३ करोड भारु डिमान्ड गर्दै एनपीएलका लागि शिखर धवनले पनि पठाए नाम – Nepal Press

३ करोड भारु डिमान्ड गर्दै एनपीएलका लागि शिखर धवनले पनि पठाए नाम

एनपीएल खेल्न इच्छुक भारतीय खेलाडीमा अधिकांश ‘बुढा’ र अवकाश प्राप्त, मूल्य भने चर्को

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टीमका पूर्वओपनर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नाम पठाएका छन् । एजेन्टमार्फत उनले नेपाल क्रिकेट संघ (क्यान)लाई आफू प्रतियोगिताभर उपलब्ध हुनसक्ने जानकारी गराएका हुन् ।

शिखरको डिमान्ड भने उच्च छ । क्यान स्रोतका अनुसार उनले पूरै प्रतियोगिता खेल्ने गरी ३ करोड भारु रकम मूल्य तोकेका छन् । क्यानले आफ्ना फ्रेन्चाइजीहरुलाई उनको नाम पठाइसकेको छ, तर कुनै पनि फ्रेन्चाइजीहरु एउटा खेलाडीका लागि यति चर्को रकम हाल्न सक्ने स्थितिमा छैनन् ।

भारतबाट सुरेश रैना र शिखर धवनले ३ करोड डिमान्ड गरेका हुन् । उनीहरुसहित १५ जना भारतीय खेलाडीले एनपीएलका लागि आफ्नो नाम पठाएका छन् ।

एनपीएल खेल्न इच्छुक अन्य भारतीय खेलाडीमा दिनेश कार्तिक, रोविन उत्थप्पा, मोहम्मद कैफ, अम्बाति रायडु, केदार जादव, स्टुअर्ट बिन्नी, अमित मिश्र, विनय कुमार, प्रज्ञान झा, प्रविन तेम्बे, आरपी सिंह, मनिन्दर विस्ला र इकबाल अब्दुल्ला रहेका छन् । यी सबै खेलाडी भारतीय राष्ट्रिय टीमबाट रिटायर्ड भइसकेका छन् ।

एनपीएलमा नेपाली मार्की खेलाडीहरुले बढीमा २० लाख रुपैयाँ पाएका छन्, तर विदेशी खेलाडीका लागि क्यानले कुनै पनि सीमा निर्धारण गरेको छैन । उनीहरुले जति मूल्य पनि तोक्न सक्छन् । ५० हजार डलरभन्दा बढी तोक्नेलाई ‘ए’, २५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘बी’ र ५ हजार डलरभन्दा बढी तोक्नेलाई ‘सी’ श्रेणीमा राखेर वर्गीकरण गरिएको छ । अधिकांश फ्रेन्चाइजहरु ‘बी’ र ‘सी’ श्रेणीका विदेशी खेलाडीका लागि लागिरहेका छन् ।

प्रायः रिटायर्ड भइसकेका र उमेर छिपिएकाहरु भएको तथा मूल्य पनि चर्को राखेकाले फ्रेन्चाइजहरुले भारतीय खेलाडीप्रति रुचि नदेखाएको क्यान स्रोत बताउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *