कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या: अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ? – Nepal Press

कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या: अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ?

कैलाली । कञ्चनपुर लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको बीभत्स हत्या भएको छ । बिहीबार राति सँगै सुतेका उनीहरु शुक्रवार सद्दे रहेनन् । मध्यरातमा उनीहरुको बीभत्स हत्या गरियो ।

उनीहरू दुबै नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा झन्डै डेढ किलोमिटर टाढा सानो घरमा मदिरासहितको नास्ता पसल चलाउँदै आएका बयाडक दम्पतीसँग राति ८ः३० बजेसम्म उनका छोरा पनि साथमा थिए । बुवासँग आफू रहँदासम्म केही नभएको तर, भोलीपल्ट एकै पटक बुवा आमाको शव देखेको छोराले प्रहरीलाई बयान दिएका छन् ।

घटनाको खबर आए लगत्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशी नेतृदत्तको टोली घटनास्थल पुगेको थियो । त्यो भन्दा पहिले स्थानीय प्रहरी टोलीले घटनास्थलमा सोधपुछ गरेको थियो । तर, कोही कसैले घटनाबारे आफूले जानकारी पाएको बताएनन् ।

‘गर्मीका कारण उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए। एक्कासि घटना भएको देखिन्छ ’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘घटना प्रकृति हेर्दा पहिले श्रीमतीलाई हानेर श्रीमानमाथि आक्रमण भएको देखिन्छ ।’

कमलाको शव सुत्ने खाट नजिकै बरण्डामा रक्ताम्मे अवस्थामा थियो । रमेशको शव आँगनमा थियो । ढलेको थियो । टाउकोबाट अत्यधिक रगत बढेको थियो । श्रीमान् श्रीमतीको शवको दुरी करिब ४ मिनेट रहेको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले बताए।

प्रहरी अधिकारीका अनुसार रमेशको चोट हेर्दा उनी आक्रमणकारीसँग केही बेर प्रतिवाद गरेको देखिन्छ ।

प्रहरीले हत्या भएको आशङ्का गरेपनि हत्यामा प्रयोग भएका हतियारहरू अझै बरामद गरेको छैन । ‘हामीले आक्रमण पछि हतियार फाल्न सक्ने सम्भावित ठाउँहरू पनि हेरेका थियौँ तर, कहि कतै हतियार भेटिएको छैन ’ प्रहरी अधिकारीले भने, ‘आक्रमणकारीले आफ्नो कुनै सुराक नछोडेका कारण कुकुरले पनि धेरै कुरा पत्ता लगाउन सकेन ।’

तालिमप्राप्त कुकुरको टोलीले केही पत्ता लगाउन नसकेपछि अहिले प्रहरीले आफै शङ्कास्पद क्षेत्रहरूका खोजी बढाएको छ । भारत भाग्न सक्ने सम्भावना रहेको भन्दै नाकामा पनि सुरक्षा चेकजाँच बलियो पारिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रवीन्द्र केसीले घटनाको अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य चाँडै सार्वजनिक हुने बताएका छन् ।

‘हामीले सबै ढंगले घटनाको अनुसन्धान गरिरहेका छौँ ’ उनले भने, ‘अहिलेसम्म ठोस केहि पत्ता लागेको छैन । तर, पत्ता लागिहाल्छ । हामीले नेपाल भारत नाकामा पनि चेकजाँच कडा परेका छौँ ।’

दम्पतीले बिहीबार मात्रै बैङ्कबाट पैसा निकालेका थिए। प्रहरीका अनुसार हिजै उनले कैलाली र कञ्चनपुरबाट उखुको अनुदान रकम निकालेका थिए । सोही रकमका कारण दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको थियो तर, उक्त रकम घरमै भेटिएको प्रहरीले जनाएको छ ।
‘बैङ्कबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था छैन। २ लाख ४३ हजार रुपैयाँ घरमै भेटिएको छ ’ प्रहरी स्रोतले भन्यो ‘पैसाको लागि नभए पनि रिसिबिका कारण हत्या गरिएको हुनसक्छ ।’

अहिले प्रहरीले उनको विगतमा भएका विवाद र ती विवादले हुनसक्ने घटनालाई लिएर पनि अनुसन्धान गरिरहेको जनाएको छ ।
घटनाको अनुसन्धानका लागि डिएसपी उमेश जोशीको कमान्डमा प्रहरी टोली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली र अनुसन्धानको छुट्टै टोली खटिएको छ ।

दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल ल्याइएको छ । स्थानीयले घटनाको सत्य तथ्य छानबिनको माग गरेका छन् ।
‘गाउँमा सुरक्षा निकायको पहुँच छैन हामीले पटक पटक प्रहरी चौकी स्थापनाको माग गर्दा पनि सकैले त्यो सुनेनन् ’ पूर्व गाउँपालिका अध्यक्ष मदनसेन बडायकले भने ‘प्रहरी चौकी भएको भए यस्तो घटना हामीले देख्नु पर्ने थिएन ।’

मृतकका आफन्त तारा रानाले बीभत्स ढंगले हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरिन् । ‘यस्तो घटना कसैलाई नघटोस् हामीलाई न्याय चाहिन्छ । दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ’ उनले भनिन् ।

 


प्रतिक्रिया

One thought on “कञ्चनपुरमा दम्पतीको बीभत्स हत्या: अघिल्लो दिन झिकेको पैसा बरामद, अनुसन्धानको सुई कता ?

  1. पेशेवर हत्यारा भएको जिल्ला हो कन्चनपुर । निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लागेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *