कालिकोटबाट लिङ्देनले भने- अब पनि जनताले विकल्प नखोजे देश झन् कमजोर बन्छ – Nepal Press

कालिकोटबाट लिङ्देनले भने- अब पनि जनताले विकल्प नखोजे देश झन् कमजोर बन्छ

कालिकोट । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले परिवर्तनको नाममा जनतालाई धोका दिएको बताएका छन् ।

कर्णाली यात्राको चौथो दिन आज कालिकोट सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ०६२/६३ पछि पालैपालो देशको बागडोर सम्हालेका कांग्रेस, एमाले र माओवादीप्रति कटाक्ष गरेका छन् ।

‘जनतालाई परिवर्तनको सपना देखाइयो, तर देश पछिल्लो दुइ दशकमा गरिखान त टाढाको कुरा बस्नलायक समेत बनेन र लाखौं युवा सामान्य रोजगारका लागि विदेशी भूमिमा जान बाध्य बनाइयो’, लिङ्देनले भने ।

तिनै दलका गलत नीति, सत्तालिप्सा, भ्रष्ट आचरणका कारण देश झन् झन् कमजोर बन्दै गएको उनको आरोप थियो ।

‘जनता कसैको गोठमा बककाधेको गाइवस्तु होइन, अब पनि जनताले विकल्प नखोज्ने हो भने हाम्रो देश अहिलेभन्दा झन् कमजोर र खोक्रो हुने निश्चित छ’, लिङ्देनले भने, ‘राप्रपा अब जनताको भरपर्दो विकल्प हो र हामी विकल्प दिन सक्षम छौं ।’

कालिकोट आमसभाका क्रममा जसपा नेपालका जिल्ला अध्यक्ष माधव उपाध्याय सहित सम्पूर्ण जिल्ला कार्यसमिति राप्रपामा समाहित भएको छ ।

उपाध्याय सहित जसपा नेपालका नेता, कार्यकर्ता र नवप्रवेशी पचासौं युवालाई अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

अध्यक्ष लिङ्देन सहितका राप्रपाका नेताहरु एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुगेका छन् । कार्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कार्तिक ७ गते सुर्खेतको बाबियाचौर, कार्तिक ८ गते दैलेखको दुल्लु हककुदै आज कालिकोट पुगेको हो ।

यात्राका क्रममा बाटोमा पर्ने जनघनत्व बढी स्थानहरुमा साना ठूला दर्जनौं सभाहरु भइरहेका छन् ।

राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ ।

कर्णाली यात्राका क्रममा कार्तिक १० गते जुम्लाको गोठिजिउलामा र कार्तिक ११ गते मुगुको गमगढीमा सभाहरु हुनेछन् ।

अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौं केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर