तीन महिना नाटक सिक्ने- सपना फिल्ममा बिक्ने
सर्टकर्ट बाटोबाट स्टार बन्न खोज्नुहुन्छ भने तपाईं गलत पेशामा हुनुहुन्छ
काठमाडौं । केदार श्रेष्ठ डेढ दशकदेखि रङ्गमञ्चमा सक्रिय छन् । ‘गाउँ आएको बाटो’ र ‘ऐना झ्यालको पुतली’ जस्ता फिल्ममा कास्टिङ डाइरेक्टर बनेर काम गरे । अभिनयमा रुचि भएका बालबालिकालाई २०७०/७१ सालबाट अभिनयको प्रशिक्षण दिइरहेका पनि छन् ।
अभिभावकहरु पनि आफ्ना बच्चा लिएर केदारकहाँ आइपुग्छन् । अनि अभिभावकले केदारलाई सोध्छन्, ‘यति सिकेपछि फिल्म खेल्न पाउँछ ? नाटक गर्न पाउँछ ?’
यस्तो प्रश्न झेल्ने केदार प्रतिनिधि पात्रमात्रै हुन् । जति पनि थिएटरहरुमा नयाँ प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिइन्छ, त्यहाँ तेर्सिने साझा प्रश्न हो यो । रङ्गमञ्चबाट फिल्म क्षेत्रमा आएका कलाकारहरुलाई देखेर ‘स्टार’ बनिहाल्ने लालसाले आइपुगेकाहरुको एकै सोच हुन्छ, ‘तीन महिनाको कोर्स लिएपछि फिल्म खेल्ने !’
केही महिनाको कोर्स गराएर आफ्नो बच्चालाई फिल्म खेलाउने अभिभावकको चाहना हुने नै भयो । साथै थिएटरभित्र छिरेका अधिकांश किशोरकिशोरीको महत्वाकांक्षा पनि फिल्म खेल्ने र ‘स्टार’ बन्ने सोचभन्दा पर हुँदैन । थोरै हाइट, थोरै लुक्स अनि त्यसमा थिएटरभित्र छिरेपछि ‘स्टार’ भइन्छ भन्ने सोच, तर थिएटरबाट फिल्ममा आएर चम्किएका कलाकारले कति त्याग, तपस्या र मेहनत गरेका छन्, त्यतातिर कसैको ध्यान गएको देखिँदैन ।
अहिलेका चल्तीका कलाकारले सुरुवाती चरणमा धेरै नै छोटा र नोटिस्ड नहुने भूमिका गरेका थिए । यसको उदाहरण त आर्यन सिग्देल मुख्य भूमिकामा रहेको ‘मेरो एउटा साथी छ’ फिल्ममा दयाहाङ राईले गरेको अभिनय हो । यस फिल्ममा दयाहाङले कोरस नृत्य गरिरहेको क्लिप त अहिले पनि भाइरल छ ।
त्यसैले त वरिष्ठ रङ्गकर्मी अनुप बराल भन्छन्, ‘अभिभावक र प्रशिक्षार्थीहरुले बुझ्नुपर्ने कुरा के हो भने डाक्टर, इञ्जिनियर या पाइलट बन्न जसरी वर्षौंको अध्ययन, अभ्यास र समय लाग्छ, त्यस्तै अभिनयमा महारत हासिल गर्न निरन्तरको अभ्यास, अध्ययन र साधना चाहिन्छ ।’
फिल्मी क्षेत्रमा स्थापित हुन सकेको खण्डमा नाममात्रै छैन, दाम पनि छ, तर बाहिरबाट देखिए जस्तो सजिलो गरी कलाकारहरुले नाम, दाम कमाएका भने होइनन् । दयाहाङ, सौगात मल्ल, विपीन कार्की, नाजिर हुसेन, सृजना सुब्बा, मेनुका प्रधानलगायत कलाकार रङ्गमञ्चबाटै उदाएका हुन् ।
रङ्गमञ्चबाट उदाएर अहिले सेलिब्रेटी बनेकाहरुको बीसौं वर्ष लामो संघर्ष छ । उनीहरु सडक नाटक हुँदै, अभिनयमा भविष्य अनिश्चित हुँदाहुँदै जोखिम मोलेर, आफ्नो करियर दाउमा राखेर आएका हुन्, तर उनीहरुको अहिलेको ‘चार्म’ हेरेरमात्रै कतिपय अभिभावक आफ्ना बच्चालाई थिएटरभित्र घुसाउने गरेका छन् । स्वतस्फुर्त आएका कतिपय किशोरकिशोरी पनि हल्लाखल्ला र चर्चा सुनेर थिएटरमा घुसेका छन् ।
