुद्दा अघि बढेको छ भने चितवन र काठमाण्डौमा सहकारी ठगी र किर्तेको मुद्दा अघि बढाइने भएको छ ।

यो अनुमतिसहित रविलाई रुपन्देही ल्याएर अनुसन्धानका लागि प्रहरीलाई बाटो खुलेको र पोखराको सहमतिसँगै अगाडि बढ्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।

 

 


प्रतिक्रिया

One thought on “रविलाई बुटवल ल्याउन प्रहरीलाई खुल्यो बाटो, सुप्रिम सहकारी ठगी कसुरमा यी १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  1. सत्तारूढ दलका पार्टी र नेताको दुई दिनको मुतको न्यानो हो । त्यसपछि रविलाई जनताले बहुमत दिन्छन् । अनि रविले मिडियाको ठग नक्कलि नागरिकतावाला, देश लुटेर पैसा विदेश लैजाने सरकारी जग्गा चोर अरबपतिवाला, घडी चोर, बाख्रा चोर, पासपोर्ट बेचुवा, केटी काण्डवाला सबैका कर्तुत र कर्तुतवालाई निमिट्यान्न पार्छन् । त्यसको लागि जनताले आजैदेखि साथ दिन्छन् । नडराउ रवि जनता तिम्रो साथ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *