माओवादीको महावीर समूहभित्र चन्दाकै विषयमा विवाद हुँदा एक जनाको हत्या, दुई पक्राउ – Nepal Press

माओवादीको महावीर समूहभित्र चन्दाकै विषयमा विवाद हुँदा एक जनाको हत्या, दुई पक्राउ

रुपन्देही । कपिलवस्तुमा नेकपा माओवादीको महावीर समूहमा रहेका नेताहरुबीच चन्दाका विषयमा विवाद हुँदा एक जनाको हत्या भएको खुलेको छ ।

प्रहरीले त्यो समूहमा रहेका जयप्रकाश यादवको हत्यामा संलग्न रहेको आरोपमा दुई जना सोही समूहका नेताहरुलाई पक्राउ गरेको छ ।

उनीहरु नेकपा माओवादीबाट अलग भएको महाविर समूहको जिल्ला नेतृत्वमा रहेका थिए । महावीर समूहका कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको र पार्टीमा उनी परिवर्तन उपनामले चिनिन्थे ।

यादवको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा ओखलढुंगाका रमेश श्रेष्ठ र कपिलवस्तु वाणगंगाका मनकला थारू छन् ।

उनीहरूलाई कपिलवस्तु प्रहरीको विशेष टोलीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो । यादवको शव असोज ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका–२ भैँसीघाट खोला किनारमा खाल्डोमा पुरेको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धान गरेको कपिलवस्तु प्रहरीले अन्ततः हत्यामा संलग्न श्रेष्ठ र थारूलाई पक्राउ गर्न सफल भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले जानकारी दिए ।

पक्राउ पर्नेमा ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका(५, सेरनाका ४७ वर्षीय रमेश श्रेष्ठ र कपिलवस्तुको वाणगंगा नगरपालिका-२, तिनैयाकी ४६ वर्षीया मनकला थारु सोही पार्टीको जिम्मेवारीमा रहेका हुन् ।

श्रेष्ठ उक्त समूहको कपिलवस्तु जिल्ला सेक्रेटरी हुन् भने मनकला कपिलवस्तु महिला विभाग प्रमुख हुन्। थारूलाई पार्टीमा गीता उपनामले चिनिन्छ ।

मृतक यादव कपिलवस्तुका विभिन्न क्षेत्रमा अवैध चन्दा संकलन गर्ने गरेको तर श्रेष्ठमाथि आरोप लगाउने गरेपछि उनको हत्या भएको खुलेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको एसपी भट्टको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *