सरकारको निर्देशनले फिल्म हलभित्र पपकर्न र कोकको मूल्य नघट्ने ! सञ्चालकको यस्तो तर्क – Nepal Press

सरकारको निर्देशनले फिल्म हलभित्र पपकर्न र कोकको मूल्य नघट्ने ! सञ्चालकको यस्तो तर्क

काठमाडौं । मल्टिप्लेक्सहरुभित्र वास्तविक मूल्यभन्दा धेरै बढीमा खानेकुरा बेच्ने गरिएकाे जनगुनासाेलाई सम्बाेधन गर्दै हालै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञिप्त निकाल्याे । विज्ञप्तिमा एमआरपीभन्दा बढी मूल्य  लिएको पाइएमा कारबाही हुने चेतावनीसमेत दिइएकाे छ ।

फिल्म हेर्न आउने दर्शकलाई खानेकुरा बोकेर हलमा जान अनुमति दिइँदैन । त्यहीँ बिक्री वितरण हुने खानेकुरा किन्नुपर्छ, तर हलभित्र खानेकुराको मूल्य अस्वाभाविक महँगो हुने गरेको गुनासो दर्शकहरुले गर्दै आएका छन् । हालै आशिका तामाङले यो विषयलाई थप चर्चामा ल्याएपछि चासो दिन विभाग बाध्य भएको हो ।

विभागका प्रवक्ता एवं अनुगमन शाखा अधिकृत डिकबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएको खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्न अनुरोध गरिन्छ । अन्यथा कानूनबमोजिम कारबाही गरिन्छ ।’

तर सरकारी विभागले निकालेको यो विज्ञप्तिले हल सञ्चालकहरुलाई केही असर नगर्ने देखिएको छ । विज्ञप्तिमा उल्लेख गरिएको ‘शिलबन्दी’ गरिएको खाद्य तथा पेयपदार्थबाहेक अरु खानेकुरामा विभागको ध्यान गएको देखिँदैन । पपकर्न, गिलासमार्फत बेचिने पेयपदार्थलाई दर्शकहरुले अत्यधिक महँगो मूल्य तिर्ने गरेका छन् । दर्शकको गुनासो पनि यसरी बेचिने पेयपदार्थ वा खानेकुराको मूल्यलाई लिएर हो, तर विभागले ‘शिलबन्दी गरिएको खाद्य तथा पेयपदार्थ’ भनेर मूल समस्यालाई ध्यान दिएको देखिँदैन ।

नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन भने आफूहरुले एमआरपीमै दर्शकलाई सामानहरु बेचिरहेको बताउँछन् । गिलासमा राखेर बेचिएका पेयपदार्थ चाहीँ हलको आफ्नै उत्पादन भएकाले हलले नै मूल्य राख्ने गरेको उनकाे भनाइ छ ।

उनले भने, ‘तपाईंले कुनै वस्तु आफैं उत्पादन गर्नुभयो भने आफैं मूल्य राख्न पाइयो । पेयपदार्थ कोक भए पनि दर्शकलाई बेच्ने कोक हामी आफैंले उत्पादन गर्ने हो । कोक बनाउने मेसिन कम्पनीले हामीलाई दिएको हुन्छ । कम्पनीले हामीलाई सिरपमात्रै पठाएको हुन्छ ।’

कम्पनीले मेसिन र सिरपमात्रै पठाउने भएकाले आफूहरुले मूल्य राखेर बेच्ने गरेको महर्जनको दाबी छ । सँगै त्यसरी कपमा बेचे पनि राज्यलाई कर तिरिरहेको उनको भनाइ छ । कुनै पनि रेस्टुरेन्टले मम, बर्गरहरु आफूले नै रेट राखेर बेच्न पाए जस्तै आफूहरुले आफ्नो उत्पादनमा आफ्नै रेट राख्ने गरेको उनले बताए ।

धेरैलाई लाग्न सक्छ, हल सञ्चालकहरुले टिकट बेचेर नै मुनाफा कमाउँछन्, तर हलको आम्दानीमा टिकटको मात्रै भूमिका हुँदैन । हल सञ्चालकको प्रमुख कमाइ टिकट बिक्री नै भए पनि यसपछिको प्रमुख कमाइमा पर्छ पपकर्न, सफट् ड्रिंक्स र अन्य स्न्याक्सहरु । तेस्रो कमाइ भनेको हलमा फिल्म सुरु हुनुअघि बज्ने विज्ञापनहरु हुन् । अन्य विविध इभेन्ट, निजी तरिकाले गरिने हल बुकिङहरु पनि हल सञ्चालकको आम्दानीको स्रोत हुन् ।

सबैलाई थाहै छ, फिल्म हलमा २० देखि ३० रुपैयाँ पर्ने पपकर्नलाई २५० रुपैयाँ तिर्नुपर्छ । बाहिर ६० रुपैयाँ पर्ने कोकलाई १७० रुपैयाँ तिर्नुपर्छ । बाहिर बढीमा २० रुपैयाँ पर्ने पानीलाई कम्तीमा ५० रुपैयाँ तिर्नुपर्छ ।

दर्शकहरुले बाहिरको खानेकुरा लान पाउँदैनन् । हलभित्र छिर्ने वेला सबै चेकजाँच गरिन्छ । खानेकुरा लगेका छन् भने बाहिरै राख्नुपर्छ र फिल्म हलको क्याफेबाट किनेरमात्रै खान पाइन्छ । जहाँ एमआरपी मूल्यभन्दा बढी रकम तिर्नुपर्छ ।

कुनै पनि सामानको बिक्रेताले एमआरपी मूल्यभन्दा ज्यादा मूल्य राखेर कुनै पनि सामान बेच्नै पाउँदैन, तर हल सञ्चालकले मनमौजी मूल्य राखेर महँगोमा दर्शकहरुलाई बेचिरहेका छन् । उक्त मूल्यले दर्शकको ढाड भने सेकिरहेको हुन्छ ।

यसरी बजारमा प्रचलित एमआरपीभन्दा बढी पैसा फिल्म हलहरुले लिएपछि सन् २०१२ मा इजरायलको संसदमै कुरा उठेको थियो । ‘पपकर्न बिल’लाई लिएर उठेको उक्त सवालपछि इजरायलको उपभोक्ता संरक्षण ऐन (१९८१) नै संशोधन भयो । यो संशोधन भएपछि दर्शकले फिल्म हलमा घरबाटै खानेकुरा लिएर जान पाउने बाटो कानूनी रुपमै पास भएको थियो । यस प्रकरण ‘पपकर्न ल’ नामले संसारभर प्रसिद्ध छ र सम्भवतः दर्शकले हलभित्र खानेकुरा लिएर जान पाउने देश इजरायल एक्लो हो ।

तर नेपाललगायत संसारभर फिल्म हलले आफ्नै ब्राण्ड बनाएर महँगो मूल्यमा दर्शकलाई बेचिरहेका हुन्छन् । उनीहरुले प्रायः बजारमा पाइने बोतल बोच्दैनन् । उनीहरुले कोकको बोतल नबेचेर गिलासमा बेच्दा आफ्नै हिसाबले एमआरपी मूल्य राख्न पाउने भए । यही सुविधाको उपयोग गरेर दर्शकलाई महँगोमा सामानहरु बेच्ने गरेका छन् । सामान्य बजारमा पाइने खानेकुराभन्दा फिल्म हलमा पाइने खानेकुरा २५० प्रतिशतदेखि ४०० प्रतिशतसम्म बढी मूल्य दर्शकले तिरिरहेका हुन्छन् ।

काठमाडौंको बालाजुस्थित अष्टनारायण हलका सञ्चालक सोहित मानन्धर आफूहरुले बजारमा पाइने सामानहरुलाई नै हलमा राखेर एमआरपीमै बेचिरहेको बताउँछन् ।

उनले भने, ‘हामीले कोल्ड ड्रिंक्सलाई ग्लासहरुमा बेचेका छैनौं । ग्लासहरुमा प्राइसट्याग हुँदैन । बोतलकै हिसाबमा बेचिरहेका छौं ।’

कम्पनीबाटै बोतलहरु ल्याएर बेच्ने गरे पनि अब मेसिन नै ल्याएर बेच्ने योजनामा रहेको मानन्धरले बताए । बोतलमा भन्दा ग्लासहरुमा बेच्दा नै बढी फाइदा हुने उनको भनाइ छ ।

‘ग्लासमा व्यापार गर्नेहरुले बढी नाफा कमाइरहेका हुन्छन् । मुख्य रुपमा पैसामात्रै हेर्नेहरुलाई ग्लासमा बेच्दा फाइदा हो, तर ग्लासमा बेचे पनि करको दायरामै आइरहेका हुन्छन्’, मानन्धरले भने, ‘हलहरुले फिल्मको व्यापारले भन्दा खानेकुराको व्यापारले बढी कमाइरहेको हुन्छ । फिल्मको व्यापारबाट त ३३ प्रतिशतमात्रै आउँछ । अलिकति बढी नाफा भनेकै खानेकुरामा हो ।’


प्रतिक्रिया

2 thoughts on “सरकारको निर्देशनले फिल्म हलभित्र पपकर्न र कोकको मूल्य नघट्ने ! सञ्चालकको यस्तो तर्क

  1. लुट्न सक्नेका लागि नेपाल ‘स्वर्ग ‘ हो।

  2. dherai filmharu ta stariya bhaera pani HIT hudainan. kaaran spasta chha. nakhaaera pani basna sakidaina, chheumaa baseko darsakle kurum kurum chabaaeko hunchha. khaaubhane 20 ko makai 100 parchha. nepali film udyog dharaasaayee hunuko kaaran khojna taadhaa jaanu pardaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर