बीपी कोइराला किन अरबको नभएर इजरायल पक्षधर भए ? यस्तो छ उनको तर्क – Nepal Press

बीपी कोइराला किन अरबको नभएर इजरायल पक्षधर भए ? यस्तो छ उनको तर्क

काठमाडौं । इजरायलले हमास, हुथी र हेजबुल्लालाई गाजा, यमन र लेबनानमा आक्रमण गरिरहेको छ । सिरियामा पनि हमला गरेको छ । इजरायललाई पनि इरानले किस्ताकिस्तामा मिसाइल हानेको छ । इजरायलले इरानी कमान्डर र इरानमा पुगेका हमास नेता इस्माइल हानिएको हत्या गरेको छ । त्यसका बाछिटा अहिलेसम्म छन् ।

कैयौं वर्षबाट चलेको इजरायल र प्यालेस्टाइन तनाव र इजरायल र अरबी देशहरुको शत्रुताका बारेमा विश्व जानकार छ । त्यही भएर विश्वका धेरै देशहरुले इजरायललाई मान्यता दिएका छैनन् । अमेरिकी अखबार न्यूजविकका अनुसार विश्वका २८ देशले इजरायलाई मान्यता दिएका छैनन् । १६ देशले इजरायली पासपोर्ट बोकेहरुहरुलाई आफ्नो देशमा प्रवेश निषेध गरेका छन् ।

दक्षिण एसियाका बंगलादेश, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सले यस्ता नीति लिएका छन् । माल्दिभ्सले इजरायललाई मान्यता नदिए पनि उसका नागरिकलाई प्रवेश दिँदै आएकोमा महोमद मैजू राष्ट्रपति भएर आएपछि प्रवेश निषेध गरिएको हो । खासगरी गाजामा अक्टोबर ७ पछि भएको हमास हमलापछिको इजरायली प्रत्याक्रमणका क्रममा मारिएका सर्वसाधारणको कारण देखाएर माल्दिभ्सले यस्तो गरेको बताइएको छ ।

नेपाल इजरायललाई मान्यता दिने दक्षिण एसियाको प्रथम देश हो । सन् १९६० जुन १ मा नेपालले इजरायललाई स्वतन्त्र देशको मान्यता दिएर कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । इजरायल नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने २४औं देश भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपालका प्रधानमन्त्री बीपी कोइराला थिए । उनी इजरायलका कट्टर समर्थक थिए र इजरायलले पनि उनलाई त्यसबापत राम्रो खातिरदारी गरेको थियो । इजरायलको औपचारिक भ्रमण गरेका थिए बीपीले । गत वर्ष इजरायली राजदूत हनानगोदेर गोल्डबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बीपी कोइरालाले सन् १९६० अगस्त १५ मा इजरायलमा दिएको मन्तव्यको ट्रान्सक्रिप्ट हस्तान्तरण गरेका थिए ।

किन बीपी इजरायल पक्षधर थिए ? यस्तो छ बीपीको तर्क

बीपी कोइराला जेलमा थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको टेकओभरपछि थुुनिएका बीपीले दैनिक डायरी लेख्ने गरेका थिए । उनले इजरायल र अरबको युद्धको समयमा पनि डायरी लेखेका छन् । सन् १९६२ बाट १९६८ सम्म बीपीले लेखेका डायरीहरुको ताजा पुस्तक जेल डायरी शिखा बुक्सले गत वर्ष प्रकाशन गरेको थियो । डायरीलाई भारतको जवाहरलाल नेहरु संग्रहालयबाट पदमबहादुर थापाले ल्याएका थिए । उनले बीपी पुत्र शशांक कोइरालाको सिफारिस र कांग्रेस नेता प्रदीप गिरीको हौसलाले डायरीको छायाँ प्रति ल्याएका थिए ।

बीपीको उक्त डायरीमा उनले २०२४ साल जेठ २३ र २४ को अर्थात् सन् १९६७ जुन ६ र ७ को डायरीमा लेखेका छन् । सन् १९६७ जुन ५ बाट १० सम्म भएको ६ दिने युद्धमा एकतर्फ इजरायल छ, अर्कोतर्फ इजिप्ट, जोर्डन, लेबनान, इराक, सिरियालगायत छन् ।

उक्त युद्धमा बीपी इजरायलको पक्षमा मुखर छन् । उनी जुन ६ को डायरीमा लेख्छन्, ‘अरब राष्ट्र र इजरायलबीच नियमित युद्ध सुरु भएको छ । मेरो सहानुभूति इजरायलसँग छ ।’

बीपीले थपेका छन्, ‘इजरायलीहरुप्रतिको मेरो सहानुभूति भावनात्मक पनि हो र तार्किक पनि । भावनात्मक किनभने यहुदीहरु प्रताडित जाति हुन्, जसको दुःखले पछिल्लो महायुद्धमा हामीले कल्पना गर्नसक्ने सीमा नाघेको छ, नाजी जर्मनी र पोल्याण्डमा । यो तार्किक किन हो भने राष्ट्रसंघको निर्णयका कारण स्वअस्तित्वमा आएको हुनाले इजरायलसँग पनि अस्तित्वमा रहनुको अधिकार छ, जुन अधिकारको अरबहरुले हनन गरिरहेका छन् ।’

युद्ध सुरु भएको दोस्रो दिनमा लेखेको डायरीमा इजरायली पक्षधरतामा मुखर बीपीले युद्ध सकिएको दुई दिनपछिको जुन १२ को डायरीमा पनि इजरायलको पक्षधरता देखाएका छन् । उनले लेखेका छन्, ‘इजरायल र अरब राष्ट्रबीचको पाँच दिने युद्ध इजरायलको जीतसँगै सकियो । अरबहरुले जितेको भए यहुदीहरुमाथि कुन हदको क्रूरता हुने थियो, त्यसको म कल्पना गर्न पनि सक्दिनँ । जितेका भए उनीहरुले भन्ने गरेकै जस्तो क्रूर दण्ड दिने थिए होलान् यहुदीहरुलाई ।’

जुन ६ को डायरीमा एकातर्फ इजरायलको पक्षमा खुलेका बीपीले अरबको विरोध पनि गरेका छन् । अरब जातिकै समस्या भन्ने अर्थमा उनले विरोध गरेका छन् । लेखेका छन्, ‘अरब स्वभावैले सन्की जात हो । र, यसका सदस्य छिट्टै उत्तेजनामा आउँछन् ।’

तर सोही डायरीमा एक स्थानमा अरबलाई पनि थोरै सहानुभूति देखाएर बीपीले लेखेका छन्, ‘यद्यपि म यो मान्छु कि अरबहरुसँग उनीहरुको आफ्नै मुद्दा नभएको होइन ।’ जुन १२ को डायरीमा अरबी मुद्दाबारेमा बीपी लेख्छन्, ‘अरबहरुसँग यहुदीप्रतिको आफ्नो क्रोधको पुष्टि गर्ने आफ्नै खाले तर्क थिए । भन्थे, उनीहरुको विरोधका बावजुद इजरायल बनाइनु र त्यसका कारण हजारौंहजार अरबहरुले आफ्नो घर छोडेर छिमेकी मुलुकहरुमा शरण लिन पुग्नु त्यसको कारण हो ।’

त्यही बेला इजरायल र अरब देशहरुको हार्दिक सम्बन्ध हुने ठोकुवा गर्दै बीपीले लेखेका थिए, ‘यसप्रकारको विकारयुक्त मनस्थिति रहेको बेला अरब र इजरायलीहरुबीच कुनै अर्थपूर्ण सम्झौता हुने सम्भावना न्यून छ । यद्यपि इजरायलको सानदार जीतले अरबहरुलाई केही न केही मात्रामा यथार्थको बोध गराएकै हुनुपर्ने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *