झाडी फाँडेर सुरू भएको ‘कान्छा दाइ’ को मेहनत- भरतपुरको ३५ बिघामा तरकारी खेतीको साम्राज्य – Nepal Press

झाडी फाँडेर सुरू भएको ‘कान्छा दाइ’ को मेहनत- भरतपुरको ३५ बिघामा तरकारी खेतीको साम्राज्य

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं. २४ को जगतपुरबाट करिब दुई किलोमिटर पश्चिम लागेपछि पुगिन्छ केरुङ्गे खोलाको पुल । पुल कटेपछि सुरु हुन्छ नयाँ बस्ती । २०५८ सालसम्म फाट्टफुट्ट घर भएको नयाँबस्ती अहिले भरतपुर महानगरको तरकारीको ‘हब’ तरकारीको हब बनेको छ ।

चारैतिर रुखो झाडी, केही तिल र तोरीको मात्र उत्पादन हुने नयाँ बस्ती क्षेत्रमा अहिले जताततै विभिन्न थरीका हरिया तरकारी देख्न सकिन्छ । यहाँका मनिसहरु आफ्नो तरकारी बारीमा मेहनतको साथमा काम गरिरहेका भेटिन्छन् ।

उनीहरुलाई वर्षको १२ अ‍ौं महिना सिजनल तरकारी रोप्ने, गोडमेल गर्ने र बजारसम्म लग्नेको चटारो हुन्छ । नयाँ बस्तीमा अचेल दिनमा दर्जनौ गाडीहरु तरकारी ओसारपसारमा व्यस्त हुन्छन् ।

समग्रमा भरतपुर जस्तो सुगम र विकसित महानगरको नयाँ बस्ती क्षेत्र तरकारी किसानहरुको राजधानी हो । यहाँको तरकारी सयाैंको भान्सामा प्रत्येक दिन पाकिरहेको हुन्छ । यो सफलताको एउटै पात्र हुन् कान्छा मल्ल । अर्थात गाउँलेहरुले भन्ने गरेको ‘कान्छा दाइ’ मकवानपुरको तत्कालीन हाँडिखोला गाविसको भुन्द्रुङ (हालको मनहरी गाउँपालिका) का किसान हुन् मल्ल ।

२०४५ सालबाट मकवानपुरको तरकारीको हब मानिने हाँडी खोलामा व्यवसायिक तरकारी खेती गरेर बचेको नाफाले उनले भरतपुरको नयाँ बस्तीमा उनले ४८ कठ्ठा जग्गा पनि किनिसकेका थिए । झाडी भएपनि यहाँ पानीको व्यवस्थापन गर्न सकियो भने तरकारी खेती गर्न सकिन्छ भन्ने अनुमान गरेका मल्लले जग्गा जोडेका थिए ।

उनी हाँडी खोलाबाट नयाँ बस्तीमा जानुको अर्को कारण थियो उक्त क्षेत्रमा मकवानपुरको हर्नामाडी र हटियालगायत क्षेत्रबाट स्थानान्तरण भएको ५७६ धुरी बस्ती । २०३२ सालतिर बन क्षेत्रमा रहेको हटिया हर्नाका ५७६ घरधुरीलाई सरकारले नयाँ बस्ती आसपासको क्षेत्रमा स्थानान्तरण गरेको थियो ।

हाँडी खोलामा तरकारी उत्पादन गर्दागर्दै उनी २०५८ मा स्थायी रुपमा नयाँ बस्ती सरे र सुरु गरे तरकारी खेतीको अभियान । सुरुमा उक्त क्षेत्रमा उनले आफ्नो ३२ कठ्ठा जमिनमा तरकारी व्यवसाय सुरु गरे । आफैंले सामान्य पानीको बोरिङ गरेर उनले झाडीमात्र रहेको रुखो जमिनलाई फाँडेर मलिलो बनाए र तरकारी फलाए ।

उनको मेहनत र सफलता देखेर वरपरको छरछिमेकले पनि मल्लसँगको सल्लाहमा आफ्ना बाँझो जमिन फाँडेर तरकारी रोप्न थाले । यो क्रम नयाँ बस्ती जगतपुर, रुद्रबजार देखि पटिहानी, कसरा र मेघौली आसपाससम्म पुग्यो ।

तरकारी खेति गर्न मन हुनेहरुले ‘कान्छा दाइ’सँग सल्लाह गरेर काम सुरु गर्न लागे । हेर्दाहेर्दै २–४ वर्षमानै त्यस क्षेत्रका किसानहरुले तरकारीबाट मुनाफा बनाएर पक्की घर बनाउने, छोराछोरीको पढाईमा मनग्य लगानी गर्न सक्ने हैसियत बनाए ।

उनी त्यतिकै रोकिएनन् । तरकारी खेती गर्ने किसान बढ्न थालेपछि अब तरकारीको बजारलाई व्यावस्थित गर्नुपर्छ भन्ने सोचको साथ उनले केरुङ्गा ताजा तरकारी सहकारीको नाउँमा सहकारी बनाए र त्यसैमार्फत तरकारी किसानहरुको बचत र बजारीकरणको लागि सहज स्थितिको निर्माण गरिदिए । त्यतिबेलासम्म मल्ललाई उक्त क्षेत्रमा किसान नेताको रुपमा चिनिन थालिसकिएको थियो ।

आफैं पनि मेहनत गर्ने र अरुलाई पनि मेहनत गर्न सिकाउने मल्लले हालको भरतपुरको २३ र २४ नम्बर वडालाई तरकारी केन्द्रको रुपमा स्थापित गरेरै छाडे ।

कान्छा मल्ल यहाँ नआएको भए सायद यो ठाउँ अहिलेसम्म पनि तरकारी उत्पादनको केन्द्र हुँदैनथ्यो होला, उहाँको मेहनतको कारण अहिले यहाँको मानिसको जीवनस्तरमा ठूलै परिवर्तन आएको छ, नयाँबस्तीका एकजना किसान अगुवा सूर्यप्रकाश जम्कट्टेल बताउँछन् । कान्छा मल्लजीको मेहनतले तरकारीबाट पनि मानिसहरुको जीनवस्तर बढ्दो रहेछ भन्ने उदाहरण हेर्न जगतपुर आए हुन्छ भन्दै जम्कट्टेलले तरकारी उत्पादन गर्न अगुवा आफैं मेहनतमा होमिनुपर्ने उदाहरण कान्छा मल्लबाट लिन सकिने बताउँछन् ।

तरकारीबाट किसानको नेताको छवि बनाएका मल्लले वडालाई तरकारीको केन्द्र बनाउन थप सहज हुन्छ भन्ने ठानेर २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार समेत बने । वडाबासीले रुचाएको उनले जितेपनि । निर्वाचन जितेपछि उनले उक्त क्षेत्रमा किसानको हितको काम त गरेनै विकास निर्माणको क्षेत्रमा पनि उल्लेख्य काम गरेको स्थानीयहरुको दाबी छ । वडाध्यक्ष भएकै समयमा उनकै अग्रसरतामा नयाँ बस्तीमा २०७६ सालमा केरुङ्गा सामूहिक तरकारी फर्म स्थापना भयो । करिब ९५ जना किसानहरुको समूहको फर्मले सामूहिक तरकारी खेतीको थालनी गर्न लाग्यो । जुन अहिले पनि ३० विगाह क्षेत्रफलमा सफल भैरहेको छ ।

तरकारी हर घरको आवश्यकता हो, मेहनत गर्न सके सफल भइन्छः मल्ल

नेपाल प्रेससँगको भेटमा मल्लले सबैको चुलोमा तरकारी पाक्ने हुँदा यो अत्यावश्यक दैनिक उपभोग्य बस्तु भएको बताए । मेहनत गरेर तरकारी खेती गर्नसक्दा परिवार पाल्न र सहज जीवन बिताउन सकिने थुप्रै उदाहरण यस क्षेत्रमा रहेको उनको भनाइ छ । काम गर्दाको समयमा केही असहज होला तर नियमित निरन्तर काम गर्न सक्यो भने सफलता हासिल गर्न सकिने रहेछ भन्ने केरुङ्गा क्षेत्रका जनताले स्थापित गरिदिएको उनले बताए ।

आफू सानैबाट तरकारी खेतीमा लागेको कारण पनि अनुभवले नयाँ ठाउँमा आएर पनि काम गर्न सकिएको उनको भनाइ छ । हाल सामूहिक खेती र आफ्नै निजी तरकारी खेतीमा दैनिक १५–१६ घण्टा बिताउने गरेका मल्ल यो पेशाबाट सन्तुष्ट छन् । सामूहिक तरकारी खेति गर्दा सुरु गरेको वर्षबाटै कोरोना संक्रमण सुरु भएको कारण सुरुमै दुई करोड चानचुन घाटा लाग्दासमेत आफूहरुको संकल्पले उक्त खेतीलाई निरन्तरता दिँदै हाल उक्त ऋण तिर्ने अवस्थामा पुगिसकेको उनले बताए ।

सामूहिक तरकारी फर्मले यसबीचमा १३ कठ्ठा आफ्नै जमिन जोडिसकेको, उक्त जमिनमा प्रदेश र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा कार्यलय भवन, स्टोर घर निर्माण हुनु सुखद पक्ष रहेको भन्दै सामूहिक फर्मको माध्यमले यहाँका दर्जनौ मानिसहरुले रोजगारीसमेत पाएको उनको भनाइ छ ।

तरकारी रोप्ने र टिप्ने समयमा त २५–३० जनाको हारहारीले रोजगार पाउने उनले बताए । फर्मले अहिले आफ्नै निजी ढुवानी सवारीसमेत किनिसकेको र पाँच वटा बोरिङ बनाएको उनको भनाइ छ ।

सरकारी निकायको सहयोगमा करिब १ करोडको डिप बोरिङ निर्माणको काम पनि अन्तिम चरणमा पुगको उनको भनाइ छ । यहाँबाट उत्पादन भएका तरकारी चितवनसहित मकवानपुर हुँदै पूर्वका धेरै जिल्लामा, काठमाडौंदेखि भारतीय बजारसम्म पुग्ने गरेको मल्लले बताए ।

तरकारी प्रवर्द्धन र उत्पादनमा बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि कार्यालय, ज्ञानकेन्द्र, स्थानीय वडादेखि भूमिगत जल सिंचाई आयोजना समेतको महत्वपूर्ण सहयोग रहेको उनले बताए । राज्यका निकायले सहयोग गर्दा किसानहरुलाई काम गर्न हिम्मत आउने गर्दो रहेछ भन्दै मल्लले किसानलाई खुलेर सहयोग गर्ने हो भने बालीको क्षेत्रमा नेपाल आत्मनिर्भर बन्ने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर