असल कलाकार बन्नका लागि अनुप बरालका १० टिप्स – Nepal Press

असल कलाकार बन्नका लागि अनुप बरालका १० टिप्स

काठमाडाैं । तीन दशक बढी समयदेखि रङ्गकर्ममा सक्रिय छन् अनुप बराल । रङ्गकर्मका अलावा फिल्मको निर्देशन र अभिनयमा पनि सक्रिय छन् । भारतको नेशनल स्कुल अफ ड्रामा (एनएसडी)मा अध्ययन गरेका बरालले नाटकहरुको निर्देशन पनि गरिरहेका छन् ।

उनले पछिल्लो समय निर्देशन गरेको नाटक ‘एउटा सपनाको अवसान’ हो । यो नाटक विश्व प्रसिद्ध नाटककार आर्थर मिलरको नाटक ‘डेथ अफ सेल्समेन’को नेपाली अनुवाद हो । त्यस्तै उनको निर्देशन रहेको पछिल्लो फिल्म हो, ‘दोख’ ।

अहिले गृहशहर पोखरामा हंसध्वनि थिएटरको निर्माणमा सक्रिय रहेका बराल अभिनयमा रुचि रहेकाहरुलाई प्रशिक्षण पनि दिन्छन् । बराल चलचित्रमा स्थापित भइसकेका कलाकारहरुलाई पनि अभिनयको प्रशिक्षण दिइरहेका हुन्छन् । उनै बरालले नेपालप्रेसलाई आफ्नो अनुभवका आधारमा असल कलाकार बन्न चाहनेहरुमा चाहिने १० विशेषता बताएका छन् । फिल्म तथा रङ्गगमञ्चमा ग्ल्यामर देखेर अभिनयको क्षेत्रमा हामफाल्न उत्सुक किशोरकिशोरीहरुलाई बरालका सुझावहरु:

एउटा डाक्टर, इञ्जिनिएर या पाइलट बन्न जसरी वर्षौंको अध्ययन, अभ्यास र समय लाग्छ । त्यसैगरी अभिनयमा महारत हासिल गर्न वर्षौंको अध्ययन, निरन्तरको अभ्यास र साधना चाहिन्छ । तीन महिनाको अभिनय कोर्स या अन्य लघु कार्यशालाले शिकारु कलाकारहरुलाई अभिनयबारे आधारभूत ज्ञानमात्र उपलब्ध गराउँछ, तर ऊ खतरा कलाकार बन्नसक्छ भन्ने कुनै ग्यारेन्टी गर्दैन ।

अभिनयमा महारत हासिल गर्न समय, समर्पण र स्व-अनुभव आवश्यक हुन्छ । किनभने अभिनय अनुभावात्मक हुन्छ । लिबरल आर्टमा सिकिने कुराहरु अनुभवबाट नै समृद्ध भएका हुन्छन् । अभिनय पनि यसै प्रकारले अनुभावात्मक हुन्छ ।

असफलताबाट सिक्न र फेरि आफ्नो कलामा निखार ल्याउन समय चाहिन्छ । यदि त्यति समय हामीसँग छैन र हामी सर्टकट बाटो हिँडेर रातरात स्टार बन्न चाहन्छौं भने हामी गलत प्रोफेसनमा छौं भनेर बुझे हुन्छ । किनभने अभिनयको यात्रामा कुनै सर्टकर्ट बाटो छैन । जसले सर्टकर्ट बाटो हिँड्न खोज्छ, उसको प्रोफेसनल लाइफ पनि सर्ट नै हुन्छ ।

राम्रा कलाकारहरु प्रायः मञ्चमा या क्यामेराको अगाडि वर्षौं काम गरेपछि मात्र बनेका हुन् । यसै पनि अभिनय मानवीय अनुभवलाई मूर्त रुप दिने कला हो । पछिल्लो समय थिएटरमा काम गरिरहेका कलाकारले जसरी फिल्ममा आफूलाई स्थापित गरिरहेका छन्, त्यो देखेर नवपुस्तालाई लोभ लाग्नु स्वाभाविक हो, तर सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीहरु रातारात लाइम लाइटमा आएका होइनन् । त्यसका लागि उनीहरुले आफ्ना जीवनको लामो समय आफ्नो प्रतिभा माझ्न खर्च गरेका छन् ।

संसारका महानतम अभिनेताहरु डेनियल डे लुइस, मेरिल स्ट्रिप, केट ब्लान्चेट या आल पचिनो थिएटरको पृष्ठभूमिबाट आएका हुन् । कलाकारको जीवनको संघर्ष, उनीहरुको असफलता र आफ्नो कामको शिल्पलाई माझ्न गरेको मेहनतलाई नबुझी उनीहरुको सफलतालाई हेरेरमात्र हामी असल कलाकार बन्न सक्दैनौं ।

अभिनय प्रशिक्षणको फाइदा फिल्म र स्टेजमा व्यवसायिक कलाकार बन्नुमा मात्र सीमित छैन । यसका अन्य धेरै फाइदा छन् । यस्ता प्रशिक्षणले व्यक्तिको निजी र व्यवसायिक जीवनको विभिन्न पक्षलाई लाभ पुर्‍याउँछ । यस्ता कोर्सले बच्चाहरुभित्र भएको संकोच हटाएर एउटा ठूलो मासअघि आफ्नो भावनालाई निर्धक्क व्यक्त गर्न आत्मविश्वास प्रदान गर्छ ।

अभिनय कक्षाको माध्यमबाट उनीहरुले साहित्य, इतिहास र विभिन्न सांस्कृतिक गाथासँग परिचित हुने मौका पाउँछन् । अभिनय कक्षाहरुले व्यक्तिमा आत्मविश्वास जगाउँछ । साथै मार्केटिङ, शिक्षा, कानून र जनसम्पर्कसहितका अरु कैयौं क्षेत्रमा सफलता प्राप्त गर्न अभिनयको कक्षाले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।

एउटा असल कलाकार बन्न अभिनयको शिल्प जानेरमात्र हुँदैन, व्यक्तिसँग प्रतिभा पनि हुनुपर्छ । त्यसपछि तकनिकी र व्यक्तिगत गुणहरुको समिश्रण हुन अति आवश्यक हुन्छ । मेरो आजसम्मको बुझाई र अनुभवको आधारमा भन्ने हो भने एउटा असल कलाकार भित्र १० वटा चारित्रिक विशेषता भेटेको छु ।

१) लगाव र समर्पण

एउटा असल कलाकारसँग उसको मनभित्र आफ्नो कलाप्रति गहिरो लगाव हुन्छ । यो लगावले उसको समर्पण भावलाई प्रेरित गर्छ । जसले कलाकारलाई आफ्नो सीप सुधार्न, चुनौतीको सामना गर्न र स्थिति कठिन हुँदा पनि प्रतिबद्ध रहन र आवश्यक पर्दा कडा मेहनत गर्न सक्षम बनाउँछ ।

२) भावनात्मक बुद्धिमता र समानुभूति

एउटा राम्रो कलाकार जहिले पनि आफूद्वारा निर्वाह गरिएको भूमिकासँग गहिराइपूर्वक जोडिएको हुन्छ । यसको लागि उक्त कलाकारसँग भावनात्मक बुद्धिमता आवश्यक हुन्छ । यसको मतलब कलाकारभित्र आफ्नो भावना सँगसँगै अरुको भावनालाई बुझ्ने र त्यसलाई व्यवस्थित गर्ने क्षमता हुनुपर्छ । समानुभूतिले एउटा कलाकारलाई विभिन्न पात्रहरुको भूमिका खेल्न र त्यसलाई प्रामाणिकताका साथ चित्रित गर्ने अनुमति दिन्छ ।

३) लचिलोपन र दृढता

एउटा कलाकारको यात्रा अक्सर अस्वीकृतिहरु, असफलताहरु र कठिन क्षणहरुले भरिएको हुन्छ । असफलताको अवसादबाट बाहिर निस्कन लचिलोपन हुनु महत्वपूर्ण कुरा हो । दृढ भएर अगाडि बढिररहन र दीर्घकालीन विकासमा ध्यान केन्द्रित गर्नसक्ने क्षमता एउटा असल कलाकारको पहिचान हो ।

४) आत्म-जागरुकता

असल कलाकार आत्म-जागरुक हुन्छन् । उनीहरु आफ्नो शक्ति र कमजोरीलाई बुझ्छन् । लगातार आत्मसुधारमा काम गर्छन् । यो आत्म-जागरुकताले आफ्नो कलालाई परिष्कृत गर्न होस् या मानसिक स्वास्थ्यको चुनौतीलाई समाधान गर्न मद्दत गरिरहेको हुन्छ ।

५) अनुकूलनशीलता र खुला विचार भएको हुनु

जहिल्यै नयाँ विचार, भूमिका र कौशलको खोज गर्ने इच्छा आवश्यक हुन्छ । अनुकूलनीय र खुला विचार भएको व्यक्ति हुनाले कलाकारलाई विभिन्न शैली, किसिम र रचनात्मक प्रक्रियाहरुलाई नेभिगेट गर्नमा मद्दत पुर्‍याउँछ, जसले गर्दा उक्त अभिनेताको काममा ताजापन र बहुआयाम भेट्न सकिन्छ ।

६) अनुशासन र फोकस

प्रतिभा छ भनेरमात्र हुँदैन । महान कलाकारहरुले जहिलेसुकै आफ्नो कलामाथि अभ्यास गर्ने, रिहर्सल गर्ने, टाइम निकाल्ने र लगातार आफ्नो काममा सुधार ल्याउने अनुशासन बसालेका हुन्छन् । फोकसले चाहिँ कलाकारलाई सुस्त प्रगति हुँदा पनि आफ्नो काममा प्रतिबद्ध रहन अनुमति दिन्छ ।

७) मानसिक स्वास्थ्य

एउटा कलकारको करियरमा मानसिक स्वास्थ्यले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अभिनय कहिलेकाहीँ भावनात्मक रुपबाट कठिन भइदिन सक्छ । यसैले स्व-हेरचाह, चिकित्सा या माइन्डफुलनेसका प्रथाहरुको माध्यमबाट राम्रो मानसिक स्वास्थ्य बनाइराख्नु महत्वपूर्ण कुरा हो । तनाव, अस्वीकृति र व्यक्तिगत जीवनमा सन्तुलनको व्यवस्थापन गर्न सिक्नुले एउटा स्वस्थ व्यक्तित्व र करियरलाई पूर्ण बनाएर राख्न मद्दत गर्छ ।

८) विनम्रता र सिकिरहने इच्छा

सफल कलाकारहरु आफ्नो कलाको सदैव विद्यार्थी बनिरहन चाहन्छन् । यिनीहरु प्रत्येक प्रतिक्रिया, आलोचनालाई विनम्रतापूर्वक स्वीकार गर्छन् । अरुबाट सिक्छन् र लगातार आफ्नो शिल्पलाई विकास गरिरहेका हुन्छन् । यस किसिमको मानसिकताले उनीहरुलाई कलात्मक र व्यक्तिगत रुपमा विकसित गरिरहन्छ ।

९) सहयोग र टीम वर्क

एउटा असल कलाकारलाई थाहा हुन्छ कि निर्देशक, साथी कलाकारहरु र प्रोडक्सन टीमसँग कसरी राम्रो काम गर्ने हो । रचनात्मक दृष्टिकोणलाई जीवनमा उपयोग गर्न प्रभावकारी सञ्चार र सहयोगात्मक सोच आवश्यक हुन्छ ।

१०) नियन्त्रित महत्वाकांक्षा

उच्च महत्वाकांक्षाले एउटा कलाकारलाई प्रेरित गर्नसक्छ, तर यसलाई धैर्यका साथ यथार्थमुखी बनाउनुपर्छ । नियन्त्रित र सन्तुलित गर्नुपर्छ । महत्वाकांक्षाले विकासतिर प्रेरित गर्नुपर्छ । जब हामीले त्यसलाई अनियन्त्रित बनाउँछौं भने त्यो डाहा, ईर्ष्या या असन्तोषको कारण बन्नसक्छ । असल अभिनेताहरुले आफूले प्राप्त गर्न योग्य लक्ष्य निर्धारित गर्न र यात्राको आनन्द लिन सिकेका हुन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *