प्रधानमन्त्री र ऊर्जामन्त्रीको आग्रह विपरीत कुलमानको निर्देशनमा काटियो बिहीबार राति दर्जनौं उद्योगको लाइन – Nepal Press

प्रधानमन्त्री र ऊर्जामन्त्रीको आग्रह विपरीत कुलमानको निर्देशनमा काटियो बिहीबार राति दर्जनौं उद्योगको लाइन

रुपन्देही । प्रधानमन्त्री केपी शमा ओली तथा ऊर्जा मन्त्री दीपक खड्काको आग्रहलाई अटेर गरी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बिहीबार राति डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका दर्जनौं उद्योगको लाइन काटिएको छ ।

उद्योगीको अनुसार साँझ ८ बजेदेखि काट्न थालिएको लाइन साढे ९ बजेसम्म ६० वटाको लाइन काटिएको हो ।

बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए र प्रधानमन्त्री ओलीको पनि उद्योगीलाई अहिले चिढाउन नहुने आशय रहेको थियो । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न नसकेपछि बिहीबार रातीबाटै लाइन काट्न थालिएको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका उद्योगले महसुल बुझाउनुपर्ने र ९० दिनको पूर्वनिर्धारित समय कटेकाले लाइन काट्न दवाव दिएको उद्योगीको भनाइ छ ।

नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोराका अनुसार बिहीबार राती दर्जनौं उद्योगमा लाइन काटिएको हो ।रुपन्देहीमा मात्रै १० वटा उद्योगमा राती लाइन काटिएको हो । यहाँ रहेका अर्घाखाँची सिमेन्टजीबी टेक्साइल, घराना फूड, गोयन्का फूड, एसआर फूड, भलबारी स्वचालित चामल मिललगायत १० उद्योगमा एकाएक लाइन काटिएको बोहोराले बताए ।

‘प्रधानमन्त्री, उर्जामन्त्रीको आग्रह विपरीत घिसिङको निर्देशनमा लाइन काटियो, यसमा कुनै प्रमाण छैन, यस्तो धरासायी भएको क्षेत्रलाई यसले थप निराश बनाएको छ, कानुनी आधार नभई उद्योगीले कसरी बिल तिर्ने ? साधारण शुल्क नियमित तिरिरहेका छन्, यस्तो दादागिरीले कसरी उद्योग चलाउने ?’, उद्योगी बोहोराले भने ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री र ऊर्जामन्त्रीको आग्रह विपरीत कुलमानको निर्देशनमा काटियो बिहीबार राति दर्जनौं उद्योगको लाइन

  1. कुरा त सही हो । तर व्यापारीले मागेजस्तो प्रमाण दिन चाहिँ कुलमानलाई के ले रोकेछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *