गालीसँग दीपकराजको ‘सरेन्डर’
ननस्टप हिट फिल्म मेकरलाई सामाजिक सञ्जालको अत्यास, हलमा पैसा छाप्दा पनि बुझेन प्यास
मान्छे आखिर परिस्थितिको दास न हो । परिस्थितिअनुसार बदलिन नसकेमा कुन दिन भड्खारोमा परिन्छ भन्ने दीपकराज गिरीले पक्कै बुझेका छन् ।
चित्त नबुझेका कुरा धेरै सोचविचार नगरी फ्याट्ट भनिहाल्ने निर्भिक स्वभावका फिल्मकर्मी हुन् हुन त उनी । उनको फेसबुक अकाउन्टका पुराना पोस्टहरू एकसरो चियाउने हो भने पनि यो रुझानको छनक मिल्छ । तर, अहिले आएर उनले आफूमा बदलाब ल्याउने प्रयास गरिरहेका छन् । रहरले होइन, परिस्थितिले ।
उनले पंतिकारसँग भने, ‘म एउटा डेमोक्रेटिक सोच भएको मान्छे हुँ । देशमा डेमोक्रेटिक एट्मोस्फियर (प्रजातान्त्रिक वातावरण) छ भनेर स्वस्थरूपमा आफ्ना भनाइहरू राख्ने गर्थेँ । तर, हाम्रो समाज त पहिलेजस्तो रहेनछ, अर्कै बनिसकेछ । समाज बदलिएसँगै मैले पनि आफ्नो शैली बदल्नुपर्छ भन्ने बुझेँ । जुन ठाउँमा तपाईंले आफ्ना भावनाहरूलाई स्वतःस्फुर्त राख्न सक्नुहुन्न, त्यहाँ तपाईंले आफ्नो शैली परिवर्तन गर्नैपर्छ । अब म सोचेर मात्रै टिप्पणी गर्छु । सकारात्मकताको पाटो समात्ने प्रयास गर्छु । कसैले हार्यो भन्लान्, कसैले बल्ल लाइनमा आयो भन्लान् । जे भने पनि मलाई स्वीकार्य छ ।’
०००
‘छक्का पञ्जा ५’ रिलिजको संघारमा दीपकराजले अनाहकमा गाली खाए । उनलाई ‘एन्जाइटी’ नै हुने गरी गाली आयो । सुरूमा त उनले गाली गर्नेहरूलाई साइबर सेना संज्ञा दिएर पन्छाउने र प्रतिरोध गर्ने प्रयास पनि गरे । तर, गालीका आयतन र घनत्व यति धेरै थियो कि उनलाई प्रतिरक्षात्मक बन्न करै लाग्यो । अहिले उनी कसरी हुन्छ, आलोचकहरू/विरोधिहरूलाई फकाउने र रिझाउने प्रयासमा निर्लिप्त छन् । उनको टोन डाउन भएको छ ।
हुन त सामाजिक सञ्जालमा जति गाली आए पनि दीपकराजको ‘छक्का पञ्जा ५’ ब्लकबस्टर हुनबाट राकिएन । आजसम्म पनि यो फिल्म हेर्न आउने दर्शकको भिड सुकेको छैन । बरु ‘छक्कापञ्जा विरोधी’ को क्रन्दन अलि सुकेको छ । एक साताभित्रै १० करोडको विजनेस गरेर छक्कापञ्जाले नयाँ रेकर्ड राख्यो । करिब ३ करोड रूपैयाँमा बनेको फिल्मले रिलिज पहिल्यै लगानी सुरक्षित गरिसकेको थियो । अहिलेसम्म १६ करोड कमाएर फिल्मले दीपकराज एन्ड कम्पनीलाई मोटो मुनाफा दिइसकेको छ ।
गाली खाँदाखाँदै पनि फिल्म हिट हुनु दीपकराजको ठूलो नैतिक जित थियो । उनले अविरमाला गरेर विजयोत्सव नै मनाउन सक्थे । तर, उनले यसलाई ‘जित’ को रूपमा लिन सकेका छैनन् । हलमा फिल्मले पैसा छाप्दै गर्दा दीपकराजको गोजी त न्यानो भयो, मन अझै पनि चिसै छ । कारण सामाजिक सञ्जालको अत्यास । गालीको त्रासले गर्दा आजकाल उनी खुलेर बोल्न खोज्दैनन् । ‘मिलाएर बोल्ने’ अभ्यास गरिरहेका छन् ।
गत शुक्रबार दीपकराजले ‘आकस्मिक’ भन्दै एउटा पत्रकार सम्मेलन राखे । उक्त प्रेस मिटमा फिल्मको कमाइ सार्वजनिक गर्ने र आलोचकहरूलाई कडा जवाफ दिने तयारी थियो उनको । तर, लास्ट आवरमा रणनीति फेरियो । पत्रकार सम्मेलनमा दीपकराजले क्रोध लुकाए, केवल गुनासो र विरक्ति पोखे । दीपाश्री र माग्ने बुढालाई साइडमा राखेर आलोचकसँग माफी मागे ।
‘फिल्मबाट पैसा त आयो तर, आनन्द आएन,’ दीपकले भने, ‘सफलताको खुशी मनाउन पाएनौं । कस्तो खालको नेगेटिभिटी फैलियो बाबा १ हामीलाई एकदमै पोलिरहेको छ । हामीबाट कुनै गल्तीहरू भएका छन् भने माफी माग्छु ।’
खासमा दीपकराजलाई किन आयो यतिविघ्न गाली ? को हुन् गाली गर्नेहरू ? के दीपकराज र माग्नेबुढाले भने झैं ‘साइबर सेना’ नै हुन् ? यसको पनि विश्लेषण गरौं ।
दीपकराज र ‘छक्कापञ्जा’ लाई निशाना बनाउनेहरू विभिन्न तप्काका थिए । जो प्रभूत्वशाली छ र शक्तिशाली छ, उसका विरोधीहरू स्वतः सिर्जित हुने प्रकृतिको नियमै हो । उनीहरूले कुनै गल्ती गर्नै पर्दैन । उदाहणका लागि फुटबलमा ब्राजिल कुनै समय सर्वशक्तिमान मानिन्थ्यो । ब्राजिलका समर्थक संसारभर थिए, तर विरोधीहरू पनि उत्तिकै थिए । आज पनि कति फुटबल फ्यानहरू ब्राजिलले जोसुकैसँग भिड्दा पनि हारोस् भनेर उसको हरेक खेल हेर्छन् । क्रिकेटमा पनि भारतले हारोस् भनेर उसको खेल नछुटाउने नेपालमै धेरै छन् । यो एक खाले मानवीय प्रवृत्ति हो । ब्राजिल वा भारतको खेल मन नपरेर होइन, उनीहरूको दबदबा स्वीकार्न नसकेर विरोधी मानसिकता जन्मिएको हो ।
नेपाली चलचित्रमा दीपकराजले पछिल्लो एक दशकमा राम्रै राज गरिरहेका छन् । वर्षका दुई-चारवटा फिल्मले बल्लतल्ल लगानी उठाउने इन्डष्ट्रीमा उनले ‘ब्याक टु ब्याक’८ वटा सुपरहिट फिल्म दिए । यो चानचुने सफलता होइन । पैसा पनि राम्रै कमाए । उनले नेतृत्व गरेको आमा सरस्वती मुभिजले एक अर्ब रूपैयाँ ग्रस आम्दानी कटाएको छ । यो एउटा अभूतपूर्व रेकर्ड हो । दीपकराजको यो प्रभूत्वले गर्दा उनीप्रति इर्श्या र कुण्ठा पालिरहेकाहरू इन्डष्ट्रीभित्रै मनग्गे छन् ।
दीपकराजले जोगिएरै बोल्न खोजेका हुन् हुन त । तर, यो प्रश्नोत्तरबाट दर्शकले बुझ्ने यही हो कि दालमे कुछ काला है । सन्तोष सेनले पक्कै रोल खेलेका छन् । अन्तर्वार्ता दिन बोलाएको व्यक्तिलाई मन नपर्ने वा सम्वन्ध राम्रो नभएको मान्छेको फोटो देखाएर ऊविरुद्ध बोल्न उक्साउने सुवेदीको ‘सेग्मेन्ट’ छ । यही सेग्मेन्टमा दीपकराज फसे ।
दर्शकको एउटा वर्गमा पनि दीपकराजले मात्रै कति रजाइँ गर्ने भन्ने मनोभावना देखिन्छ । यद्यपि, यीमध्ये अधिकांश नेपाली चलचित्रका नियमित दर्शक होइनन् । हिन्दी फिल्म टिकट काटेर हेर्ने र नेपाली फिल्म युट्यूवमा पर्खिने जमात ‘छक्कापञ्जा विरोधी’ बनेको हो । सायद उनीहरूले यसपाला दीपकराजको रिसकै कारण टिकट काटेर ‘१२ गाउँ’ हेरे ।
दीपकराजसँग एकथरि दर्शक ‘महानायक काण्ड’ कै बेलादेखि चिढिएका थिए । जबकि यो काण्डमा उनको कुनै हात थिएन । छक्कापञ्जाकी निर्देशक तथा दीपककी व्यवसायिक सहयात्री दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भनेर अन्तरवार्ता दिएपछि सिर्जना भएको कन्ट्रोभर्सीले आजपर्यन्त यो जोडीलाई दु:ख दिइरहेको छ । राजेश हमालका फ्यानहरू दीपकराजलाई ‘स्वघोषित महानायक’ भन्दै उडाउँछन् । तर, यसरी उडाउनेहरूले के बुझ्नुपर्छ भने राजेश हमालले तीन सयभन्दा बढी फिल्म गर्दा अनुमानित २ सयजति फ्लप भए । दीपकराजका सतप्रतिशत हिट छन् । राजेश हमालको नेपाली चलचित्रमा ठूलो योगदान छ, तर दीपकराज चाहीँ इन्ड्रष्ट्रीमा यत्तिकै हल्लेर बसिरहेका छैनन् ।
सामाजिक सञ्जालमा दीपकराजमाथि खनिने सबैभन्दा ठूलो भिड चाहीँ ‘१२ गाउँ’ का समर्थकहरूको थियो । ‘१२ गाउँ’ रिलिज नहुँदै समीर भट्टको फ्यान भएकाहरूले सुरूबाटै दीपकराज र छक्कापञ्जालाई निशाना बनाए । दीपकराजलाई नरुचाउनेहरू ‘१२ गाउँ’ का कट्टर समर्थक भए । उनीहरूले अभियानै चलाए । छक्कापञ्जाका जुनसुकै सामग्री र टिमका सदस्यको कुनै पनि पोस्टमा ‘१२ गाउँ’ को प्रचार गर्न थालियो । दीपकराजलाई गालीगलौज सुरू भयो । दिपकराजलाई मात्र होइन, उनीप्रति झिनो सहानुभूति दर्शाउनेले पनि गाली खाए ।
‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ को भिडन्त निश्चित भएसँगै यो ट्रेन्ड सुरू भएको हो । सुरूमा त ‘छक्कापञ्जा’ जस्तो ब्रान्डसँग फिल्म जुधाउनु विराज भट्टको मुर्खता ठानिएको थियो । तर, अन्तत्वगत्वा यो नै ब्रम्हास्त्र ठहरियो । छक्कापञ्जासित नजुधेको भए ‘१२ गाउँ’ ले यो हाइप सायदै पाउने थियो । यति ठूलो सफलताको कुनै छनक थिएन । गज्जबको एक्सन फिल्म भएर ‘१२ गाउँ’ चलेको होइन । दर्शक दक्षिण भारतीय शैलीको एक्सनकै लागि तड्पेका थिए भने त ‘रावायण’ पनि सुपरहिट हुनुपर्थ्यो । ‘१२ गाउँ’ को यो सफलतामा ‘एन्टी छक्कापञ्जा सेन्टिमेन्ट’ ले काम गरेकै हो ।
नेपालमा कुनै पनि नेपाली चलचित्र चल्नु, घरेलु फिल्म र कलाकारप्रति दर्शकको क्रेज देखिनु खुशीको कुरा हो । तर, ‘१२ गाउँ’ जस्तो दक्षिण भारतीय धङधङी मात्र बोकेको, नेपाली मौलिकताको पत्तोअत्तो नभएको, २० वर्ष पुरानो सडेगलेको कथावस्तु पेलिएको फिल्म चल्दा, खोइ खुशी हुने कि दु:खी ? नेपाली चलचित्रले पछिल्लो दशकमा आफ्नै मौलिक धार समातेको छ । अर्गानिक विषयवस्तुहरूमा फिल्म बनिरहेका छन् । हिरो-गुण्डाको भारतीय कथावाचन शैलीबाट हामी बाहिर निस्किएका छौं । तर, ‘१२ गाउँ’ ले एक्सनका नाममा फेरि पुरातन दिशातर्फ फर्काउने जोखिम बढेको छ । एउटा हिरोले १०-१२ जना भिलेनलाई सोत्तर पारेको, त्यो देखेर हिरोइनले मन पराउने थालेको, अनि गीत गाउँदै नाचेको, गाउँका मुखिया भिलेन भएको, हिरोले लुगा फुकालेर सिक्स प्याक देखाएका दृष्यहरू ९० को दशकमै बासी भइसकेका हुन् ।
यो चलचित्रको सबैभन्दा आपत्तिजनक कुरा चाहीँ हिन्दी भाषाको असान्दर्भिक प्रयोग हो । नेपाली फिल्ममा हिन्दी भाषा किन घुसाइयो भन्ने कुनै जवाफ छैन । खासमा भाषिक संसोधनविना यो फिल्म सेन्सर पास नै गरिनुहुन्नथ्यो । विदेशी दर्शकलाई देखाउने उद्देश्य हो भने चाहेको भाषामा डविङ गर्नुपर्छ । होइन भने नेपाली दर्शकलाई जबरजस्ती विदेशी भाषा पिलाउन पाईंदैन । यति संवेदनशील विषय कतै पनि चर्चामा आएन ।
फिल्महरू विभिन्न जनराका बन्नुपर्छ । एक्सन पनि एउटा बलियो जनरा हो । तर, जुन जनराको फिल्म भए पनि स्क्रिप्ट बलियो चाहिन्छ । मौलिकता चाहिन्छ । एक्सनमा पनि मौलिकता हुन नसक्ने होइन । नेपाली फिल्मले बलिउड र साउथ इन्डियाको मेकिङसँग प्रतिस्पर्धा गर्न सक्दैन भने उनीहरूको कपी किन गर्ने ? मौलिकता नै हाम्रो मूलबाटो हो । यसबाट बहकिनु हुँदैन ।
सायद यो आलेख पनि मूलबाटोबाट अलिकति बहकियो । फेरि दीपकराज गिरीमै फर्किउँ ।
आकस्मिक प्रेसमिट गरेको भोलिपल्टै दीपकराज देखापरे प्रकाश सुवेदीको चर्चित टेलिभिजन कार्यक्रममा । ‘चिप्ल्याउने शो’ का रूपमा कहलिएको यो कार्यक्रम नेपाली चलचिकर्मीका लागि एउटा हाउँगुजी झैं बन्दै आएको छ । अन्तर्वार्ता दिन जाँदा कुनै न कुनै कन्ट्रोभर्सीमा परिने डर, नजाँदा अर्को हप्तादेखि ‘खेदाइ’ हुने पक्का । अरुबेला प्रकाश सुवेदीको नाम लिँदा नाक खुम्च्याए पनि प्राय कलाकारहरू आफ्नो फिल्मको प्रमोसनका दौरान नाकको चालले उनलाई अन्तर्वार्ता दिन जाने गर्छन् । नत्र ‘सिध्याइदिन्छन्’ भन्ने त्रास व्याप्त छ ।
दीपकराजले भने प्रमोसनका दौरान नभएर चलचित्र हिट भइसकेपछि अन्तर्वार्ता दिएका हुन् । यसमा उनको प्रकाश सुवेदीसँग स्वार्थ मिलेको थियो । कसरी त ?
‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ को भिडन्त निश्चित भएसँगै यो ट्रेन्ड सुरू भएको हो । सुरूमा त ‘छक्कापञ्जा’ जस्तो ब्रान्डसँग फिल्म जुधाउनु विराज भट्टको मुर्खता ठानिएको थियो । तर, अन्तत्वगत्वा यो नै ब्रम्हास्त्र ठहरियो । छक्कापञ्जासित नजुधेको भए ‘१२ गाउँ’ ले यो हाइप सायदै पाउने थियो । यति ठूलो सफलताको कुनै छनक थिएन ।
सुवेदीले केही अघि आफ्नो कार्यक्रममा केही फिल्मी पण्डितहरूलाई बोलाएर दशैँमा रिलिज हुन लागेका तीन फिल्मको भविष्यवाणी गर्न लगाएका थिए । पण्डितहरूले छक्कापञ्जालाई पहिलो र ‘१२ गाउँ’ लाई तेस्रो स्थानमा राखिदिए । सुवेदीले जस्ताको तस्तै त्यसलाई प्रशारण गरे । अनि त के थियो, ‘१२ गाउँ’ का समर्थकको तारो बनिहाले सुवेदी पनि । पण्डितहरूसँगै उनले पनि भक्कु गाली खाए । सत्रुको सत्रु मित्र हुन्छ भनेजस्तो यही ‘१२ गाउँ’ बाट पाएको साझा रनाहाले दीपक र प्रकाशलाई एक ठाउँमा ल्याएको हो । उनीहरूले ‘सँगै बसेर रुने’ निधो गरेका हुन् । नत्र त उनीहरूबीच पुरानो महानायकवाला तुष अझै मेटिएको छैन होला ।
यो अन्तर्वार्तामा दीपकराजले पहिला साइबर सेनाको संज्ञा दिएका ‘१२ गाउँ’ का फ्यानहरूलाई फकाउन भरमग्दुर प्रयास गरेका छन् । विराज भट्ट र समिर भट्टको उनले लामै गुणगान गाए । तर, त्यो मनैदेखि थियो भन्नेमा शंका गर्न सकिन्छ ।
दीपकराजलाई तीन हिरोहरू प्रदीप खड्का, अनमोल केसी र समीर भट्टमध्ये अभिनय क्षमताका आधारमा को उत्कृष्ट भनेर सोधिएको थियो ? उनले कुनै सोचविचार नगरी जवाफ दिए- समीर भट्ट । सायद यो जवाफ दिन तयारै भएर आएका थिए ।
स्मरणीय छ कि यही अन्तरवार्तामा उनले ‘१२ गाउँ’ अहिलेसम्म हेर्न नपाएको बताएका छन् । समीरले अभिनय गरेको चलचित्र यही एउटा मात्रै हो । दीपकराजलाई ‘अभिनय क्षमताका आधार’ मा उत्कृष्ट छनोट गर्न भनिएको थियो भने फिल्म नै नहेरिकन उनले प्रदीप र अनमोलको दाँजोमा समीर कसरी उत्कृष्ट अभिनेता ठहर गरिदिए ? उनको यो छनोट मनबाट आएको नभएर ‘ड्यामेज कन्ट्रोल’ का लागि थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनलाई ‘१२ गाउँ’ र समीरका फ्यानहरूको मन जित्नु थियो । गालीको चक्रवातमा छाता ओढ्नु थियो ।
दीपकराजले भन्न त ‘मलाई गालीले गलाउन सक्दैन र तालीले मताउन सक्दैन’भने । तर, उनी गालीले गलिसकेको सबै हाउभाउबाट झल्किन्थ्यो । कुनै पनि प्रश्नमा उनले धक फुकाएर जवाफ दिन सकेका थिएनन् । उनका अभिव्यक्ति र बडी ल्याङ्वेजबीच सामञ्जस्यता नमिलेको प्रतीत हुन्थ्यो । अर्थात्, मनमा एउटा कुरा, मुखमा अर्को । एक ठाउँमा त अलिकति फँसिहाले ।
प्रकाश सुवेदीले निर्माता सन्तोष सेनको फोटो देखाएर उनको विषयमा टिप्पणी गर्न लगाए । सुवेदीको ध्येय स्पष्ट थियो, सन्तोषका विरुद्ध दीपकराजलाई दुई-चार शब्द ओकल्न लगाउने र कन्ट्रोभर्सी निकाल्ने ।
जवाफमा दीपकराजले सन्तोषले प्रशंसा नै गरे । साहसी निर्माता ह्यानतान भने । तर, सुवेदीले चाहेको जवाफ यो थिएन । अनि आफैंले कोट्याए, ‘उहाँलाई कमाण्डर भन्छन् नि ? तपाईंहरूको फिल्मविरुद्ध लागेको साइबर सेनाको कमाण्डर उहाँ नै हो त ?’
गिरीले जवाफ दिए, ‘मैले पनि सुनेको छु, तर सुनेको भरमा कसैमाथि आरोप लगाउन मेरो नैतिकताले दिँदैन । यदि त्यस्तो हो भने मलाई केही भन्नु छैन ।’
दीपकराजले जोगिएरै बोल्न खोजेका हुन् हुन त । तर, यो प्रश्नोत्तरबाट दर्शकले बुझ्ने यही हो कि दालमे कुछ काला है । सन्तोष सेनले पक्कै रोल खेलेका छन् । अन्तर्वार्ता दिन बोलाएको व्यक्तिलाई मन नपर्ने वा सम्वन्ध राम्रो नभएको मान्छेको फोटो देखाएर ऊविरुद्ध बोल्न उक्साउने सुवेदीको ‘सेग्मेन्ट’ छ । यही सेग्मेन्टमा दीपकराज फसे ।
नेपालमा कुनै पनि नेपाली चलचित्र चल्नु, घरेलु फिल्म र कलाकारप्रति दर्शकको क्रेज देखिनु खुशीको कुरा हो । तर, ‘१२ गाउँ’ जस्तो दक्षिण भारतीय धङधङी मात्र बोकेको, नेपाली मौलिकताको पत्तोअत्तो नभएको, २० वर्ष पुरानो सडेगलेको कथावस्तु पेलिएको फिल्म चल्दा, खोइ खुशी हुने कि दु:खी ?
यो अन्तर्वार्तामा सन्तोष सेनले आपत्ति जनाइसकेका छन् । फेरि दीपकराज विरोधीलाई सानो मसला मिलेको छ । सामाजिक सञ्जालमा एक राउन्ड गाली फेरि आइसकेको छ ।
हुन त सामाजिक सञ्जाल नै संसार होइन । छक्कापञ्जाको दृष्टान्तबाट पनि यो पुष्टि भयो । यदि सामाजिक सञ्जाल नै अन्तिम सत्य हुन्थ्यो त यो फिल्मले दर्शक नपाएर प्याकप्याक हुनुपर्थ्यो । तर, पहिलो दिनबाटै छक्कापञ्जा हेर्न दर्शक उर्लिए । उनीहरूलाई सामाजिक सञ्जालको लहरले छोएन । सामाजिक सञ्जालको जनमत फेल खाएका उदाहरण राजनीतिमा देखिएका थिए, अहिले चलचित्रमा पनि देखियो ।
यो हुँदाहुँदै पनि तपाईँ सामाजिक सञ्जाललाई इग्नोर त गर्न सक्नुहुन्न । दश जनाले प्रशंसा गरेर एकजनाले गाली गरे पनि गालीमै ध्यान जान्छ । त्यो गाली तपाईँले मात्रै पढ्नुहुन्न, तपाईँको परिवारले पढ्छ । बाबुआमादेखि छोराछोरी, सासू-ससुरासम्मलाई असर गर्छ । आफूलाई मात्रै परेको भए दीपकराजले पनि सायद डटेर सामना गर्न सक्थे । तर, सायद परिवारकै कारणले गर्दा ‘सरेन्डर’ गर्नुको विकल्प भएन ।
सामाजिक सञ्जाललाई पूर्णरूपमा नकारात्मक आँखाले पनि हेर्न मिल्दैन । यो दशैँमा सामाजिक सञ्जालकै कारण नेपाली चलचित्रका पक्षमा अभूतपूर्व माहोल निर्माण भयो र विदेशी फिल्म पाखा लागे । यसलाई ऐतिहासिक उपलब्धी मान्न सकिन्छ ।
सामाजिक सञ्जाल नेपाली फिल्मका विषयमा गरिएका बहस र टिकाटिप्पणीहरूले भरिए । यो बहस स्वस्थ, मर्यादित भएको भए सुनमा सुगन्ध हुन्थ्यो । जे होस, नेपाली चलचित्रप्रति दर्शकको चासो बढेको छ । यस्तो बेला अझै राम्रा-राम्रा चलचित्रहरू आउनुपर्छ । आउँदै पनि छन् । नेपालका हलमा विदेशी फिल्म नामेट नै हुनुपर्छ भन्ने होइन, तर सकेसम्म नेपालीको पैसा देशभित्रै रहोस् न ।