यति सजिलै कलाकार बन्न सकिने भए सबै मान्छे कलाकार भएर निस्कने रङ्गकर्मीहरु बताउँछन् । त्यसैले अनुप बरालको अनुभवले भन्छ, ‘अभिनयमा महारत हासिल गर्न समय, समर्पण र स्व-अनुभव आवश्यक हुन्छ ।’
अहिले मण्डला, शिल्पी, सर्वनामलगायत थिएटरहरुले विभिन्न कोर्सहरु चलाइरहेका छन् । दशकौंदेखि रङ्गमर्कलाई करियर बनाएर काम गरिरहेका रङ्गकर्मीहरुले अभिनयमा भविष्य खोज्नेहरुलाई प्रशिक्षण कक्षाहरु चलाउँछन् । ती कक्षाहरु आफूभित्र अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन उपयोगी बन्ने गरेको रङ्गकर्मीहरुको अनुभव छ । श्रेष्ठ सुनाउँछन्, ‘हामीले त व्यक्तित्व विकासको लागि ट्रेनिङ दिने हो । के बन्ने, त्यो त बच्चाको छनोट हो । अभिनय कक्षाले उसको क्षमतालाई पहिल्याउन सजिलो बनाउनेमात्रै हो ।’
सफलता तुरुन्तै पाइने भए…
सबैले बुझेको सत्य हो, जुनसुकै क्षेत्रमा पनि सफलता सजिलै प्राप्त हुँदैन । यो सत्य जान्दाजान्दै पनि ख्याल नगर्नु, भाइरलहरुको पछि कुद्नु अर्को मानसिक समस्या भएको मनोचिकित्सकहरु बताउँछन् । फेरि भाइरलहरुको विसर्जन पनि त्यसरी नै भएको छ, जसरी उनीहरु भाइरल भएर उदाएका थिए ।
भाइरलका अलावा आफ्नो क्षमताले सफल भएकाहरुले गुजारेको संघर्षका दिनहरु कति दुःखलाग्दा होलान् ! उनीहरुले गरेका विगतका संघर्षहरु अहिले उनीहरुले पाएको सफलतासामु केही नभएको श्रेष्ठको मत छ । नेपालका सौगात, दयाहाङ, विपीनमात्रै होइन, संसारभर रङ्गमञ्चबाट लाइमलाइटमा आएका कलाकारहरु छन् ।
संसारका महानतम अभिनेताहरु डेनियल डे लुइस, मेरिल स्ट्रिप, केट ब्लान्चेट या आल पचिनो जस्ता थिएटरको पृष्ठभूमिबाट आएका कलाकारको जीवनको संघर्ष, उनीहरुको असफलताका कथा अनि कामको शिल्पलाई माझ्न गरेको मेहनतलाई नबुझी उनीहरुको सफलतामात्रै हेरेर अगाडि बढ्न नहुने बरालको सुझाव छ ।
अभिनयको लघु कार्यशाला पूरा गरेपछि उच्च महत्वाकांक्षा र अवास्तविक आशा बोकेर थिएटर या सिनेमामा प्रवेश गर्ने युवाहरुद्वारा अनुभव गरिने मानसिक तनाव र निराशलाई नजरअन्दाज भने गर्न नमिल्ने बराल बताउँछन् । उनीहरुको यस्तो स्थिति आउनुको पछाडि सफलता भन्ने कुरा तुरुन्तै पाइन्छ भन्ने भ्रम रहेको उनको मत छ ।
‘उनीहरुको कल्पना वास्तविकतामा मेल खाँदैन । अनि निराश बन्छन्’, बराल सुनाउँछन्, ‘यसलाई सम्बोधन गर्न समानुभूतिसहित मार्गदर्शन र व्यवहारिक रणनीति आवश्यक पर्छ । कलाकार भएर स्थापित हुन लामो र क्रमिक विकासबाट गुज्रनुपर्छ भन्ने कुरा बुझाइनुपर्छ ।’
महत्वाकांक्षा पाल्नु समस्या होइन, तर त्यसलाई पूर्णता दिन धैर्य र दृढताको खाँचो पर्ने रङ्गकर्मीहरु बताउँछन् । छोटो समयको कोर्सबाट ठूलो अपेक्षा राख्नेभन्दा पनि स-साना कुरा प्राप्त गर्न, सिक्न र त्यसलाई विकसित गर्न बल लगाउनुपर्ने उनीहरुको अनुभव छ ।
त्यसैले बरालको सुझाव छ, ‘तीन महिनाको कोर्सभित्र एउटा व्यवसायिक अभिनेता बन्छु भन्ने महत्वाकांक्षा राख्नुको सट्टा कुनै खास सीप र कौशलमा निपुणता हासिल गर्ने कुरामा ध्यान दिन सकिन्छ । यी साना उपलब्धिले पनि हामीमा एउटा उत्साह र उमंग हालिदिन्छ । र, निराश हुन दिँदैन ।’
शिल्पी थिएटरमा सक्रिय पछिल्लो पुस्ताकी रङ्गकर्मी पवित्रा खड्काको सल्लाह छ, ‘थिएटरमा काम गर्न तयार जो जो हुनुहुन्छ, आउनुस्, तर तीन महिना अभिनय सिकेर सिनेमामा जान्छु, अन्त भविष्य खोज्छु भनेर आउनुभयो भने चाहिँ काम छैन । सिनेमामा जाने कुरा स्वतन्त्रताको कुरा भयो, तर यही क्षेत्रमा भविष्य खोज्न चाहनुहुन्छ भने धैर्य र लगन चाहिन्छ । म त यति भन्छु कि रङ्गमञ्चमा भविष्य छ ।’
सर्टकर्ट बाटो र मानसिक तनाव
तीन महिने कोर्स लिएपछि फिल्म खेल्न पाइन्छ भन्ने मानसिकता लिएर थिएटरभित्र घुस्नेहरुले फिल्म खेल्न पाउने सम्भावना अत्यन्त न्यून भइदिन्छ । यसले अभिभावकमा एकखालको तनाव सृजना गर्ने भयो । उक्त तनाव बच्चामा पोखियो भने त्यसले निम्त्याउने क्षतिको आँकलन गर्न सकिँदैन ।
‘फिल्म खेल्ने’ लालसामा थिएटर छिर्नेहरु कसैले बीचबाटै कोर्स छाड्ने गरेका छन् । कोही विरक्तिएर हिँड्ने गरेको रङ्गकर्मीहरुको अनुभव छ । केदार श्रेष्ठ त बालबालिकाको सिकाइलाई समाजसँग जोडेर थिएटरले थप मद्दत गर्नेमात्रै बताउँछन् ।
‘अभिभावकले छोराछोरीको चौतर्फी व्यक्तित्व विकासका लागि अभिनय वा नाटकका कक्षा, कार्यशालामा राख्न चाहनुभयो भने साह्रै राम्रो । कार्यशालाहरुले पछि गएर जुनसुकै पेशामा गएपछि सघाउन सक्छ । यो व्यक्तित्व विकास, आत्मविश्वास जगाउने, नेतृत्व क्षमता वृद्धि गर्ने काममा निकै सहयोगी छ’, श्रेष्ठ भन्छन्, ‘यी सबै हुँदै गएपछि कुन पेशामा जाने भन्ने उहाँहरुको छनोट हो । अभिनयमै मन बस्यो भने कलाकारितामै रहन सकिहाल्नु हुन्छ ।’
अभिनयमा निखार ल्याउन लामो समयबाट गुज्रनुपर्ने हुन्छ, तर यसरी सर्टकर्ट बाटो रोजियो भने ? यदि सर्टकर्ट बाटोबाट स्टार बन्ने लाइनमा कोही छ भने ऊ गलत पेशामा रहेको बरालको विश्लेषण छ । उनको अनुभवले भन्छ, अभिनयमा कुनै सर्टकर्ट बाटो छैन ।
‘जसले सर्टकर्ट बाटो हिँड्न खोज्छ, उसको प्रोफेसनल लाइफ पनि सर्ट नै हुन्छ । अभिनय मानवीय अनुभवहरुलाई मूर्त रुप दिने कला हो’, बराल सुनाउँछन्, ‘एउटा कलाकारका लागि तीन महिना अपर्याप्त समय हो । यस्ता कोर्स गर्दा परिणामभन्दा प्रक्रिया र विकासमा ध्यान दिनु जरुरी छ । यस्ता कोर्सलाई अभिनय सिक्न हिँडेको पहिलो पाइला मान्नुपर्छ ।’
केदार पनि दुईतीन महिना भनेको प्रारम्भिक ज्ञानको लागिमात्रै रहेको बताउँछन् । मुख्य कुरा चाहिँ निरन्तरता रहेको उनको भनाइ छ । केदार भन्छन्, ‘रङ्गमञ्चमा कतिपय सवालमा अझै व्यवसायिकताको अभ्यास गर्नै बाँकी छ । एउटा समयमा पैसा नभए पनि मञ्च वा नाटक गर्न पाइराखोस् भन्ने हुन्छ । उमेर बढ्दै जाँदा सस्टेनाबिलिटीका कुराहरु स्वतः आउँछन् । मेरा लागि थिएटर आफैंमा थेरापीको साधन पनि हो । आफूलाई आफ्नो कामप्रति विश्वास बन्यो भनेमात्र सस्टेनाबिलिटीको पार्टमा पनि आफू खरो उभिनसक्छ । थिएटरमा रम्दै आफ्नो निराशालाई आशामा लग्न सकिन्छ ।’